• ८ मंसिर २०८१, शनिबार

कोरोनाले ब्युँताइदिएको बाटोमा

blog

भोजपुरको हतुवागढीका लागि हिँडेका हामी धनकुटाको भेटेटारभन्दा अलिअगाडि एउटा होटेलमा बास बसेका थियौँ । विहानै पुनः बाटो लाग्छौँ । बाटो लाग्दालाग्दै काठमाडौँ बस्ने हिमालधन राईसँग फोनमा सम्पर्क भयो । फोन सम्पर्क गर्नुको खास कारण बाटोबारे सोध्नलाई नै हो । हाम्रो यात्राको पारा सुनेर उत्तिखेरै जङ्गिनु भयो– ‘‘के खान यत्रो बाटो लाग्नुभएको ? जानुअघि यस्सो सोध्नु पनि त पर्छ नि । जानुस् अब दिनभरको बाटो... फर्कनुस्, फर्केर धरान जानुस्, र चतरातिर लाग्नुस् । अनि अरुण नदीमा मोटरबोट चढेर जाँदा हतुवागढी पुगिहालिन्छ नि, जम्मा तीन घण्टाको बाटोलाई किन दिनभर लगाउने ?’’

चतरा भएर जाने कुरा हुन्जेल हाम्रो गाडी नमस्ते झरना जाने बाटो पुगिसकेको थियो । ड्राइभरले ‘गाडीलाई फर्काउँ कि सर ?’ भन्नु पनि भयो । असमञ्जस्यमा प-यौँ । तर पछि मात्रै बुझ्यौँ, चतराबाट हतुवागढी सोझै पुगिन्न । मोटरबोट चढ्नुपर्ने रहेछ । सार्वजनिक यातायातमा यात्रा गरेको भन्ठानेर त्यो बाटो सुझाउनुभएको रहेछ । 

धनकुटा बजार त पहिले पनि पुगिसकेको हो । यहाँबाट उक्लिएर हिले बजार पुग्यौँ । त्यहाँ बिहानको चियानास्ता गरी पुनः पश्चिम हेर्दै अगाडि बढ्यौँ रामनगरमा हुँदै अरुण खोलामाथि बनेको पुल तरेर बल्ल भोजपुर जिल्ला प्रवेश ग-यौँ । जिल्ला प्रवेश गर्दादेखि कहीँकहीँबाहेक सबै बाटोमा कालोपत्र गरिएको हुँदा सलल बढ्न पायौँ । भोजपुर बजारको टक्सार पनि पुग्यौँ । टक्सार त धेरै अघिदेखि सुन्दै आएको नाम, मेरा लागि त भोजपुरको पर्याय नै टक्सार भइरहेको थियो । तर गन्तव्य यो होइन । केही हेर्न रोकिनुको अर्थ हो, पुग्नुपर्ने ठाउँमा ढिलो पुग्नु र बन्दोबस्त गर्न कठिनाइ भोग्नु । एकैछिन भए पनि टक्सारमा यस्सो हेर्ने रहर पूरा गर्न सकेनौँ र गाडीलाई सीधा दक्षिणको बाटो हुँदै झ-यौँ । अघिसम्म पिच बाटोमा सलल गुडेको बाटो अब भने कच्ची बाटोको स्वाद मज्जैले चाखियो । नागबेली बाटो हुँदै डाँडाको माथि टुप्पोमा पुग्ने अनि त्यसरी नै नागबेली पर्दै झर्ने डाँडा एउटा मात्रै हो र रु कहिलेकाहीँ यस्तो यात्रा रमाइलो पनि हुन्छ । तर हाम्रा लागि यो अत्यास लाग्दो नै भयो । अर्को विकल्प पनि थिएन । रामप्रसाद राई गाउँपालिकाको बाटो भएर पनि गुड्यौँ । यही बाटोबाट अलि भित्र रहेछ राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मघर । 

हतुवागढी पुग्नुको हाम्रो एउटै मात्र उद्देश्य हो, गढी नै हेर्ने । गढीकै अध्ययन गर्न पुगेका थियौँ । ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतको भौगोलिक विभाजन वा पहिचान भलै राजा पृथ्वीनारायण शाहपछि राणाकालको प्रशासनिक एकाइ हो । तर हो, प्राचीनकालदेखिको किराँत थलो । पर्याप्त अध्ययन नहुनु, प्रमाण पनि नासिनु र आआफ्नै डम्फु बजाएर हिँड्दाका कारण गुजुल्टिएको यस क्षेत्रको इतिहास उधिन्ने प्रयास केही समय यता गर्दै आइरहेको मलाई हतुवागढीकै अध्ययनका लागि पुग्नु सोह्रमा सत्र भइहाल्यो । माँझ किराँत खण्डमा पर्दछ हतुवागढी । कसैकसैको दाबी हो, हतुवागढी भनेको किराँती राजाको दरबार हो ।

