• १५ वैशाख २०८१, शनिबार

धनकुटामा उद्योग दर्ता घट्दो क्रममा

blog

हिले, भदौ १३ गते ।  धनकुटामा पछिल्लो समय उद्योग दर्ताको सङ्ख्या घट्दो अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । 

गत आर्थिक वर्षमा जिल्लामा ३ सय २१ उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा धनकुटामा उद्योग दर्ता हुने क्रम केही घटेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७८-०७९मा ५१६ उद्योग आर्थिक वर्ष २०७५-७६ मा ५३७, आर्थिक वर्ष २०७६-७७ मा ३९७ र आर्थिक वर्ष २०७७-०७८ मा ३३६ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा दर्ता हुने उद्योगमा कृषि तथा वन पैदावारमा आधारित दुई सय एक, पर्यटन ५५, सेवामूलक ५१ र उत्पादनमूलक १४ छन् । उद्योग दर्ताबाट एक हजार दुई सय चार जनामा रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनुभयो । यस्तै धनकुटामा गत आर्थिक वर्षमा वाणिज्य तर्फ ७० वटा फर्म दर्ता भएका छन् ।

त्यस्तै यो वर्ष उद्योगतर्फ २९ र वाणिज्य तर्फ नौ वटा खारेज भएका छन् । उद्योग र वाणिज्य दर्ताबाट गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयले २७ लाख १२ हजार नौ सय ७७ राजस्व सङ्कलन गरेको जनाएको छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।