• ३ साउन २०८१, बिहिबार

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

blog

फाइल तस्बिर

काठमाडौं, साउन १० गते। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मङ्गलबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। 

सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता  एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीका अनुसार सबैको लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

उहाँले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्वीस फ्र्यांक ७.४७ मिलियन करिब ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनुभयो।

सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ। 

प्रवक्ता कार्कीले सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनीत गर्ने, गोरखा जिल्ला साविक वारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६–१०–३–० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।