• ६ मंसिर २०८१, बिहिबार

सर्वोत्कृष्टलाई प्रमाणपत्र थमाइँदै

blog

काठमाडौँ, भदौ २ गते । राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ । 

मन्त्रालयका प्रवक्ता केशव दाहालले स्रोत उपलब्ध हुन नसक्दा गत वर्ष घोषित विद्यार्थीलाई पदक उपलब्ध गराउन नसकिएको बताउँदै भन्नुभयो, “निर्देशिका परिमार्जन गर्दै छौँ । सक्दा पदक दिने र नसक्दा प्रमाणपत्र दिइने छ । त्यसैले निर्देशिकामा पदक वा प्रमाणपत्र भनी उल्लेख गर्दै छौँ ।”

निर्देशिकामा पदक दिने व्यवस्था छ तर स्रोत अभावले पदक तयार गर्न सम्भव नभएपछि निर्देशिकामा ‘वा प्रमाणपत्र’ वाक्य थप्न लागिएको हो । उहाँले निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको र कानुन मन्त्रालयमा पुगेको बताउँदै थप्नुभयो, “कानुन मन्त्रालयबाट आइसकेपछि मन्त्रीपरिषद्मा पठाइने छ । त्यहाँबाट स्वीकृत भएपछि ती विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइने छ ।”

गत वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो । यस वर्षको शिक्षा दिवसमा नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषण वितरण गर्न शिक्षा मन्त्रालयले शनिबार सूचना सार्वजनिक गर्दै आवेदनका लागि आह्वान गरेको छ । यस वर्षका लागि आवेदन दिनेले पनि प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने छ ।

पदक तयार गर्न गत आर्थिक वर्ष २०८०/८१ मा ६० लाख रुपियाँ विनियोजन गरिएको थियो तर पदक तयार गर्न चार करोड रुपियाँ लाग्ने भएपछि मन्त्रालय पछाडि स¥यो । चालु आव २०८१/८२ मा पनि ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । 

पुरस्कृतका लागि नाम घोषणा भएकाले गत वर्ष निरन्तर मन्त्रालयमा सम्पर्क गरी कहिले पाइन्छ भन्दै जिज्ञासा राख्ने गरेका थिए । मन्त्रालयका सम्बन्धित पदाधिकारीले कहिले फागुन ७ गते, कहिले वैशाख १ गते भन्दै टार्दै आएका थिए । अब त ती विद्यार्थीले सोध्न वा चासो राख्न पनि छाडिसकेका छन् । गत वर्ष पदकका नयाँ डिजाइन कायम गरिएको थियो । त्यसको एकातर्फ नेपालको चुच्चो नक्सा राखिएको छ । 

तत्कालीन राजा महेन्द्रले ‘महेन्द्र विद्याभूषण’ प्रदान गर्न सुरुवात गर्नुभएको थियो । त्योबेला हरेक फागुन ७ गते विद्याभूषण प्रदान गरिन्थ्यो । २०३२ देखि हरेक वर्षको फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो र विद्याभूषण पनि सोही दिन वितरण गर्न थालियो । २०६३ सालदेखि फागुन १२ गते शिक्षा दिवस मनाउन छाडियो र अन्तर्राष्ट्रिय साक्षरता दिवस (भदौ २३ गते) का दिन राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो । अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु उपयुक्त नहुने भन्दै २०७६ देखि २०७९ सालसम्म यो दिवस मनाइएन । नयाँ मिति चयन गर्ने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको मिति असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरियो ।  

विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’, स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ । 

मन्त्रालयका अनुसार गत वर्ष नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा गरिएको थियो ।  गत वर्ष ललितपुरको लगनखेलस्थित घरेलु तथा साना उद्योग कार्यालयले पदक तयार पार्न प्रतिपदक १५ देखि २२ हजार रुपियाँ खर्च हुने अनुमानित लागत दिएको थियो । 

नेपाल विद्याभूषण ‘क’ मा ४२ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ख’ मा ३१ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ग’ मा २२ ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘क’ मा ३० ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘ख’ मा ३० ग्राम शुद्ध चाँदी र नेपाल प्रविधि विद्याभूषणमा ३१ ग्राम शुद्ध चाँदी प्रयोग हुन्छ भने सबै पदकमा एक ग्राम सुन लेपन गरिन्छ । मन्त्रालयका अनुसार विगतमा नेपाल विद्याभूषण ‘क’ तीन हजार ६६४ जनाले, नेपाल विद्याभूषण ‘ख’ एक हजार ९६० जनाले, नेपाल विद्याभूषण ‘ग’ एक हजार २१९ जनाले, नेपाल छात्रा विद्यापदक ‘क’ ५१७ जनाले र नेपाल छात्रा विद्यापदक ‘ख’ ३३५ जनाले पाइसकेका छन् ।