• ४ साउन २०८१, शुक्रबार

कमाउन थाल्यो नेपाल वायुसेवा निगम

blog

काठमाडौँ, साउन १३ गते । आर्थिक रूपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ ।     

निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले तीन अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्छ ।     

हाल निगमको करिब दुई अर्ब रुपियाँको नगद मौज्दात छ भने पछिल्लो समय निगमले एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) रुपियाँको ऋण भुक्तानी गरेको छ । दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । ओभर ड्राफ्ट रकम भुक्तानीले पाँच महिनाको अवधिको निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत हुन गएको छ । 

आठ महिनामा आठ अर्ब आम्दानी     

आव २०७८/७९ को प्रथम आठ महिना (साउनदेखि फागुन)सम्म निगमले आठ अर्ब ३८ करोड रुपियाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी पाँच अर्ब ७० करोड रुपियाँ रहेको थियो ।     

निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ । विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान पुनः सञ्चालन भएका छन् ।     

निगमका एक उच्च अधिकारीका अनुसार कात्तिकमा दिल्लीको दैनिक एक उडान भएकामा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा तीन उडान भइरहेको छ । बैङ्गलोर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैङ्कक, नारिता र साउदी अरबमा उडान सङ्ख्या बढाएर उडान भएका छन् ।