• ८ वैशाख २०८१, शनिबार

निर्णय सही समयमा

blog

कक्षा १२ का विद्यार्थी रोमेन्द्र केसी । उनी व्यवस्थापनका विद्यार्थी । एकलपथीय शिक्षा पद्धतिका कारण व्यवस्थापन विषयका भन्न मिल्दैन तर चलनचल्तीमा यही अभ्यास छ । उनी विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना भएका थिए । एसईईमा खासै उत्कृष्ट ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गरेका थिएनन् । तर रहरले विज्ञानतर्फ आकर्षित ग-यो । भर्ना भए । पढ्न थाले । बल्ल उनले आफ्नो क्षमता बुझे । तत्काल विषय परिवर्तन गर्ने निर्णय गरे । उनले भने, “घरपरिवारबाट पनि दबाब थियो । स्कुलका सहपाठी पनि विज्ञानमा भर्ना भएका थिए । त्यसैले मैले पनि विज्ञान छनोट गरेँ । पढ्न थालेपछि मेरो क्षमताले भ्याउँदैन भन्ने लाग्यो र हत्तपत्त विषय परिवर्तन गरेँ ।”

२०७८ सालको एसईईको नतिजा सार्वजनिक भएपछि विद्यार्थीमा कुन विषय छनोट गर्ने ? के पढ्ने ? कहाँ पढ्ने ? कसरी पढ्ने ? आदि कुरालाई लिएर चासो बढेको छ । अभिभावकले पनि उत्तिकै चासो राखेका छन् । धेरै विद्यार्थीले परीक्षा सकिनेबित्तिकै लक्ष्य निर्धारण गरिसकेका हुन्छन् । केही विद्यार्थी नतिजाको पर्खाइमा हुन्छन् । उनीहरूले नतिजा कस्तो आउला र सोअनुसार विषय छनोट गर्नुपर्ला भन्ने सोच बनाएका हुन्छन् ।

भर्ना खुला भएसँगै विद्यार्थीलाई धेरै कुराले प्रभाव पार्छ । विषय र शिक्षण संस्थाको रोजाइ सबैभन्दा महत्त्वपूर्ण   रहन्छ । साथीहरूको लहलहैमा लाग्दा गलत रोजाइ पनि हुनपुग्छ । रोजाइ सही भएमा त समस्या भएन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का केन्द्रीय अध्यक्ष तथा गोल्डेनगेट इन्टरनेसनल कलेजका अध्यक्ष रमेश सिलवालले भन्नुभयो, “सही विषय छनोट गर्न नसक्दा कक्षा सुरु भएको एकदेखि तीन महिनाभित्र झण्डै १० प्रतिशशत विद्यार्थीले विषय परिवर्तन गर्छन् । गणितमा कमजोर छु भन्ने थाहा पाउँदा पाउँदै विज्ञान पढ्छन् । नसक्ने भएपछि विषय परिवर्तन गर्छन् । समयमा परिवर्तन गर्ने निर्णय गरे ठीक छ, तर ढिलो भयो भने समस्या हुन्छ । त्यसैले समयमा नै सही निर्णय गर्न सक्नुपर्छ ।” 

खाँचो आत्मविश्वासको 

कक्षा १० र कक्षा ११–१२ को पाठ्यक्रम आकाश जमिन फरक छ । कक्षा १० बाट उक्लिँदा निकै कठिन यात्रा सुरु गर्नुपर्ने हुन्छ । फलामको च्युरा चपाएसरह । विशिष्ट पाठ्यक्रम राखिएको छ । एसईईमा विज्ञानमा एप्लस ल्याएकाहरूले कक्षा ११ मा निराशाजनक नतिजा हासिल गरेका उदाहरण पनि छन् । मिहिनेत गर्नेले एसईईमा अब्बल नतिजा नल्याए पनि कक्षा ११–१२ मा अब्बल नतिजा हासिल गरेको पनि उत्तिकै उदाहरण छन् । एसईईको तीनघण्टे परीक्षाले विद्यार्थीको १० वर्षे पढाइको मापन गर्छ भन्नु गलत पनि हुनसक्छ । 

