• ७ जेठ २०८१, सोमबार

जमिन भासिएसँगै तुङ्खागाउँ नै जोखिममा

blog

धनकुटा (हिले), साउन १ गते । बर्खा लागेसंगै धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर– ५ तुङ्खाको जमिन भासिन थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् । हिउँदमा पानीको मुल फुटेर लेदो सहितको पानी जमिन बाहिर आउने र बर्खामा जमिन धाँजाफाटेर भासिने क्रम नरोकिएपछि गाउँनै जोखिममा परेको छ । 

हिउँद भरी पानीको मुल फुटेर लेदोसहितको पानी जमिन बाहिर आएको स्थान आसपासको जमिन अहिले बर्खा लागेसँगै भासिन थालेपछि स्थानीयलाई त्रास थपिएको छ । यो क्रम दुई वर्ष यतादेखि सुरु भएपनि नरोकिएको स्थानीय आशमाया याख्खाले बताउनुभयो । २०७८ सालको कार्तिक बारीमा बिस्फोटको आवाज  सहित पानीको मुल फुट्यो, जसका कारण जग्गामा धाँजा फाट्नुको साथै घर समेत चर्किएको उहाँ बताउनुहुन्छ । 

याख्खासहित गाउँका दर्जन बढीको घर चर्किएको छ भने अन्यको खेतबारीमा धाँजा फाटेर जमिन भासिन थालेको छ । यहाँ पानी सुरुमा धेरै प्रेसरले निस्कने, पानीसँगै लेदो निस्कने गर्छ । अहिले त्यहि मुल फुटेको र धाँजा फाटेको क्षेत्र भने बर्खा लागेसँगै भासिन थालेको छ । स्थानीय दुई परिवारले गाउँनै छाडेको सन्तोस याख्खाले जानकारी दिनुभयो  । घर चर्किएर  बस्ने अबस्थानै नभएपछि एक परिवार डाँडाबजार र एक परिवार धरान बसाइ सरेको याख्खाको भनाइ छ । 

तुङ्खामा ४१ परिवारको बसोबास रहेको छ । उहाँहरुको छ सय रोपनी भन्दा बढि खेतियोग्य जमिन छ । ४१ परिवारनै यो घटनावाट पीडित भएको स्थानीय बिष्णु याख्खा वताउनुहुन्छ । जमिन अलिअलि गदै बर्षेनी भासिदै छ, कुन बेला लाने हो थाहा छैन । उहाँ भन्नुहुन्छ, स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय धनकुटालाई समेत  यो घटनाको बारेमा जानकारी गराएका छाै, तर कुनै सुनुबाइ नभएको गुनासो गाउँलेको छ । 

अनौठो लक्षणसहित बर्खामा समेत नफुटेको पानीको मुल हिउँद लागेपछि फुटेर जमिनसमेत चिरा पर्ने तथा बर्खामा जमिन भाषिने  भएपछि अहिले स्थानीयमा त्रास फैलिएको हो । आफुहरुले उक्त स्थानमा सुरक्षीत महसुस गर्न नसकेको भन्दै बिज्ञसहितको टोली आएर अध्यान अनुसन्धान गर्नुपर्ने  माग गरेका छन् । 

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।