• ४ साउन २०८१, शुक्रबार

एघार पुल निर्माण

blog

कञ्चनपुर सामाचारदाता

महेन्द्रनगर, साउन १३ गते ।  कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा ११ वटा पुल निर्माण सम्पन्न गरिएको छ । करिब एक अर्बको लागतमा महत्त्वपूर्ण पुलहरू निर्माण गरिएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० र पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३, नेपालगञ्ज (हाल पुल सेक्टर, दाङ) कार्यालयले एक पुल गरेर ११ पुल निर्माण गरिएको हो । यससँगै सडक डिभिजन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० मा पाँचवटा पुल निर्माण गर्ने लक्ष्य रहेको इन्जिनियर पियूस चटौतले बताउनुभयो । 

उहाँका अनुसार कञ्चनपुरमा महत्त्वपूर्ण पुलहरू निर्माण भइसकेका छन् । सडक कार्यालयले १० करोडको लागतमा बलमा खोला पुल, २० करोडमा जोगबुढा नदी पुल, १४ करोडमा सुनबरा नदी पुल, छ करोडमा भट्टी खोला पुल, छ करोडमा खर्साह खोला पुल, छ करोडमा घरकटुवा नदी पुल, पाँच करोडमा मलेरिया नाला पुल, सात करोडमा सुतिया नदी पुल, ११ करोडमा चौधर नदी पुल र छ करोडमा गन्दानाला पुल निर्माण गरेको हो । 

आर्थिक वर्ष २०७९/८० मा निर्माण हुने पुलको पनि ठेक्का सम्झौता भएर काम सुरु भइसकेको जनाइएको छ । यस आर्थिक वर्षमा निर्माण हुने पुलहरूमा काठा नदी पुल, मोहना नदी पुल, भुजेला खोला पुल, कामीकाटे खोला पुल र मलेरिया खोला पुल रहेका छन् । यस्तै पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३ ले दोदा नदी पुल निर्माण गरेको हो । ३९ करोड ५८ लाख लागतमा ३०१ मिटर लामो पुल निर्माण गरिएको योजना प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । दोदा नदीले लालझाडी गाउँपलिकालाई चारैतिरबाट घेरेको छ । पुल सेक्टर कार्यालयले पश्चिमतिरबाटको पुल निर्माण गरेको हो । यसअघि सडक डिभिजन कार्यालयले २०६६ सालमा ठेक्का गरेको वाणीबाट जाने बाटोमा पूर्वतिरको पुल अझै हुन सकेको छैन । राजेन्द्र निर्माण सेवाले २५ करोडमा ठेक्का सदर गरेर काम सुरु गरे पनि १२ करोड पेस्की लिएर ठेकेदार कम्पनीले काम गरेको छैन । 

पुलले जोड्यो दुर्गम गाउँ 

कञ्चनपुरमा यस वर्ष दुई र अघिल्लो वर्षमा एक गरेर तीनवटा महत्त्वपूर्ण पुल निर्माण भएसँगै दुर्गम गाउँवासीलाई सदरमुकाम महेन्द्रनगरसँग जोडेको छ । पुल निर्माणसँगै वर्षायाममा पनि सहजै हिँडडुल गर्न पाउने भएका छन् । पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३, नेपालगञ्ज (हाल पुल सेक्टर, दाङ) कार्यालयले यस वर्ष निर्माण गरेकोे लालझाडी गाउँपालिकामा रहेको दोधा नदी पुलले पूरै लालझाडीवासीलाई सदरमुकामसँग जोडेको हो । पुल निर्माणसँगै स्थानीयवासी खुसी भएका गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणबाट गाउँवासीलाई राहत भएको छ, पूर्वपट्टिको पुल पनि बनेमा गाउँपालिका सुगम हुने थियो ।”

यसै वर्ष निर्माण भएको दोधारा चाँदनी नगरपालिका–७ पञ्चभोजमा रहेको जोगबुढा नदीमा निर्माण भएको पुलले नदीपारिका कुतियाकबर लगायतका गाउँलाई सदरमुकामसँग जोडेको हो । यस्तै गत वर्ष बेलडाँडी गाउँपालिका जोड्ने स्याली नदीमा पुल निमार्ण भएसँगै कञ्चनपुरको दक्षिण बेल्टमा रहेका बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकावासीलाई राहत मिलेको छ ।