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले विद्यार्थीको रुचि र क्षमताका आधारमा कक्षा ११ को विषय छनोटको आधार हुनुपर्छ भन्नुभयो । “रुचि नहुनेलाई जबरजस्ती यो विषय पढ्नुपर्छ भनेर कर गर्नुहुँदैन” उहाँले थप्नुभयो, “विद्यार्थीमा आत्मविश्वास चाहिन्छ । सबै वातावरण मिलेमा कुनै पनि विषय अध्ययन गर्दा विद्यार्थी असफल हुँदैन । सबै विषय उत्तिकै महत्त्वपूर्ण   छन् ।”

अभिभावकले त आफ्ना छोराछोरीलाई डाक्टर वा इन्जिनियर नै बनाउन खोज्छन् तर विद्यार्थीको भविष्य गडबड भयो भने त्यसको जिम्मा कसले लिने ? आखिर पढ्नुपर्ने त विद्यार्थीले हो । बाबुआमाले ल राम्ररी पढ भनेर सदाशयता राख्ने मात्र हुन् । 

अघिल्लो पुस्तासम्म साविकको एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरूले विज्ञान विषय नै पढ्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो । तर त्यो मान्यता अहिले क्रमशः भत्किन थालेको छ । इच्छा राख्ने विद्यार्थीले एसईईमा उत्साहजनक नतिजा नल्याए पनि कक्षा ११ मा कठिन विषय छनोट गर्ने र त्यसलाई सहजै पार लगाएका प्रशस्तै देखिन्छन् । उत्कृष्ट जीपीए प्राप्त गर्नेले इन्जिनियरिङ वा एमबीबीएस अध्ययन गर्नुपर्छ भन्ने हुँदै होइन । त्यो त पुरानो मान्यता हो । ती विषय कसले अध्ययन गर्ने भन्ने कुरा कक्षा १२ को नतिजाले मात्र निर्धारण गर्ने भएकाले आँट गर्नसक्नेले कक्षा ११ मा विज्ञान विषय छनोट गर्न सकिन्छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थीमाथि कुनै पनि किसिमको दबाब हुन नहुने बताउनुभयो । उहाँले चाहना राख्दैमा सबै डाक्टर र इन्जिनियर बन्न नसक्ने बताउँदै भन्नुभयो, “अभिभावकले त आफ्ना छोराछोरीलाई डाक्टर वा इन्जिनियर नै बनाउन खोज्छन् तर विद्यार्थीको भविष्य गडबड भयो भने त्यसको जिम्मा कसले लिने ? आखिर पढ्नुपर्ने त विद्यार्थीले हो । बाबुआमाले ल राम्ररी पढ भनेर सदाशयता राख्ने मात्र हुन् । त्यसैले विद्यार्थीहरू कसैको करकापमा फस्नुहुँदैन । क्षमता र रुचिले विषय छनोट गर्नुपर्छ ।”

छनोट धेरै

नेपालमा विभिन्न पाँचथरीको शिक्षा प्रणाली छ । दुईवटा स्वदेशी र तीनवटा विदेशी बोर्डका शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका शैक्षिक कार्यक्रम छनोट गर्ने वा एलेभल, सीबीएसई र आईभीअन्तर्गतका पाठ्यक्रम छनोट गर्नुपर्छ । विदेशी बोर्डका कार्यक्रम तुलनात्मक रूपमा खर्चिलो छ । 

