• ७ जेठ २०८१, सोमबार
blog

काठमाडौं, साउन ७ गते। गीत सङ्गीतमा ताल बाजाको रुपमा मादलको प्रयोग बढी गरिन्छ। लोकगीत, आधुनिक, लोक पप, लोक भजनमा पनि मादलको आवश्यकता धेरै छ। आजका युवामा मादलप्रति आकर्षण खासै नभएको मादलवादकको अनुभव छ। विद्युतीय बाजाको प्रयोग बढेसँगै नेपाली लोक बाजाका रुपमा ख्याति प्राप्त गरेको मादल बजाउनेको अभाव भएको एकल मादल वादक शारदा डङ्गोल बताउनुहुन्छ।

 १५ वर्षको उमेरदेखि मादल बजाउँदै आउनुभएकी मादल वादक डंगोलका अनुसार देशको राष्ट्रिय बाजा भए पनि मादलले आफ्नो स्थान भने पाएको छैन। काठमाडौंमा मादलको महत्त्व छैन भन्ने कतिपयको धारणा छ। ‘‘मादल बजाउने व्यक्तिलाई पनि हेप्ने प्रवृति  छ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो सोचलाई परिवर्तन गर्नका लागि नै मैले विभिन्न विद्यालयमा मादल सिकाउने गरेको छु।’’  नेवारले मल्लकालदेखि नै मादल बजाउन सुरु गरेको देखिन्छ। मादलका धेरै धुन भए पनि विशेषत संगिनी, झ्याउरे, समला र मारुनी गरेर चार धुन बढी प्रयोग गर्ने गरिन्छ। मादलको तालले गीत सङ्गीतलाई जीवन्त राख्दछ।


मादल सिकाउनका लागि नै उहाँले घिन्ताङ नेपाल भन्ने संस्था खोल्नुभएको छ। जसमा महिलाले सजिलै मादल सिक्न सक्नेछन्। मादल र मादल वादकलाई एकदमै सरल र सस्तो रुपमा लिने गरेको मादल वादक डङ्गोलको अनुभव छ। उहाँका अनुसार मादलले नेपालको पर्यटन क्षेत्रमा पनि राम्रो परिवर्तन ल्याउन सक्छ। 

“विद्युतीय बाजाको प्रयोग विदेशमा पनि भएको पाइन्छ। तर, मादल सबै देशमा पाइदैन। त्यस कारण आफूसँग भएको सीपलाई लगानी गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो। मादल बिनाको सङ्गीतमा नेपालीपन महसुस हुँदैन। यसको संरक्षणका लागि विद्यालय र क्याम्पस तहमा अध्ययन गराउँदै संरक्षणको सुरुवात गरिनुपर्ने मादल वादकको माग छ। एकल मादल वाधक सारदा डङ्गोलसँग गरिएको भिडियो कुराकानी।

भिडियो : मनोजरत्न शाही  र केशव गुरुङ