कविराज घिमिरे
हिले, चैत ९ गते । धनुकुटाको हिलेमा मङ्गलबारबाट सुरु हुने १८औँ संस्करणको रामनवमी कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
खेलमैदान ब्यबस्थापन, खेलाडी, रेफ्री ब्यबस्थापन लगायतका सबै तयारी पुरा भएको आयोजक हिले भलिबल क्लबले जनाएको छ । प्रतियोगितामा पूर्वका बिभिन्न नौ पालिकाले सहभागिता जनाउने भएका छन् ।
धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको आमचोक, अरुण, राम प्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिम रहेका क्लवका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टोलीले २ लाख २ हजार २२२ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले १ लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तरगत फाइनल खेल रामनवमी अर्थात १३ गते हुनेछ । हिलेमा रामनवमीको अवसरमा २०५५ सालवाट भलिबल प्रतियोगिता सञ्चालन हुदै आएको छ ।