• २५ कात्तिक २०८२, मङ्गलबार

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु

blog

नयाँदिल्ली, कात्तिक २५ गते । भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् । सोमबार राति भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र १९ जना घाइते भएको पुष्टि गरिएको छ ।

विस्फोट पुरानो दिल्लीको भीडभाडयुक्त क्षेत्रमा, ऐतिहासिक लालकिल्ला नजिकै भएको थियो । विस्फोटपछिको आगलागीले वरिपरिका अन्य सवारी साधन पनि जलेका थिए । प्रहरीले अहिलेसम्म विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण दिएको छैन । गृहमन्त्री अमित शाहले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “सुरक्षा निकायले सबै कोणबाट अनुसन्धान गरिरहेका छन् । फरेन्सिक नमूनाको विश्लेषण नभएसम्म घटनाको वास्तविक कारण बताउन कठिन छ ।”

मङ्गलबार बिहान एएफपीका पत्रकारले विस्फोट स्थलमा प्रहरीद्वारा सेतो कपडाले घेरेर राखिएको क्षेत्रमा जलेका गाडीको भग्नावशेष देखेका थिए । घटनास्थलमा फरेन्सिक विज्ञ र आतङ्कवाद विरोधी एकाइका अधिकारी प्रमाण सङ्कलनमा व्यस्त थिए । नयाँदिल्लीभरि सुरक्षा कडा पारिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ । उहाँले गृहमन्त्री अमित शाहसँग ‘स्थितिको प्रत्यक्ष समीक्षा’ गर्नु भएको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री मोदीले भन्नुभयो, “दिल्लीमा भएको यो विस्फोट अत्यन्त पीडादायक छ । आफ्ना प्रियजन गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दछु, घाइते चाँडै निको होऊन् ।”

१७ औँ शताब्दीमा निर्माण गरिएको लालकिल्ला भारतको सबैभन्दा प्रतिष्ठित ऐतिहासिक स्मारक हो । यही किल्लाको प्राचीरबाट प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने परम्परा रहिआएको छ ।

-कारभित्रका मानिस जलिरहेका थिए-

नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी ए.के. मलिकले भन्नुभयो, “अहिलेसम्म आठ जनाको मृत्यु भएको छ र १९ जना घाइते भएका छन् ।” यद्यपि, प्रेस ट्रस्ट अफ इन्डियाले पछिल्लो विवरण अनुसार मृतकको सङ्ख्या नौ पुगेको जनाएको छ । प्रत्यक्षदर्शीले घटनाको भयावह क्षणको वर्णन गर्दै ट्राफिकको बिचमा अचानक कार विस्फोट हुँदा आगोले वरिपरि रहेका मानिस र सवारी साधनलाई पनि घेरेको बताएका छन् ।

“मैले कार चलिरहेका बेलामा विस्फोट भएको देखेँ । मानिसमा आगो लागेको थियो, हामीले सकेसम्म उद्धार गर्ने प्रयास गर्यौँ । तर केही मानिसहरू कारभित्रै जलिरहेका थिए”, २७ वर्षीय धर्मेन्द्र धागाले भन्नुभयो, “मैले वरिपरिका जनतालाई उद्धारमा सघाउन भनेको थिएँ, तर धेरै जना भिडियो र फोटो खिच्नमै व्यस्त थिए ।”

विस्फोटपछि सहरको एलएनजेपी अस्पतालको आपतकालीन कक्षमा अराजकता फैलिएको थियो । घाइते एकपछि अर्को गरी ल्याइएका थिए र चिकित्सकले तत्काल उपचार सुरु गरेका थिए । एक महिला आफ्ना पतिलाई अस्पतालमा गम्भीर अवस्थामा देखेर रोइरहेकी थिइन् । उनका भाइले सान्त्वना दिने प्रयास गर्दै उनलाई अँगालो हाल्दै भन्दै थिए, “सब ठीक हुन्छ ।”

विपक्षी नेता राहुल गान्धीले विज्ञप्ति जारी गर्दै विस्फोटमा भएको मानवीय क्षतिको निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, “दिल्लीमा भएको यो विस्फोट हृदयविदारक छ । प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु ।” यसैबिच अमेरिकी विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै घटनाप्रति दुः ख व्यक्त गरेको छ । 

वक्तव्यमा भनिएको छ, “हाम्रो हृदय यस भयानक विस्फोटबाट प्रभावितसँगै छ । हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ ।” यस घटनाले राजधानीको सुरक्षा सम्बन्धी चिन्ता पुनः बढाएको छ । यद्यपि अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको र फरेन्सिक प्रतिवेदन नआएसम्म विस्फोट आतङ्कवादी आक्रमण हो वा आकस्मिक दुर्घटना भन्ने स्पष्ट हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् । रासस/एएफपी