• ३ साउन २०८१, बिहिबार

हडतालका कारण लुफ्थान्साका एक हजारभन्दा बढी उडान रद्द

blog

बर्लिन, साउन  १०  गते । वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले भोलि हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द गर्न बाध्य भएको बताएको छ । ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालले एक लाखभन्दा बढी यात्रीलाई असर पारेको छ ।

 एयरलाइन्सले फ्रान्कफर्टबाट छ सय ७८ र म्युनिखबाट तीनसय ४५ उडान रद्द गर्न बाध्य भएको जनाउँदै मंगलबार फ्रान्कफर्टबाट ३२ र म्युनिखबाट १५ उडान रद्द गर्नुपरेको बताएको छ । 

लुफ्थान्साले फ्रान्कफर्ट उडान रद्द गर्दा ९२ हजार र म्युनिखको अवरोधले उडान नहुँदा ४२ हजार यात्री प्रभावित हुने बताएको छ । एयरलाइन्सले प्रभावितहरूलाई सम्पर्क गर्ने र सम्भव भएसम्म वैकल्पिक उडानको व्यवस्था गर्ने जनाएको छ । 

यद्यपि उसले वैकल्पिक उडानमा सबैलाई समेट्न सकिने सुनिश्चितता गरेको छैन । उपलब्ध सीटमा यात्रीलाई उनीहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयास गरिने बताइएको छ । विमान कम्पनीले हडतालका कारण बिहीबार र शुक्रबार उडान रद्द वा ढिलाइ पनि हुनसक्ने जनाएको छ । 

करिब २० हजार कर्मचारीले तलब वृद्धिको माग गर्दै सोमबार एकदिवसीय हडतालको घोषणा गरेका थिए । युरोपभरका विमास्थलमा कर्मचारी अभाव र यात्रीको चाप बढिरहेका बेला लुफ्तान्साका कर्मचारीको हडतालले जटिलता थपेको छ । 

यात्रीको बढ्दो चापले गर्दा सुरक्षा जाँचमा अवरोध भएको छ भने यात्रीका लामा लाइनले विमानस्थल साघुँरो भएको छ । 

मुद्रास्फीति बढ्दै जाँदा फ्रान्स, स्वीडेन, नर्वे र डेनमार्कमा स्क्यान्डिनेभियन एयरलाइन्सका पाइलटले उच्च तलबको माग गर्दै हडताल गर्दा अन्तिम समयमा उडान रद्द गर्नुपरेको छ ।

 केही उडानमा लामो विलम्ब मात्र भएको छैन हराएको सामान वा झिटीगुन्टाका लागि धेरै समय प्रतीक्षा गर्नुपरेको छ । यस्तो दृश्यले विमानस्थलमा अराजकता बढेको छनक दिएको छ ।  रासस एपी