• ८ जेठ २०८१, मङ्गलबार

दोलखाको सोक्लामा रक क्लाइम्बिङ खेल सुरु

blog

चरिकोट, असार २७ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकासको सम्भावना भएको सोक्लामा रक क्लाइम्बिङ एन्ड हाइकिङ सुरु गरिएको बताइएको छ ।  

सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको प्रवद्र्धनका लागि गुरु योजनासहित उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेको हो । खेलाप, सोक्ला र चक्पासँग जोडिएका तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एडभान्स र हाइ लेवलको रक क्लाइम्बिङ गर्न सक्ने माउन्टेन गाइड छिरिङ जाङबु शेर्पाको भनाइ रहेको छ ।  

भूगोल र वातावरणीय दृष्टिले यो रक क्लाइम्बिङसँगै साइक्लिङ पनि गर्न सकिन्छ । स्वेदशीभन्दा पनि विदेशीहरुका लागि यो उत्तम गन्तव्य हो । माउन्टेड गाइड शेर्पाले भन्नुभयो, अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि यो ठाउँ छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ । 

गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सक्ने शेर्पाको भनाइ छ । 

भीमेश्वर नगरका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्विङ परीक्षण गरेको छ । गाइड तथा प्रशिक्षक थिरबहादुर खड्का र शिव खड्काको टिमबाट सफल रुपमा रक क्लाइम्बिङ परीक्षण भइसकेको छ ।  प्रशिक्षक थिरबहादुर खड्काले सोक्लामा रक क्लाइम्विङका लागि सबैको रोजाइको गन्तव्य हुने बताएका छन् । 

फ्रान्सका नागरिकहरुले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको यो टिमले यस क्षेत्रको प्रवर्धनका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरुलाई दोलखा बजारमा गरिएको स्वागतपछि दोलखाबाट फ्रेन्च नागरिकहरुले सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९ सुरु गरेका थिए । 

Author

बाबुराम शर्मा