• १६ वैशाख २०८१, आइतबार

च्याउ खेतीमा भविष्य खोज्दै बस्नेत दम्पती

blog

बस्नेत दम्पतीले गर्दै आउनु भएको च्याउ खेती । तस्बिर: कविराज

    विदेशी भूमिमा गर्ने श्रम र मेहनत आफ्नै गाउँमा गर्ने हो भने रोजगारको लागि भाैंतारिनु पर्दैन भन्ने उदाहरण यी दम्पती बन्नुभएको छ ।

हिले, मङ्सिर २८ गते । धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का चुइन्द्र बस्नेत र उहाँकी श्रीमती टीका बस्नेत हिजोआज घर नजिकै बनाएको टनेलभित्रै रमाउने गर्नुहुन्छ । टनेलमा लगाएको च्याउको स्याहारसुसार नै उहाँहरूको दैनिकी बनेको छ । 

यतिबेला बस्नेत दम्पतीलाई च्याउखेती गर्न भ्याई नभ्याई छ । बिहान सबेरै च्याउ टिप्नुहुन्छ । अनि त्यो च्याउ बजार बजारमा पुर्‍याउनु हुन्छ । वाकी रहेको समय त्यही च्याउ स्याहार्दै बित्ने गरेको छ । च्याउखेती रोजेपछि आम्दानीको गतिलो स्रोत बनेको छ । ४ वर्ष अघि विष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउखेती गर्दै आएका उहाँले ६ वटा टनेलबाट दैनिक दुई सयदेखि ३ सय केजी च्याउ उत्पादन गर्दै आउनुभएको छ । आफ्नो दैनिकी च्याउमै बित्ने गरेको उहाँको भनाई छ । “दैनिक तिन सय किलो सम्म उत्पादन हुन्छ टिपेर बिक्री गर्दा दिन बित्छ आम्दानी पनि राम्रै छ विदेशमा गरिने दुःख यही गर्दा यहाँ पनि रामै हुन्छ भन्ने अनुभव भयो” बस्नेत भन्नु हुन्छ ।

        युवाहरू रोजगारको खोजीमा विभिन्न देश पुग्ने गरेका छन् तर, बस्नेत दम्पतीले गरेको लोभ लाग्दो च्याउ खेती एक उदाहरण बन्नु भएको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुग्नुभयो । दुख धेरै तथा राम्रो कमाइ नभएपछि गाउँमै फर्कनुभयो । गाउँ फर्किएर ३० लाख रुपियाँको लगानी च्याउ खेती सुरु गरेका उहाँले यतिबेला राम्रो आम्दानी गर्दै आउनुभएको छ । बजारमा २ सय ५० रुपियाँले बिक्री हुँदै आएको च्याउ बिक्रीबाट एक सिजनमा १० लाखसम्म आम्दानी हुँदै आएको उहाँहरूको भनाइ छ । उहाँहरूले केही व्यक्तिलाई रोजगारसमेत दिनुभएको छ ।

      विदेशी भूमिमा गर्ने श्रम र मेहनत आफ्नै गाउँमा गर्ने हो भने रोजगारको लागि भाैंतारिनुपर्दैन भन्ने उदाहरण यी दम्पती बन्नुभएको छ । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने र फर्मको हेरचाह गर्नमै दिन बित्ने गरेको छ । च्याउको साथमा तरकारी खेतीबाट पनि राम्रो आम्दानी हुँदै आएको र व्यवसायबाट सन्तुष्ट मिलेको उहाँको श्रीमती टीका बस्नेतले बताउनु हुन्छ । कोशी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ स्थानीय बजार,जिल्ला सदरमुकाम र तेह्रथुमको वसन्तपुर,शुक्रबारेलगायतका बजारमा बिक्री हुँदै आएको छ । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।