• १६ वैशाख २०८१, आइतबार

कुरूप बन्यो बहुप्राविधिक शिक्षालय

blog

हिले, फागुन ३० गते । मर्मतसम्भार नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । बेलायत सरकारको सहयोगमा विसं २०४० मा स्थापना भएको यो शिक्षालयमा मर्मतसम्भारको अभावमा जीर्ण बनेको हो । 

भौतिक तथा प्राविधिक सहयोग गरेको ब्रिटिस सरकारले त्यो बेला ४७ भवन निर्माण गरिदिएको थियो । अहिले ४७ मध्ये अधिकांश भवन जीर्ण अवस्थामा छन् । केही भवन पुनर्निर्माण हुन नसक्दा प्रयोगविहीन छन् । भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिनुभयो । शिक्षालयभित्रका संरचना मर्मतसम्भारका लागि करिब ५ करोड रुपियाँ लाग्ने अनुमान छ । तर पटक पटक सो रकम माग गर्दासमेत रकम नआएको उहाँको भनाइ छ । “धेरै भवनमा समस्या छ, भवन मर्मत गर्नुपर्ने रङरोगन गर्नपर्ने अवस्थामा छन् केही भवन मर्मत नहुदा प्रयोगविहीन छन् कुरो पटक पटक राखेका छौं तर सुनुवाइ भएको छैन” प्राचार्य कोइराला भन्नुहुन्छ । 

८६५ रोपनीमा स्थापित यो शिक्षालयमा बालीविज्ञान र पशुविज्ञानतर्फ तीनवर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिनुको साथै वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । पहिले ती स्थानको समेत संरक्षण गरिएको थियो । सुरु सुरुमा यो शिक्षालयको सुन्दरता अवलोकन गर्न धेरै पर्यटक आउने गरेको स्थानियको भनाइ छ । तर सो क्षेत्र जीर्ण र संरक्षण अभाव भएसँगै पर्यटक आउने क्रम रोकिएको स्थानिय जयन्द्र घिसिङ्गले जानकारी दिनुभयो । “हामीले पुरानै अवस्थामा फर्काउन पटक पटक माग गरेको छौ पुरानै अवस्थामा फर्काए यो क्षेत्रको एक मुख्य पर्यटकीय गन्तव्य बन्ने थियो तर यो पुन मर्मत र संरक्षण हुन सकेन” घिसिङ्ग भन्नुहुन्छ । पहिले पहिले यहाँ विभिन्न फिल्म सुटिङ् हुनुको साथै सयौ पर्यटक आउने गरेका थिए उहाँ थप्नुहुन्छ ।

त्यसो त अहिले केही नयाँ भवन बनेका छन् तर नयाँ भवन पहिलेको भन्दा भिन्न तरिकाले बनाइएको छ । जसले समेत शिक्षालयको सुन्दरतामा असर गरेको स्थानीयको गुनासो छ । नयाँ भवन निर्माण गर्दा समेत पुरानै शैलीमा निर्माण गरिनुपर्ने स्थानीयको माग छ । यो पर्यटकीय स्थल समेत रहेकाले शिक्षासँगै यो शिक्षालयलाई पर्यटनसँग जोडेर लैजान सहकार्य गर्न खोजिएकाे धनकुटा नगरपालिका १० का वडाध्यक्ष नगेन्द्र पाण्डे बताउनुहुन्छ ।  “बाहिरको सिमसार क्षेत्र हामी संरक्षण गर्ने र भित्रको भवनहरु शिक्षालयले मर्मत गरी पुरानो अवस्थामा फर्काउने भनेर पटक पटक छलफल गरेका छौं” वडाध्यक्ष पाण्डे भन्नुहुन्छ । 

वार्षिक एक सय ६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आङ्गिक शिक्षालमा कोशी प्रदेशअन्तर्गत सात वटा छन् ।त्यसमा धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । २०४० साल बाट सञ्चालनमा आएको यो शिक्षालय २०४५ सालमा सिटिईभीटी मार्फत आएको थियो । २०५२ सालसम्म प्राविधिक सहयोग गरिरहेको ब्रिटिस सरकारले त्यसपछि भने चासो दिएको छैन ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।