• ७ जेठ २०८१, सोमबार

जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला

blog

धनकुटा (हिले), साउन ९ गते । प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्लामा धनकुटा रहेको पाइएको छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गरेको छ भने सबैभन्दा कम भने ओखलढुंगाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । 

धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७२३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९१० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुंगाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उपयोग भने २३ हजार ८७० हेक्टर मात्रै गरिएको छ ।

धनकुटापछि खेतीयोग्य जग्गा उपयोग गर्ने जिल्लामा सङ्खुवासभा रहेको छ । सङ्खुवासभाले कूल खेतीयोग्य जग्गा ३१ हजार ५९६ अर्थात ९६.८५ प्रतिशत जमिन उपयोग गरेको छ । यस्तै मोरङले ९२, उदयपुरले ९१.५९, भोजपुरले ९१.३९ प्रतिशत खेतीयोग्य जग्गाको उपयोग गरेका छन् । झापाले ९१.१७, सुनसरीले ९०.९५, इलामले ९०, सोलुखुम्बुले ८९.५८, पाँचथरले ८६.०७, ताप्लेजुङले ८१.६७ र तेह्रथुमले ८१.६२ प्रतिशत खेतीयोग्य जग्गा उपयोग गरेका छन् ।

प्रदेश १ मा रहेको कूल क्षेत्रफल २५ लाख ९० हजार ५ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा मध्ये ३१ दशमलव ९१ अर्थात् ८ लाख २६ हजार ६४६ रहेको छ । उक्त खेतीयोग्य जग्गाको उपयोग भने ७ लाख १४ हजार ३८४ अर्थात् ८६ दशमलव ४२ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।