• १६ चैत २०८०, शुक्रबार

टी-२० अभ्यास खेलमा नेपाल विजयी

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले हरायो ।

यसअघि शुक्रबार भएको एकदिवसी खेलमा पनि नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । नेपालले दिएको २ सय १० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ५४ रनमा समेटिएको थियो । ओन्टारियोका लागि भरुण सेहदेबले सर्वाधिक ५० रन बनाउनुभयो । 

नरेश बुढाऐरले ४१ र जाडे पाडेमोरले ३७ रन बनाउनुभयो । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिनुभयो । करण केसी, आदील अन्सारी र किशोर महतोले एक एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । रोहितले अविजित ७१ र दीपेन्द्रले ५४ रन बनाउनुभयो । पवन सर्राफले ३७, देव खनालले २० आदील अन्सारीले अविजित २० रन बनाउनुभयो । बलिङमा ओन्टारियोका रेमण्ड, भरुण सेहदेव र किनान टिन्टोले एक एक विकेट लिनुभयो । नेपालले क्यानडाको राष्ट्रिय टोलीविरुद्धको सिरिज अघि ओन्टारियोसँग अभ्यास खेल खेलेको हो । 

नेपाली टोली अहिले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि क्यानडा भ्रमणमा रहेको हो । नेपालले क्यानडासँग मंगलबार र बुधबार  दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ । क्यानडासँगको सिरिज खेलेर नेपाल उतैबाट स्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।