यही भएर सरकारी लिखतमा नै हतुवागढी दरबारक्षेत्र भनेर उल्लेख पनि पाइन्छ । कुनै बेला किराँती राजा थिए होला, बेग्लै कुरा हो तर वि.सं. १८३० मा गोरखाली सेनाले यस क्षेत्रमा आक्रमण गर्दा यो चौदण्डी राज्यको एउटा प्रशासनिक क्षेत्र थियो । त्यतिबेला गोरखाली सेनाले किराँती राजालाई नभएर सेन राजाको सेवामा रहेका किराँती सरदारहरूलाई हराएको थियो । यी सरदारहरू स्थानीय समाजमा ठूलाबडा हुनु स्वाभाविक थियो र राजा भनी मानसम्मान दिने क्रममा पछिल्ला दिनहरूमा साँच्चै गद्दिनसिन राजा नै भनेर बुझेको देखिन्छ । पछिल्ला समय तिनै सरदारहरूलाई राजाका रुपमा बुझी जातीय सङ्घसंस्थाहरूले समेत किराँती राजाका रूपमा व्याख्या गर्नपुग्दा इतिहास झनै अस्पष्ट हुनपुग्यो । सेन राज्य टुक्रिने क्रममा विजयपुर राज्य बनेको थियो भने एक जना सेन राजकुमारले कान्तिपुर लगायतका राजाहरूको सहयोगमा विजयपुरलाई पनि टुक्र्याएर बेग्लै स्वतन्त्र चौदण्डी राज्य निर्माण गराएका थिए । तर यी जम्मै राजा मुकुन्द सेनकै वंशज थिए । चौदण्डी राज्यको उत्तरी भेक हो हतुवा । भौगोलिक रुपमा अप्ठ्यारो परेको हुँदा सुविधाका लागि हतुवा थुमलाई बेग्लै प्रशासनिक केन्द्रका रुपमा विकास गरेको थियो । गोरखाली सेनाले सुरुमा हतुवागढीमाथि विजय प्राप्त गरेर राजा शुभ सेनको राज्यमाथि धावा बोलेको थियो र त्यसको केही समयपछि चौदण्डीमै धावा बोलेर राजा शुभ सेनलाई आफ्नै राज्यबाट भाग्नुपर्ने अवस्था ल्याइदिएको थियो । तर स्थानीयहरू हतुवागढीलाई स्वतन्त्र किराँती राज्यका रुपमा लिन्छन् ।

पृथ्वीनारायण शाहको सेनासँग भिड्ने किराँती राजा भनेर अटलसिं राईको नाम लिइन्छ । तत्कालीन समयमा ‘अतल राय’ नामका एक सैन्य अधिकारी भएको लिखत पाइन्छ । त्यसको तीस वर्षपछि भएको ‘वग्याल पर्व’मा फाँसीको सजाय पाएको भनी ‘अटल राई’ को नाम आउँछ । अटल राय र अतल सिंहलाई एकै व्यक्ति मान्ने हो भने गोरखा सैनिकद्वारा मारिएको भन्ने कुरा असत्य सावित हुन्छ । राजा रणबहादुर शाहको शासनकालमा केन्द्रीय शासकविरुद्ध भएको ‘बग्याल कान्ड’मा उनै व्यक्तिको पनि संलग्नता देखियो र यस बेला उनी कारबाहीमा परेर काटिए । अटल सिं राजा नभएको मान्ने एउटा धारले भने यहाँ हाङहरूको राज्य थियो भन्ने मान्यता राख्छन् । तर इतिहासको कुनै सामग्रीले सेनबाहेक अरुको राज्यसत्ता देखाउँदैन । केही कुराको निक्र्यौल गर्नुपर्ने अभिभारासहित हतुवागढी पुगेको मात्रै नभएर यहाँको पर्यटकीय विकासमा पनि ध्यान दिनुपर्ने दायित्व थियो । श्री राइफल गुल्मको इलाकाभित्र रहेको गढीको वास्तुकला हेरेपछि स्पष्ट भयो, यो गढी मात्रै हो । दरबारको संरचना भनेर अनुमान गर्ने ठाउँ छैन । यो गढी वर्गाकारको चारै दिशामा चारवटा चुस्सो निकालिएको जस्तो देखिने बनावट हो । यही बनावट उदयपुरगढीमा पनि देख्न पाइन्छ । घोडा चढेर राजा यहाँ आउँथे र घुमेर फर्कन्थे भन्ने कहावतले प्रशासनको अधिकारीलाई राजा र उनको निवासस्थललाई नै दरबार भनिएको बुझ्न गाह्रो भएन । भौगोलिक बनावटअनुसार उक्त कथित दरबार गढीको दक्षिणी क्षेत्रमा अनुमान गर्न सकिन्छ ।

