• ३२ जेठ २०८१, शुक्रबार

सन्दर्भ: अन्तर्राष्ट्रिय खेल दिवस

खेलकुदमा बालबालिकाको सक्रियता कम

blog

ललितपुर, जेठ २९ गते । हिन्दीमा पुरानो भनाइ छ– पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब । अर्थात् पढ्यौ लेख्यौ भने राजा बन्छौँ, खेल्यौ कुद्यौ भने खराब बन्छौ । यो भनाइ अब गलत साबित भइसकेको छ । विभिन्न अध्ययनले बालबालिकाका लागि दैनिक खेलकुद अनिवार्य रहेको देखाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले बालबालिकालाई प्रतिदिन कम्तीमा १५ देखि ३० मिनेटसम्म खेलकुदमा सक्रिय राख्नुपर्ने सिफारिस गरेको छ । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का प्रारम्भिक बाल विकास विशेषज्ञ डा. दिपु शाक्यले भन्नुभयो, “बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक र संवेगात्मक विकासका लागि खेलकुदमा सक्रिय बनाउनै पर्छ । अध्ययनले नै यस्तो देखाएको छ ।”

राष्ट्रसङ्घले पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाउने निर्णय गरेको छ । राष्ट्रसङ्घको आह्वानमा हरेक जुन ११ लाई यो दिवस मनाउने निर्णय भएको हो । यस पटक मङ्गलबार विश्वभरि यो दिवस मनाइँदै छ । यस वर्षका लागि ‘खेलमय अभिभावकत्वको बाचा’ नारा दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)को सन् २०२२ को सर्वेक्षणले देशका १९ प्रतिशत सामुदायिक विद्यालयमा र छ प्रतिशत निजी विद्यालयमा मात्र खेलमैदान रहेको देखाएको छ । अधिकांश विद्यालयमा खेल मैदान नहुँदा विद्यार्थीहरू कक्षाकोठाभित्र कुँजिनुपर्ने अवस्था छ । 

नवजात शिशुलाई आहारा खुवाउँदा वा रोएका बखत फकाउँदा अभिभावकले मोबाइल फोनमा सामग्री देखाउने गरेका छन् । सानैदेखि बालबालिकालाई मोबाइल फोनको लतका कारण खेल्नका लागि घर बाहिर जान त्यति रुचि नगर्ने गरेको अध्ययनहरूले देखाएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफले सन् २०१९ मा गरेको अध्ययनले दुईदेखि पाँच वर्ष उमेरका बालबालिकामध्ये १७.६ प्रतिशतले बाबुसँग, ४२.१ प्रतिशतले आमासँग र ७३.४ प्रतिशतले घरका अन्यसँग खेल्ने गरेको देखाएको थियो । हरेक पाँच जना बालबालिकामध्ये एक जनासँग घरबाहिर खेल्ने स्थानको पहुँच छैन । तीन प्रतिशतसँग पुस्तकको पहुँच छैन । 

“पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि चाहिने पुस्तक नै बजारमा पाइँदैन” विशेषज्ञ डा. शाक्यले भन्नुभयो, “खेलमैदान पनि छैन, पुस्तक पनि छैन । खेलौना छ तर ती स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैनन् । त्यसैले निराशाको अवस्था छ ।” एक अध्ययनले पाँच वर्ष मुनिका ६६ प्रतिशत बालबालिकाले खेलौनाबाट मनोरञ्जन गर्ने गरेको देखाएको छ । अध्ययनले बजारमा पाइने खेलौनाको ५४ प्रतिशतमा घातक रसायन प्रयोग हुने गरेको पनि देखाएको छ ।

विद्यालयले खेलमैदानको अभावमा खेलाएर सिकाएका पनि छैनन् । घर वा विद्यालयमा पर्याप्त खेल्न पाएका पनि छैनन् । मोबाइल फोन थमाइदिने गरिएको छ तर यो उचित होइन भन्ने तर्क युनिसेफका विज्ञहरूको छ । बालबालिकासम्बन्धी महासन्धिमा बालबालिकाको खेलकुदसम्बन्धी अधिकारलाई सुनिश्चित गरिएको छ ।

“विद्यार्थीलाई घोकाएर भन्दा खेलाएर पढाएको बढी सिक्छन्” उहाँले भन्नुभयो, “बाहिरी खेलकुदका गतिविधि कम हुँदै गएको छ । यसलाई राम्रो मान्न सकिन्न । त्यसैले अभिभावकले खेलबाट रमाइलो मात्र होइन सिकाइ पनि अभिवृद्धि हुन्छ भन्ने बुझ्नु पर्छ ।”

यसै सन्दर्भमा युनिसेफले जारी गरेको विज्ञप्तिमा खेलमय अन्तरक्रियाले बालबालिकाको मात्र नभई अभिभावक र हेरचाहकर्ताको समेत निरोगिता र सकारात्मक मानसिक स्वास्थ्यमा योगदान पुर्याउने उल्लेख गरिएको छ । “आफ्ना आमाबाबुसँग नियमित रूपमा खेल्ने बालबालिकामा चिन्ता, अवसाद, आक्रामकता र अनिद्राको समस्या हुने सम्भावना कम हुन्छ । पालनपोषण र खेलमय अभिभावकत्वले आनन्द र खुसी ल्याउँछ । अनि बालबालिकालाई सुरक्षित महसुस गर्न, सिक्न, सिप विकास गर्न र आफ्नो वरिपरिको संसार चिन्न मद्दत पुर्याउँछ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।