• २१ असार २०८१, शुक्रबार

भाडा वृद्धिको विरोधमा उद्योगी

blog

राममणि दाहाल 

हेटौँडा, साउन १२ गते ।  जग्गा भाडा वृद्धि लागू गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयको विरुद्धमा हेटौँडा औद्योगिक क्षेत्रका उद्योगी आन्दोलित भएका छन् । चार वर्षअघि बढाइएको जग्गा भाडा असुली गर्ने गत असारमा भएको निर्णयको विरोध गर्दै उद्योगीले विरोध गरेका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ मङ्सिर ५ गते झन्डै सात सय प्रतिशत जग्गाभाडा वृद्धि गरी २०७५ साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको थियो तर नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घ, उद्योग सङ्घ मकवानपुरलगायतका सङ्घसंस्था र उद्योगीले विरोध गरेपछि उक्त निर्णय कार्यान्वयन रोकिएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले यसअघि गरेको निर्णय साउनदेखि कार्यान्वयन गर्नेगरी पुनः गत असार २२ गते निर्णय गरेको हो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज विनाडीले २०७५ साउन १ गतेबाट लागू भएअनुसारको भाडा दर कार्यान्वयन गरी उद्योगसँग असुल गर्न निर्णय भएको जानकारी दिनुभयो । 

२०७४ असारसम्म औद्योगिक क्षेत्रले प्रतिरोपनी वार्षिक हेटौँडा औद्योगिक क्षेत्रमा आठ हजार ३३१ रुपियाँ ७७ पैसा जग्गा भाडा लिँदै आएकामा अब साउन महिनादेखि उद्योगीले प्रतिरोपनी वार्षिक १९ हजार ६९१ रुपियाँ तिर्नुपर्ने हुन्छ । उद्योग सङ्घ मकवानपुरले औद्योगिक क्षेत्र उद्योग महासङ्घ, उद्योग सङ्घलगायत उद्योगीसँग सल्लाह र सहमति नगरी एकतर्फी र अन्यायपूर्ण ढङ्गले भाडा वृद्धि गरी लागू गर्न गरेको निर्णयको विरोध गर्दै बुधबार हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

सङ्घले ज्ञापनपत्र बुझाउँदै औद्योगिक क्षेत्रको एकपक्षीय निर्णय तत्काल खारेज गर्न माग गर्दै भाडा वृद्धिको निर्णय १५ दिनभित्रमा फिर्ता नलिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज विनाडीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल राष्ट्र बैङ्कले प्रकाशित गर्ने मुद्रास्फीति दरका आधारमा हरेक दुई वर्षमा वैज्ञानिक र स्वचालित भाडादर निर्धारण गर्न माग गरिएको छ ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले २०७२ र २०७४ सालमा १५÷१५ प्रतिशतले भाडा वृद्धि गरी असुल गरिएको गैरकानुनी रकम ब्याजसहित फिर्ता गर्न भन्दै उद्योगलाई दिएको गोदाम घरमा औद्योगिक भवनसरह भाडादर कायम गर्न माग गरिएको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा पानी सहज रूपमा उपलब्ध नहुँदा उद्योगी आफैँले बोरिङ गरी उत्पादन गरिएको पानीमा मिटर नराख्ने र हस्तक्षेप नगर्न, हेटौँडा औद्योगिक क्षेत्रको भौतिक संरचना पुनर्निर्माण गरी प्रयोगयोग्य बनाउन, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पुनर्संरचना गर्न र प्रबन्धपत्र, नियमावलीलगायत निर्देशिका पुनर्लेखन गर्न ज्ञापनपत्रमा भनिएको छ ।

२०७५ साल वृद्धि गरिएको भनिएको जग्गा भाडादरमा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि गरी हाल जग्गा भाडा प्रतिरोपनी वार्षिक १९ हजार ६९१ रुपियाँ पु-याइएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापनको पछिल्लो निर्णय कार्यान्वयन भएमा जग्गा भाडा प्रतिरोपनी वार्षिक सबैभन्दा बढी ९८ हजार ४५६ रुपियाँ बालाजु औद्योगिक क्षेत्रका उद्योगले र सबैभन्दा कम प्रतिरोपनी वार्षिक वीरेन्द्रनगर र राजविराज (गजेन्द्रनारायण) औद्योगिक क्षेत्रका उद्यागले १३ हजार १२७ रुपियाँ तिर्नुपर्ने हुन्छ ।