दुई टोली एकसाथ गएका थियौँ । गढीलाई हेर्नु र गढीको पुरातात्त्विक महत्त्वमा आँच नआउने गरी विकास योजना बनाउनु हाम्रो टोलीको दायित्व हो । हाम्रो टोलीमा पनि मेरो प्रमुख दायित्व इतिहास, संस्कृति, पुरातत्त्व र पर्यटनको दृष्टिले पर्गेल्नु र सोहीअनुसार गुरुयोजना तयार पार्नु हो । गढीको विस्तृत नापनक्सा लिनुका साथै त्यहाँ वरिपरि म्युजियम लगायतका के कस्ता निर्माण संरचना कसरी बनाउँदा हुन्छ भनेर दुई इन्जिनियरसँग विचारविमर्श गर्ने र एउटा टुङ्गोमा पुग्ने हुन्थ्यो । यसका लागि गढीभन्दा मुनि रहेको घोडेटार बजारमा पनि स्थानीय जनजीवनलाई नजिकबाट नियाल्यौँ । हाम्रो काम सकिँदा पनि पूरै थुमको सर्वेक्षण गरिरहेको टोलीको काम सकिएको थिएन । उक्त टोलीलाई त्यहीँ छाडी हामी मात्रै फर्कने भयौँ । भोजपुर ९टक्सार० भएरै फर्कने भए पनि त्यहाँ अलमलिने अवस्था थिएन । अनि किन त्यत्ति विधि घुम्नु ?  

हतुवागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि हामी त्यहाँ पुगिरहेका हौँ । तर भोजपुर ९टक्सार० बाट दक्षिण लाग्ने अत्यासलाग्दो बाटोबाट कति नै पर्यटक आउलान् र ? हतुवागढीका लागि धरानबाट तीन घण्टामा पुग्ने नै बढी उपयुक्त देखिन्छ । हतुवागढीबाट कोप्चेसम्म मोटरबाटो बनिसकेको मात्रै नभएर दिनमा एउटा बस पनि लाग्दो रहेछ । त्यसपछि मोटरबोट चढेर नदी पार गर्न सकिन्छ । यो बाटोबारे जानकारी लिनु हाम्रा लागि अनिवार्यजस्तै भयो । हामी हिँडेरै त्यहाँसम्म पुग्ने निधो ग-यौँ । तर खबर पायौँ, मोटरबोट बिग्रिएकाले कोप्चेसम्म आउँदैन । सिम्ले पुग्नु पर्छ । कोप्चे हुँदै सिम्ले पुग्ने निधो भयो । केही परसम्म हामीलाई गाडीले पु-याइदिने भयो । गाडी त्यस्तै बाह्र किलोमिटर जति गुडेपछि म्याप हेर्दै गरेको सहयात्रीले भन्यो, गाडीलाई त्यहाँसम्म लैजाऊ र फर्काऊ, हामीलाई हिँड्नु त छँदैछ । अलि फर्केर गयो भने हिँड्ने बाटो नै रहेछ, त्यहाँबाट जाँदा सीधै सिम्ले पुगिन्छ । गाडीलाई फर्कायौँ । नक्साले देखाएको ठाउँमा पुग्यौँ र झ-र्यौँ । त्यहाँबाट अलिकति ओरालो झरेर सोध्दा थाहा भयो, बाटो सही रहेछ । यो ठाउँको नाम कोल्टेटार रहेछ । पुरानो बाटो यही हो । नयाँ मोटरबाटो बनेपछि मान्छेहरू हिँड्न छाडेको  मात्रै हो । 

