छिन्चु समाचारदाता
सुर्खेत, कात्तिक २१ गते । कर्णाली प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको सूचना व्यवस्थापन प्रणाली (पिआइएस पोर्टल) को पूर्ण अधिकार बुधबारदेखि औपचारिक रूपमा कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीको सूचनालाई एकीकृत र व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सञ्चालनमा ल्याइएको यो प्रणाली अब कर्णाली प्रदेश सरकारले आफ्नै स्तरबाट सञ्चालन गर्न सक्ने भएको हो ।
बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा राष्ट्रिय किताबखानाका प्रतिनिधि र कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मीकुमार विकबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर तथा आदानप्रदान गर्दै प्रणाली हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरिएको हो । यससँगै अब कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमा कार्यरत करिब पाँच हजारभन्दा बढी कर्मचारीका पद, सरुवा, बढुवा, तलब भत्ता, सङ्गठन दर्ता तथा अन्य प्रशासनिक विवरणको व्यवस्थापन कार्य प्रदेश सरकारले स्वयं गर्न सक्ने भएको छ । यो नयाँ व्यवस्थाले कर्मचारी सूचना व्यवस्थापनका दृष्टिले प्रशासनिक सङ्घीयताको कार्यान्वयनमा ऐतिहासिक कदम चालेको छ । प्रदेश सरकारले यो प्रणाली प्रयोगमा आएपछि स्थानीय तहबिचको समन्वय सुदृढ हुने, कर्मचारी व्यवस्थापनमा पारदर्शिता बढ्ने र सेवा प्रवाह अझ सहज हुने विश्वास व्यक्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि गण्डकी प्रदेशबाट यो प्रक्रिया सुरु गरेको थियो । अब कर्णाली प्रदेशमा प्रणाली हस्तान्तरणसँगै आगामी केही साताभित्र बाँकी प्रदेशमा पनि यो प्रक्रिया क्रमशः सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।