• ३ साउन २०८१, बिहिबार

काङ्ग्रेस नेता गान्धी पक्राउ

blog

नयाँदिल्ली, साउन १० गते । नेशनल हेराल्ड मुद्दामा भारतीय काङ्ग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।

धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उहाँलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

“बढ्दो महँगो र बेरोजगारीका बारेमा संसदमा बोल्न पाइँदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,” प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन् । पार्टीका धेरै सांसदलाई पनि गान्धीसँगै पक्राउ गरिएको छ ।  रासस/एएनआई