कोल्टेटारबाट ओरालो ओरालो झर्न थाल्यौँ । ढुङ्गा विछ्याएर राम्रोसँग बनाइएका खुड्किलाहरू अब उप्किन थालेको छ । वनको स्याउलाले बाटो छोपिन पनि थालेको छ । कतिपय ठाउँमा स्याउला पन्छाउँदै र बाटो पहिल्याउँदै हिँड्नुपर्ने अवस्था रहेछ । अलिकति होस पु-याउन सकेन भने स्याउलामा चिप्लिने र लड्ने जोखिम उत्तिकै  । एक सहयात्री त लड्न पनि पुगे । हिँड्न छाडेको बाटो न प-यो, करिब दुई घण्टाको बाटोमा जम्मा दुई ठाउँमा गरी तीन जना मान्छे विपरीत दिशाबाट उक्लिरहेको भेट्यौँ ।  

ओरालो झरेर फेदीमा पुग्नै लाग्दा एउटा बिसौनीको भग्नावशेष देखियो । काठको मुढाहरू जमिनमा गाडेर छानोका रूपमा माथि जस्ता छाएको हुनुपर्दछ । तर अहिले त्यो बिसौनीको छानो च्यातिएर झुण्डिएको अवस्था छ । मुढाहरू पनि मक्किएर जमिनबाट छुटिएको र झुण्डिएको अवस्थामा छ । केही मुढाको भरथेगले बिसौनीको सम्झना दिलाइरहेको छ । अथवा भनौँ, ढल्न नै लागेको अवस्था छ । हेर्दैमा दिक्क लाग्दो त्यो दृश्य विसङ्गतिको प्रतीक वा अर्थपूर्ण कविता प्रतीत हुन्छ । झट्ट हेर्दा विश्रामस्थल भनेर अड्कल गर्न पनि मुस्किल नै हुन्थ्यो । त्यस ठाउँबाट अलि तल झरेपछि दुई चार घर र वारि देख्यौँ । त्यहाँ हसनपुर गाउँविकास समिति भनेर टाँगिराखेको एउटा बोर्ड पनि देख्यौँ । साविकका छवटा गाविस रानीवास, होम्तङ्ग, खैरङ्ग, सिन्द्रङ्ग, पात्लेपानी र हसनपुरलाई गाभेर हतुवागढी गाउँपालिका बनाइएको हो । 

सिम्लेसम्म जाने बाटोको केही जानकारी लिएर हामी अगाडि बढ्यौँ । 

हसनपुर आएपछि त बाटो समथर नै रहेछ । गाडी पनि ल्याइँदो रहेछ । बाटोको छेउछेउमा राम्रै खेतीकिसानी चल्दो रहेछ । विभिन्न प्रकारका तरकारीहरू लहलहराइरहेको छ । उखुबारी पनि टन्नै रहेछ । गाडीहरू यिनै तरकारी तथा उखु लिनलाई आउने रहेछ । एक ठाउँमा उखु भर्न सकाएर गाडी गुडेको मात्रै थियो र उखु बेचेर आएको पैसाको हँसिलो अनुहारमा गनिरहेको किसान देख्याैँ। पैसा गन्दै गरेका श्रीमान्लाई मख्ख परेर हेरिरहेकी श्रीमतीको अनुहारमा झल्किन्छ, मिहिनेतको फल । 

हामी सोध्छौँ, ‘‘हामीलाई पनि उखु बेच्नु हुन्छ ?’’ उखुको केही बोट भाँचेर ल्याउँछन् र हामीलाई दिन्छन् । उखु किनेबापत दिएको पैसा खल्ती राखेको काइदा हेर्न लायककै थियो । उखु मोटो र रसिलो अनि गुलियो थियो । उखु चपाउँदै बाटो नाप्यौँ ।   

एउटा ठूलो नदी आयो, त्यसमाथि झोलुङ्गे पुल छ । पुलबाट नदी तरेपछि धनकुटा जिल्ला पुगेका रहेछौँ । अरुणको किनारै किनार हिँडेर दक्षिण झर्दै गर्छौं । हामी तीन जना, कोही अगाडि कोही पछाडि । केही अघिसम्म म अगाडि अगाडि थिएँ भने एक ठाउँमा सुस्ताएपछि म पछि नै प-यो । पछि पर्नुको खास कारण फोटोग्राफी थियो । एक ठाउँमा पुगेपछि एक जना सहयात्री रुखको छायाँमा सुस्ताइरहेको भेटियो । निकै गाह्रो भएको रहेछ । 

