• २७ चैत २०८२, शुक्रबार

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

blog

डुडुवा –४ का ज्ञानसागर बढैले आफ्नो सात कट्ठामा लगाएको मकै खेती ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, चैत २७ गते । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका हुन् । 

वर्षोंदेखि तरकारी खेती गर्दैआएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न लागेका हुन् । तरकारी खेतीबाट भन्दा मकै खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान मकै खेतीमा आकर्षित भएका छन् । 

बाँकेको डुडुवा गाउँपालिकाका किसानले बेमौसमी मकै खेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । आफ्नो पुर्ख्याैली र भाडामा सय कट्ठा जग्गा लिई जम्मा दुई सयभन्दा बढी कट्ठा जग्गामा मकै खेती गरेको स्थानीय किसान नेत्रराम मौर्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको बेला बिक्री गर्न सकिन्छ । कुहिने र सड़ने खतरा पनि रहँदैन । त्यसैले मकै लगाउन सुरु गरें ।’ करिब १८ कट्ठामा मकै खेती गरिरहेका स्थानीय मुनिर लोध तरकारी खेती गर्दा आफ्नो उत्पादन, बजारीकरण तथा भण्डारणमा समस्या देखिएपछि मकै खेतीमा लागेको बताउनुभयो ।

मकै खेतीमा तरकारीभन्दा फाइदा धेरै हुने हुनाले मकै खेती गरिरहेको उहाँको भनाइ छ । डुडुवा–४ का ज्ञान सागर बढै पनि तरकारीभन्दा मकैमा फाइदा देखेर मकै खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँ पनि गत वर्षबाट मकै खेती गरिरहनुभएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले मकैको बजारीकरण सुनिश्चित गरिएकाले पनि मकैतर्फ किसानहरू आकर्षित भएको बताउनुभयो । कार्यालय प्रमुख घिमिरेले बाँकेमा ४ हजार २ सय २८ हेक्टरमा मकै खेती हुने गरेको र त्यसबाट १९ हजार ५ सय ९९ मेट्रिक टन मकै उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

छैन किसानलाई समस्या

डुडुवाको वडा नम्बर ६ लाई मकै खेतीको जोनका रूपमा चिनिन्छ । उक्त वडाका अधिकांश स्थानमा अहिले मकै खेतीका लोभलाग्दा दृष्यहरू देख्न पाइन्छ । करिब ६ सय घरधुरी स्थानीयहरू मकै खेतीमा आबद्ध छन् । 

यद्यपि यहाँ अँझै पनि मल, बिउ तथा सिँचाइ समस्या समाधान हुन सकेको छैन । यहाँका किसानहरू नेपालमा पाइने बिउबाट उत्पादन हुने मकैको दाना साना हुने र तौल पनि कम हुने भएकाले भारतबाट मकैको बिउ ल्याएर खेती गर्ने गरेको बताउँछन् । ‘पहिला यहाँ मकै जोन कार्यक्रम थियो, अहिले छैन’ स्थानीय सन्जित मौर्यले भन्नुभयो । 

व्यावसायिक कृषि पेसामा लागेका किसानलाई सरकारले अपेक्षा अनुरूप सहयोग नगरेको नेत्रराम मौर्यको गुनासो छ । ‘सरकारले प्रत्येक वर्ष कृषिमा लगानी गरेको छु भन्छ तर खोई हामीलाई त थाहै हुन्न’ उहाँले भन्नुभयो ।

डुडुवा गाउँपालिका–६ हिरमिनिया बल्दीपुरुवाकै स्थानीय किसान राधेश्याम यादव भने समयमा मल, बिउ नपाउने गरेको गुनासो गर्नुहुन्छ । ‘बिउ, मलखाद समयमा पाइँदैन, सबै इन्डियाबाट ल्याउनुपर्ने वाध्यता छ, सिँचाइको पनि व्यवस्था छैन, के गर्ने कसरी गर्ने ?’ उहाँले भन्नुभयो ।