राँझा (बाँके), चैत ९ गते । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनाबाट जग्गा नापजाँच गर्न प्राविधिक टोली खटिएको अध्यक्ष खनालले बताउनुभयो । सो कार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गरेको छ । यसअघि जिल्ला भूमि आयोग खारेज गर्ने सरकारको निर्णयका कारण काम अवरुद्ध भएको थियो । तर, सर्वोच्च अदालतले उक्त निर्णय बदर गरिदिएसँगै आयोगले पुनः काम अगाडि बढाएको हो ।
सोमबार नेपालगन्ज–२१ पुरैनामा आयोजित कार्यक्रममा नापजाँच कार्यको शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । “लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन समस्या अन्त्य गर्न हामी निरन्तर प्रयासरत छौँ”, उहाँले भन्नुभयो, “सरकार परिवर्तन भए पनि यो अभियानलाई पूर्णता दिने काममा उपमहानगरपालिका प्रतिबद्ध छ ।” रासस