हिसानका अध्यक्ष सिलवालले सुरुमा विद्यार्थीले कुन शिक्षा प्रणालीप्रति आफ्नो आकर्षण छ भन्ने यकिन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भविष्यमा के बन्ने भन्ने लक्ष्य निर्धारण गरी स्वमूल्याङ्कनका आधारमा शिक्षा प्रणाली र विषय छनोट गर्नुपर्ने सल्लाह दिनुभयो । “स्कुलको पूर्वाधार, पठनपाठन, शिक्षक, पुस्तकालय, क्यान्टिन, खेलमैदान, विगतको नतिजा, स्कुलको योजनालगायतलाई पनि ध्यानमा राखेर स्कुल छनोट गर्नुपर्छ” उहाँले भन्नुभयो, “विद्यार्थीले कति लेख्न सके भन्ने मात्र नभई किन लेख्न सकेनन् भन्ने बुझ्न सक्ने स्कुलमा भर्ना हुनुपर्छ ।”

कक्षा ११–१२ मा छनोट गरेका विषयकै आधारमा स्नातक तहको अध्ययनको निर्धारण हुन्छ । चिकित्सक वा इन्जिनियर हुन चाहनेले विज्ञान नै छनोट गर्नुपर्छ । शिक्षक हुन चाहनेले शिक्षा विषय, कानुनका क्षेत्रमा काम गर्न चाहनेले कानुन विषय, वाणिज्य क्षेत्रमा काम गर्न चाहनेले व्यवस्थापन विषय लिन सक्छन् । कम्प्युटरमा विशेषज्ञता हासिल गर्न चाहनेले कम्प्युटर विषय, पर्यटन क्षेत्रमा काम गर्न चाहनेले होटेल व्यवस्थापन विषय लिनसकिन्छ ।

सबैभन्दा कम खर्च शिक्षा, मानविकी, कानुन अध्ययन गर्नेले तिर्नुपर्छ । विशेषगरी विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो हुन्छ । विज्ञानपछि व्यवस्थापन अध्ययन गर्न खर्च लाग्छ । हिसानका अध्यक्ष सिलवालले विद्यार्थीको आर्थिक क्षमताका आधारमा स्कुल छनोट गर्नु उपयुक्त हुने सल्लाह दिनुभयो । माध्यमिक तहमा छात्रवृत्तिको व्यवस्था पनि छ । सम्बन्धित पालिकाले विद्यालयलाई छात्रवृत्तिका लागि सिफारिस गर्ने अभ्यास छ । त्यसबाहेक विद्यालय आफैँले पनि छात्रवृत्ति उपलब्ध गराउन सक्छ । आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीले निजी शिक्षण संस्थामा पनि छात्रवृत्ति प्राप्त गरी पठनपाठनलाई अगाडि बढाउनसक्ने अवसर प्रशस्त छ । विद्यालयले लिएको शुल्कका आधारमा सेवा सुविधा उपलब्ध गराएको हुनुपर्छ । 


राष्ट्रिय पाठ्यक्रम प्रारूपले विषय वा सङ्कायको अवधारणालाई भत्काएको छ । विभिन्न समूहमा विभिन्न विषय समावेश गरिएको छ । तीमध्येबाट एउटा एउटा विषय छनोट गर्नुपर्छ । कक्षा ११ मा छनोट गरिने विषय (साधारणतर्फको ऐच्छिक विषय हरेक समूहबाट एउटा) :


अनिवार्य विषय– नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित


ऐच्छिक विषय पहिलो समूह– भौतिक विज्ञान, लेखाविधि, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, चित्रकला, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैङ्गिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानवमूल्य शिक्षा ।


ऐच्छिक विषय दोस्रो समूह– जीवविज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषाविज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसङ्ख्या अध्ययन, वागवानी, खाद्य र पोषण, नृत्य, कला इतिहास ।


ऐच्छिक विषय तेस्रो समूह– रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन डिजाइनिङ, सिनेमा तथा डकुमेन्ट्री, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली ऐच्छिक, अङ्ग्रेजी ऐच्छिक ।


ऐच्छिक विषय चौथो समूह– गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानव अधिकार, पुस्कालय तथा सूचना विज्ञान, गृहविज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, मूर्तिकला, गायन, कम्प्युटर विज्ञान, रेशम खेती र मौरीपालन, सौन्दर्य कला र केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वाइरिङ, आन्तरिक सजावट, होटल व्यवस्थापन, आमसञ्चार, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा ।