काठमाडौं, असार १८ गते। मिथिला आर्टको परम्परा पुरानो छ। कलाकार बन्धना कनक सयौँ वर्ष अघिदेखि मिथिला आर्टको परम्परा चल्दै आएको बताउनुहुन्छ। ३० वर्षदेखि मधुवनी आर्टसँग जोडिनुभएका कलाकार कनकका अनुसार मिथिला आर्टको दुई इतिहास विशेष मानिन्छ। पहिलो, भारतसँग जोडिएको छ। सन् १९३४ को ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपालसँगै भारतको बिहारमा क्षति पुगेको थियो। यस्तै, १९६० मा मिथिला क्षेत्रमा पनि असर परेको थियो।
यो समस्याको निराकरण गर्न भारतले मिथिला क्षेत्रका महिलालाई माटोको घरमा बनाइने चित्रलाई कागजमा उतार्न सघायो। मिथिला क्षेत्रमा माटोको घर हुन्थ्यो। घरको भित्ता अरिकन बनाएर सजाउने चलन थियो। त्यस्तै, आँगन गोबर र माटोले लिपेपछि चामलको पिठोले अरिकन (रंगोली) बनाइन्थ्यो। अर्को, जनकपुर पुगेको अमेरिकी टोलीले मिथिला आर्टलाई व्यवसायिक बनाउन सहयोग गरेको थियो। त्यसपछिको मिथिलावासीको घरको भित्तामा मात्र सीमित भएको आर्ट विस्तारै कागजमा उतारेर व्यावसायिक बनाइएको कलाकार कनक बताउनुहुन्छ।
‘मिथिला नगरमा सबै जातिले विभिन्न चाडपर्वमा आफ्नो घरमा प्राकृतिक रंगबाट विभिन्न किसिमका चित्र बनाउँथे। मिथिलावासी महिलाले विभिन्न रंगबाट अरिकन बनाउँथे। त्यसबेला चामलको पिठो र सिन्दुरबाट मात्र मिथिला आर्टहरलाई सजाउने काम हुन्थ्यो। नेपालमा मिथिला आर्ट भन्छिन् भने भारतमा मधुवनी आर्ट भन्ने गरिन्छ। अन्य आर्टभन्दा मिथिला आर्ट फरक छ। मिथिला आर्टमा महिलाले शिरमा घुंघट राखेको हुन्छन्। विशेषगरी आधा भाग मात्र देखिने गरी कोरिएको हुन्छ।
मधुवनी आर्टमा विशेषगरी रामायण, भगवान कृष्णको कथा, महाभारतका कथा प्रस्तुत गरिएको हुन्छ। कलाकार कनकका अनुसार भगवान जस्तै शान्त प्रकृतिका मानिस मात्रै मधुवनी आर्ट बनाउन सक्छन्। किनभने यस आर्टमा एकदमै ‘फाइन’ काम हुन जरुरी छ।
मधुवनी कलाकार बन्धना कनकसँग गरिएको भिडियो कुराकानी:
भिडियो : मनोजरत्न शाही र केशब गुरुङ