• ४ साउन २०८१, शुक्रबार

अनिश्चिततातर्फ विश्व अर्थतन्त्र

blog

काठमाडौँ, साउन १३ गते ।  सन् २०२२ को सुरुका महिनामा केही सुधारको सङ्केत देखिए पनि त्यसपछिका महिनामा भने विश्व अर्थतन्त्रमा जोखिम देखिन थालेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मङ्गलबार सार्वजनिक गरेको संशोधित ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको उल्लेख गरेको हो । 

खासगरी चीन र रुसमा आएको मन्दीबाट उत्पादनमा सङ्कुचन आएको र विश्वका ठूला अर्थतन्त्रले उच्च मुद्रास्फीति सामना गरिरहनुपरेकाले पनि विश्व अर्थतन्त्रमा समस्या देखिन थालेको आईएमएफको प्रतिवेदनमा उल्लेख छ । रुस र युक्रेनबीचको युद्धका नकारात्मक असरबाट पनि विश्व अर्थतन्त्र प्रभावित बनेको जनाइएको छ । 

कोभिड महामारीबाट ठूलो क्षति बेहोरेर तङ्ग्रिने प्रयत्नमा रहेको विश्व अर्थतन्त्रका लागि पछिल्लो परिवेश सहज नरहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

आईएमएफले प्रतिवेदनमा विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ को ६.१ प्रतिशतबाट घटेर ३.२ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ, जुन यसअघि अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा ०.४ प्रतिशत बिन्दु कम हो । 

यस वर्षको सुरुवातमै न्यून वृद्धि, घट्दो क्रयशक्ति र कसिलो मौद्रिक नीतिका कारण संयुक्त राज्य अमेरिकाको वृद्धिदर नै १.४ प्रतिशत बिन्दु तल झरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी र घरजग्गा कारोबारमा छाएको मन्दीले गर्दा चीनले पनि आफ्नो वृद्धिदरलाई १.१ प्रतिशतले संशोधन गरेको छ । 

खाद्य र ऊर्जाको मूल्यका साथै आपूर्ति र माग असन्तुलनले गर्दा आईएमएफले विश्वव्यापी मुद्रास्फीति परिमार्जन गरेर उन्नत अर्थतन्त्रमा ६.६ प्रतिशत र उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूमा ९.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसबीचमा विश्वव्यापी उत्पादन केवल २.९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

विश्वव्यापी रूपमा देखिएको वित्तीय सङ्कटले उदीयमान अर्थतन्त्रमा ऋण सङ्कट सिर्जना हुने पनि प्रतिवेदनले जनाएको छ । समग्रमा प्रतिवेदनमा सन् २०२२ र २०२३ मा विश्वको वृद्धिदर क्रमशः २.६ प्रतिशत र २.० प्रतिशतमा घटेर जाने जोखिम बढ्ने देखाएको छ । 

प्रतिवेदनले अर्थतन्त्रमा देखिन थालेका अप्ठ्यारालाई कम गर्दै लैजान मुद्रास्फीतिलाई नियन्त्रण गर्दै लैजानुपर्ने सुझाव दिएको छ । त्यस्तै सरकारले आफ्नो खर्च पनि नियन्त्रण गर्नुपर्ने सुझाव उल्लेख छ । त्यस्तै ऋण संरचनामा सुधार, वित्तीय स्थायित्वमा जोड दिन आवश्यक उपकरणको उपयोग गर्नुपर्ने सुझाव आईएमएफको छ ।