• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल–बङ्गलादेशबीच जलस्रोत सचिवस्तरीय बैठक

blog

काठमाडौँ, साउन १२ गते  । जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने मूल एजेन्डासहित नेपाल र बङ्गलादेशका सचिवस्तरीय बैठक बिहीबार बस्दै छ । 

नेपालका तर्फबाट सिँचाइ सचिव सागरकुमार राई र बङ्गलादेशका जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कविर विन अनवर नेतृत्वको टोलीबीच सचिवस्तरीय जलस्रोत समितिको बैठक हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका सहसचिव डा. महेश्वर श्रेष्ठका अनुसार बैठकमा जलस्रोत विकास र व्यवस्थापनमा सहकार्य गर्ने, बाढीबाट हुने क्षतिबारे अध्ययन अनुसन्धान गर्नेलगायतका विषयमा छलफल हुनेछ । नेपालका नदी बेसिन व्यवस्थापनमा सहकार्य गर्ने, जल तथा मौसमका तथ्याङ्क आदानप्रदान गर्ने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा पनि नेपाल बङ्गलादेशबीच सहकार्य गर्ने विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

नेपालका नदीनालाको पानी गङ्गा नदी हुँदै बङ्गलादेशसम्म पुग्ने भएकाले पनि जलस्रोत व्यवस्थापनमा बङ्गलादेशले चासो राख्दै आएको छ । नेपाल माथिल्लो तटीय (अप स्ट्रिम) क्षेत्र र बङ्गलादेश तल्लो तटीय (डाउन स्ट्रिम) क्षेत्र भएकाले पनि यो विषयमा बङ्गलादेशले चासो दिने गरेको हो । 

शुक्रबार बगलादेशको टोलीले कुलेखानी पहिलो जलविद्युत् आयोजनाको अवलोकन गर्ने कार्यक्रम राखिएको छ । १४ वर्षपछि हुन लागेको यस्तो बैठकका लागि बङ्गलादेशका सचिव अनवरसहितको टोली बुधबार नेपाल आएको हो । टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग पनि भेट गरेको थियो । भेटमा नेपाल बङ्गलादेश ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको थियो ।

ऊर्जा क्षेत्रमा सहकार्य लगानी विस्तारलगायतका विषयमा मध्य भदौतिर दुई देशका ऊर्जा सचिवबीच बैठक हुँदै छ । नेपालले जलस्रोत र ऊर्जा दुवै सचिवस्तरीय समितिको बैठक अहिले नै गर्न चाहेको थियो तर बङ्गलादेशले थप तयारीपश्चात् अगस्ट अन्तिम साता छुट्टै बैठक गर्ने प्रस्ताव गरेको छ ।