केहीअगाडि बढेपछि मोटरबोटको आवास आउँछ । सिम्ले आइपुगेको हो र रु तर सोध्नलाई त्यहाँ कोही थिएनन् । त्यो आवाज विलायो पनि । एक सहयात्री अगाडि नै छ । त्यहाँ स्कुल र केही घरहरू पनि देखियो । अलमल्याउने फाटेका बाटाहरू थुप्रै छन् । अगाडि हिँडेका सहयात्रीले अलि परबाट कराएर बाटोका बारेमा दिएको निर्देशन कानमा ठोकिन आयो । आवाजलाई पछ्याउँदै उनको नजिक पुगियो । मोटरबोट नै रहेछ । तर छुट्यो । सिम्ले यही हो । 

बाटोको छेवैमा रहेको घरको दलानमा मोटरबोटको टिकट पाइने ठाउँ भनेर बोर्ड टाँगिएको छ तर बन्द । त्यहाँ होटेल पसलहरू सञ्चालित छन् । एउटा होटेलमा गएर थचक्क बस्यौँ । बोट भर्खरै गएको र अर्को टिप गर्न आउने–नआउने ठेगाना नभएको बताए, होटेल साहुजी धिरज राईले । साहुजी ज्यादै भलाद्मी परेछन्, यताउता फोन गरेर आफैँले बुझ्नुभयो । त्यही होटेलमा चिया पकाउन लगाएर पियौँ पनि । केही बेरपछि एक जना महिला आइपुगिन् र बोलिन् ‘‘मोटरबाटेको टिकट काट्ने भाइ सबै पैसा बोकेर हिँडिसक्यो त’’ अर्थात् मोटर बोट भोलि बिहान मात्रै आउने हो । 

के गर्ने ? चालीस मिनेट जति अगाडि बढ्ने हो भने एउटा बस्ती आउँछ । त्यहाँ बास बस्न सकिन्छ । त्यहीँबाट भोलि बिहान मोटरबोट चढेर जान सकिन्छ । बासै बस्ने हो, उही मोटर बोट चढ्ने हो भने त्यहाँ गइराख्नु प-यो नै किन रु सिम्लेमै बस्दा पनि त भयो नि भन्ने निधोमा पुग्यौँ । अब धिरजकै होटेलमा बास बस्ने पक्का भयो । 

अगाडि अरुण दुई जिल्लाको सीमा भई बगिरहेको छ । नदीमाथि फलामको झुलुङ्गे पुल पनि छ । पुल बन्नुअघि वारिपारि गर्न ट्विनबाहेक अर्को उपाय थिएन । ट्विनको अवशेष अझै पनि देख्न पाइन्छ त्यहाँ । पुल तरेर पुनः एक पल्ट भोजपुर टेक्यौँ र यसरी नै समय बिताएर बस्यौँ । 

खरले छाएका पन्द्र सोह्रवटा जति घरहरूको सानो बस्ती हो, सिम्ले बजार । आधा जति त खाने पिउने होटेल नै । आठवटा मात्रै त्यहीँको रहेछ, अरू जम्मै बाहिरको भन्नुको तात्पर्य बाँकी बाहिरबाट आएर बसेका हुन् । सिम्ले सयौँ वर्षअघिदेखिको पुरानै बस्ती रहेछ । हामी बसेको होटेलका मालिक धिरज राईले भनेर थाहा भयो, २०४१ सालमा ठूलो पहिरो आएको थियो र पूरै सिम्लेलाई ध्वस्त पारेको थियो । त्यसपछि फेरि बस्ती बसाइएको हो । 

सिम्ले बजार पुरानो र चल्तीको बाटो थियो तर नयाँ बाटो खुलेपछि यो बजार सुकेको रे । खोटाङ, भोजपुर र धनकुटाका लागि केन्द्र यही रहेछ । तर कोरोना कोभिड–१९ का कारण लकडाउन भएको बेलामा मोटर गुडेन । छोटो र पुरानो यही बाटो हिँड्न थाल्यो ।

‘‘उसोभए कोरोना महामारीकै कारण यो बाटो ब्युँतिएको हो त ?’’– म सोध्छु र मुस्कुराएर धिरज राई जबाफ दिनुहुन्छ– ‘‘ब्युँतिएकै त भन्नुप-यो । तर कोरोना सधैँ रहिरहोस् भन्न पनि मिलेन । अब यस्तै हो ।’’ 

