• ३ साउन २०८१, बिहिबार

संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्न सरकारले ध्यान दिनु जरुरी : सांसद थापा

blog

फाइल तस्बिर

काठमाडौं, साउन १० गते । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै सांसद थापाले सो कुरा बताउनुभएको हो । विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो हिँडिरहेको उहाँकाे भनाइ छ ।

सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअनुसार काम नभएको गुनासो गर्नुभयो ।

सरकार शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा गम्भीर बनेर लाग्नुपर्नेमा उहाँको जोड छ ।

सांसद थापाले सङ्घीय शिक्षा ऐन नल्याएको र अर्कोतर्फ शिक्षा नीति बनाएर प्रस्तुत गर्न नसकेको बताउनुभयो । सांसद थापाले सङ्घीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने, नयाँ विश्वविद्यालय बनाउँदै जाने हो भने भइरहेका विश्वविद्यालयलाई थप ध्वस्त हुने दाबी गर्नुभयो ।

समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन गर्न जरुरी रहेको सांसद थापाको धारणा छ ।