• १६ वैशाख २०८१, आइतबार

नुन बोक्ने बाटो ऐतिहासिक मार्ग बन्दै

blog

तमोर नदी किनारबाट धनकुटा बजारतर्फ निर्माण गरिएको बाटो । तस्बिरः कविराज

हिले, माघ २ गते । यातायातको सुविधा नहुँदा पुर्वी पहाडी जिल्ला धनकुटाका अधिकांश स्थानीयवासीले नुन बोक्न प्रयोग गर्ने बाटोलाई प्रवर्धन गर्न सुरु गरिएको छ । करिव ५० वर्ष अघिसम्म यो बाटो भएर धरानबाट नुन बोकेर ल्याउने गरिन्थ्यो । 

पछिल्लो पुस्ताले यो इतिहास ताजा राख्न र आन्तरिक पर्यटन प्रवर्धनका लागि धनकुटा नगरपालिकाले यो मार्गको संरक्षण सुरु गरेको छ । ऐतिहासिक मार्गको रुपमा विकास गर्ने गरी नगरपालिकाले यसको प्रवर्धन सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर राईले जानकारी दिनुभयो । 

यो बाटोलाई पर्यटन पदमार्गको रुपमा विकास गर्ने लक्ष्य रहेको जनाएको छ । नगरको वडा नं.९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिणबाट उत्तरतर्फ सिंढी निर्माण सम्पन्न भएको छ । क्रमागत योजना अन्तर्गत मङ्सिरमा काम शुरु गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माणको काम सकिएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । नगरको २० लाख, पर्यटन परियोजनाको १० लाख र उपभोक्ता समितिको चार लाख ५५ हजार गरी कुल ३८ लाख ५५ हजारको लागतमा पदमार्गको काम सम्पन्न भएको हो । अझै करिब चार किलोमिटर लामो निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करिब दुई करोडको बजेट आवश्यक पर्ने उपभोक्ता समितिले जनाएको छ । 

यो मार्ग धरान धनकुटा सडक निर्माण हुनु पूर्व धरानबाट धनकुटासम्म सामान ओसार्ने एक मात्र मार्ग हो । त्यस्तै अहिले पनि यो पदमार्ग धनकुटा नगरपालिकामा मात्र प्रमुख थातथलो भएका अल्पसङ्ख्यक सीमान्तकृत आठपहरिया जातिको आदिमकालदेखि हिंडेर सुनसरीको कोकाखोला र वराहक्षेत्र तीर्थ जाने पदमार्ग पनि हो । यी जातिहरुको समुदायमा वर्षभरि मृत्यु भएकाहरुको आफन्तहरु यसै स्थानको चिरबिरे चौतारामा भेला भएर हरेक वर्षको कार्तिके पूर्णिमामा चार दिनका लागि वराहक्षेत्रमा दुःख बहाउन जाने गर्दछन् । स्थानीय आठपहरिया जातिहरुको ऐतिहासिक महत्व  बाेकेको अक्कर भीर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातिहरुले वार्षिक रुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । 

भौगोलिक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म  दैनिक आउने सयौं पर्यटक धनकुटासम्म  जान सकेका छैनन् । यही भौगोलिक कठिनाइलाई पदमार्गको माध्यमबाट पर्यटक भित्रयाउन नगरले मलघाटको तमोर नदी किनारबाट अक्करको भीरबाट वडा नं. ८ को टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण शुरु गरेको हो । पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास (होमस्टे) सञ्चालन गरिने नगरप्रमुख चिन्तन तामाङ्ले जानकारी दिनुभयो ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।