हेर्दा भद्रभलादमी देखिने एक जना पसलमा छिर्नुभयो । स्थानीय नै हुनुहुँदो रहेछ । पछि मात्रै थाहा भयो, गाउँमा रहेको विद्यालयको प्रधानाध्यापक हो । अघि बाटोमा त्यो स्कुल देखेका थियौँ । सामान्य कुराकानी हुँदै ग-यो । धेरै कुराको जानकारी रहेछ । रक्सी थपी थपी खाइरहनुभएको थियो । सुरुमा राम्रैसँग कुरा बढेको थियो तर जति जति रक्सीको गिलास रित्तिँदै गयो, उति उति उहाँको कुरा गराइको पारा पनि फेरिँदै गयो । हरेक कुरामा निहुँ खोज्ने उनको पारा निको लागेन । धेरै हिँडेर थाकेको र निद्रा लागेको बहाना गरी कोठामा पसेँ । निदाउने समय त त्यो थिएन तर पसलमा अरूसँग कराइरहेको आवाज बाटो पारीको मेरो सुत्ने कोठासम्म ठोक्किन आइरहेको थियो । अघि नै पसल बन्द गर्न पाए आनन्दले निदाउन पाउँथेँ भनिरहेका साहुजी धिरज त्यति बेलासम्म के गरिरहेको थाहा भएन । तर घडीले १० बजाइसकेको थियो । ती प्रधानाध्यापक घरतिर लाग्ने सुरसार कसेको पनि बुझियो । उनी कति लडखडाइसकेको भनेर त देखिनँ तर बाटोमा एक पल्ट लडेर ढुङ्गामा पछारिएको आवाज भने डरलाग्दो गरी आयो । उहाँ प्रधानाध्यापकबाट गाउँमा विद्यार्थीले के कस्ता कुरा सिक्ने हुन् ? 

०००

भोलिपल्ट बिहान बाटोमा ग्वारग्वार्ती हिँडेका खच्चडहरूको पदचापले मेरो निद्रा खलबलियो । उठ्छु । खच्चडहरू झुलुङ्गे पुलबाट भोजपुरतिर लगिरहेका रहेछन् । तल अरुण नदीमा मोटरबोट आइपुगेको आवाज आयो । हामै ढिलाइले त्यो मोटरबोट छुट्यो दोस्रो पनि, तेस्रोको पर्खाइ अरुणको बगरमा नै भयो र बल्लबल्ल चढ्यौँ । 

मोटरबोट चढेको यो मेरो पहिलो अनुभव हो । स्पिड देखेर पहिले त अलि डराएको थिएँ । खुवालुङ पनि देख्यौँ । नदीको बीच भागमा रहेको खुवालुङ एउटा ठूलो ढुङ्गा मात्रै नभएर स्थानीय समुदायको इतिहास, संस्कृति र आस्था पनि जोडिएको एउटा स्मारक हो । तर ठूलो मोटरबोट चलाउन बाधा पारेको भनेर यसलाई फुटाल्ने योजना राज्य शक्तिले बनाए पनि समुदायले असन्तुष्टि मात्रै पोखेनन्, ठूलै विरोध पनि सामना गर्नुप-यो । विरोधको आवाज सशक्त भइरहेकै बेला हामी त्यहाँ पुगेका थियौँ । खुवालुङलाई झलक्क मात्रै देख्न पायौँ, तुरुन्तै तल हुत्तियौँ । एक ठाउँमा हामीलाई ओरालेर  अर्कोमा चढाइयो । अघिल्लो मोटरबोट सानो र खुल्ला थियो भने यो अलि ठूलो र गाडी चढेजस्तै छानो भएको । हेर्नलाई सानो झ्यालबाट नियाल्नुपर्ने । बराह क्षेत्रमा दर्शनका लागि आएकाहरू यसमा चढे । चतरामा पुगेपछि मोटरबोटको यात्रा सकियो । बगरबाट उक्लेर चतरा बजारमा पुग्यौँ । भोजनालयमा पनि अर्डर गरेपछि मात्रै खाना पकाउँदो रहेछ । खाना पकाउन लगाएर खाइसक्दा पनि हाम्रो गाडी आइपुगेन । त्यतिन्जेल चतराको पुल तरेर अलि परसम्म पनि हिँड्यौँ । त्यस्तै आधा घण्टा जति पछि गाडी आइपुग्यो र चतरा छाडेर निजगढतर्फ लाग्यौँ । यो दिन हाम्रो बास यहीँ तय भएको थियो ।