• २७ चैत २०८२, शुक्रबार

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

blog

प्रतियोगिताको उपाधि विजेता टोली ट्रफी र पुरस्कारका साथ । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २७ गते । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा-८ को टिमले जितेको छ ।

बाँके जिल्लाको विभिन्न २८ वटा वडाको टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेलमा वडा-८ नेपालगन्जले जानकी गाउँपालिका वडा नम्बर ३ को टिमलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । 

प्रतियोगिताको उपाधि विजेता टोलीलाई ट्रफीसहित नगद ५० हजार रुपियाँ र उपविजेता टोलीलाई ट्रफीसहित नगद २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको जानकी गाउँपालिका वडा-३ का वडाध्यक्ष राजकुमार बर्माले बताउनुभयो । 

उहाँले क्रिकेट खेललाई वडासम्म पुर्‍याउन र नयाँ खेलाडीको आकर्षण बढाउन सो प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगिताको फाइनल खेलमा जानकी ३ ले पहिले व्याटिङ गरेर १२ ओभरमा ११४ रन बनाएको थियो भने नेपालगन्ज ८ ले ११.४ ओभरमै ६ विकेट गुमाएर ११५ रन बनाई विजयी भएको थियो । 

सो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालगन्ज-८ का कुँवर धनन्जयलाई म्यान अफ दी म्याच घोषित गरेर पुरस्कृत गरिएको छ । प्रतियोगितामा राम्रो पदर्शन गरेबापत बेस्ट बलर रूपचन्द कुर्मी, प्लेयर अफ दी टुर्नामेन्ट रेशम शाही र बेस्ट व्याटसमैनको पुरस्कार भिम कनोजियालाई प्रदान गरिएको आयोजक रमवापुर स्पोर्टस क्लबका अध्यक्ष जोगराज बर्माले बताउनुभयो ।