• ४ साउन २०८१, शुक्रबार

माथिल्लो तामाकोसीले हकप्रद सेयर जारी गर्ने

blog

काठमाडौँ, साउन १३ गते । अपर तामाकोसी जलविद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित भदौ ३ गते १४औँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्नेगरी कम्पनीले १ः१ हकप्रद सेयर जारी गर्ने योजना बनाएका कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपियाँ छ । शतप्रतिशत हकप्रद सेयर दिँदा यो २१ अर्ब १८ करोड रुपियाँ हुनेछ । “थपिने रकमले हामीले रोल्वालिङ खोला थप गर्ने र कम्पनीको अल्पकालीन ऋणभार घटाउने योजना छ,” श्रेष्ठले भन्नुभयो । 

रोल्वालिङ खोलाको पानी यो आयोजनामा जलाशयमा ल्याउने र सुक्खायाममा थप दुई सय गिगावाट आवर विद्युत् थप गर्ने योजना छ । त्यस्तै खोला फर्काएर ल्याउँदै गर्दा २०.६६ मेगावाटको छुट्टै रोल्वालिङ खोला जलविद्युत् आयोजना बनाउने तयारी रहेको कम्पनी सचिव सुरेश खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि आठ अर्ब रुपियाँ खर्च लाग्नेछ । 

कम्पनीको वित्तीय अवस्था लगानीकर्तालाई लाभ दिइहाल्ने अवस्था भने अझै कम्तीमा दुई वर्ष नहुने देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी एक अर्ब ६५ करोड रुपियाँ छ । चालू आर्थिक वर्ष नोक्सानी घटेर ९० करोड रुपियाँ पुग्ने अवस्था छ । कम्पनीले अल्पकालीन ऋणकै लागि करिब ५० करोड रुपियाँ ब्याज भुक्तानी गर्छ । दीर्घकालीन ऋण मात्रै कम्पनीको करिब ४१ अर्ब रुपियाँ छ ।