• १५ साउन २०८२, बिहिबार

आजको गोरखापत्र कसैको परिकल्पनाको उपज होइन

blog

एउटा अखबारका रूपमा गोरखापत्रले निरन्तरताको जुन मानक स्थापित गरेको छ, यो विश्वभरमै दाँजिन लायक छ । आरोहअवरोह पार गर्दै गोरखापत्रले सय वर्षभन्दा लामो अवधिसम्म आफ्नो नैतिक र भौतिक अस्तित्व कायम राख्न सक्नु सबैभन्दा उल्लेखनीय कुरा हो । पचास वर्षसम्म एउटा अखबारको सम्पादनमा संलग्न रहेर उही अखबारमा शतवार्षिकी लेख लेख्ने सिपी स्कटले आफ्नो प्रिय अखबार ‘दी मेनचेस्टर गार्जियन’ को नैतिक र भौतिक उपस्थितिको विचारोत्तेजक रूपमा चर्चा गरेका थिए (दी मेनचेस्टर गार्जियन, ए हन्ड्रेड एयर्स, १९२१) । गोरखापत्रका सन्दर्भमा आजसम्म कायम रहेको यसको जीवन्तता र वृद्धिको समन्वय पनि उस्तै उल्लेखनीय छ । 

देवकोटा (२०५१) गोरखापत्रको जन्म र इतिहासको चर्चा गर्ने क्रममा उल्लेख गर्छन्, “देवशमशेरमा प्रजातान्त्रिक भावनाको रेखा र उदारता भएका कारण आफ्नै सहोदर भाइ चन्द्रशमशेरको षड्यन्त्रबाट उनले शासनच्युत हुनुपर्‍यो, देशबाटै निष्कासितसमेत हुनु पर्‍यो ।” चन्द्रशमशेरको शासनकाल सुरु हुनेबित्तिकै सुधार र उदारताको झिनो आशामा पनि तुषारापात भएको निष्कर्ष खिच्दै उनी लेख्छन्, “यिनको एकतिस वर्षसम्मको शासनकालमा नेपालमा कुनै अर्को पत्रिकाले जन्मने अवसर पाएन । भएको एक्लो गोरखापत्र पनि मर्नु न बाँच्नु भई अधमरो अवस्थामा रह्यो” (पृ.३१) । गोरखापत्रकै एक समयका प्रधान सम्पादक पौड्याल (२०२७) लेख्छन्, “स्वतन्त्र राष्ट्रको गौरव प्राप्त देश हुँदाहुँदै पनि आफ्नै निरङ्कुश शासकको नीतिले गर्दा नेपाली भूमिमा नेपाली पत्रपत्रिका फस्टाउन नसकेको कुरा यहाँ दोहो¥याइरहनु पर्दैन ।” जिनतिन राजधानीबाट गोरखापत्र निस्किरहेको थियो (पृ.३०) । तीन दशकभन्दा लामो समयपछि गोरखापत्रले फेरि केही तङ्ग्रिने अवसर पायो, साप्ताहिक रूपमा निस्कने गोरखापत्र जुद्धशमशेरको पालामा सातामा दुई पटक प्रकाशित हुने भयो । 

१७ सालमा पञ्चायती व्यवस्थाको सुरुवातसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाइयो तर गोरखापत्र त्यही बेलादेखि दैनिक अखबार बन्न पुग्यो । आजसम्म अनवरत रूपमा यो दैनिक अखबारका रूपमा बजारमा आइरहेको छ । ३६ सालको विद्यार्थी आन्दोलनका क्रममा भूगोलपार्कमा अवस्थित छापाखानामै आगलागी भएपछि यो केही दिन सानो आकारमा निस्कियो । त्यस आन्दोलनका क्रममा २०३६ साल जेठ ९ गते एउटा जत्थाले गोरखापत्र संस्थानमा गएर त्यहाँ रहेको टेम्पोमा आगो लगाउनुका साथै तल्लो तलामा रहेको कागजको बन्डलमा आगो लगाए (देवकोटा, २०३९, पृ.४७) । त्यो घटनापछिको एक साताभन्दा बढीको अवधिबाहेक २०१७ साल फागुन ७ गतेदेखि गोरखापत्र आजपर्यन्त ठुलो आकारको दैनिकका रूपमा हरेक दिन बजारमा आइरहेकै छ । 

काठमाडौँको सडकमा जुलुसै जुलुस उर्लिएको २०३६ सालको विद्यार्थी आन्दोलनको त्यो उत्कर्षका दिनमा गोरखापत्रका छापायन्त्रहरू मात्र क्षतिग्रस्त भएनन्, महानगरमा निषेधाज्ञासमेत जारी भयो तर त्यही निषेधाज्ञाकैबिचमा तीन अलग स्थानबाट गोरखापत्रका कृष्णभक्त श्रेष्ठ र मुकुन्द पराजुली अनि राइजिङ नेपालका प्रधान सम्पादक मनरञ्जन जोशीलाई सुरक्षाका साथ सिंहदरबार पु¥याइयो र त्यहीँ सामग्री तयार भए । प्राध्यापक पी खरेलले सम्झनुभए अनुसार श्री ५ को सरकारको छापाखानामा गोरखापत्र छापियो तर त्यस्तो सङ्कटमा समेत एक दिन पनि बन्द भएन । 

‘गोर्खापत्र’ लाई न देवशमशेरले आफ्नो सोच अनुसार चलेको देख्न पाए, न चन्द्रशमशेरले यसलाई पूरै बन्द गराउन सके । अनि १७ सालपछि यसलाई पञ्चायतको बलियो प्रचारयन्त्र बनाउने ध्येय पनि जेनतेन तीन दशकभन्दा बढी कायम रहन सकेन । ४६ सालपछि यसले एउटा कालखण्ड बेहोर्‍यो, २०६२/६३ सालपछि सामग्रीका दृष्टिले उही गोरखापत्र अर्कै बन्न पुग्यो । गोरखापत्रका पानाले यी सबै वृत्तान्त बताउँछन् । 

सम्भवतः गोरखापत्रका सबैभन्दा बढी समीक्षा स्वर्गीय कमल दीक्षितले नै गर्नुभएको छ । उहाँले देवशमशेरलाई हटाई चन्द्रशमशेर सत्तासीन भएपछि ‘गोर्खापत्र’ मा केकति परिवर्तन भयो भन्ने पनि चर्चा गर्नुभएको छ । ‘दीक्षित (२०६१) ले बिस वर्षअघि लेख्नुभएको थियो, “सत्तापरिवर्तन हुनासाथ आफ्नो बोली बदल्ने त्यस बानीलाई अहिले सन्तानब्बे वर्षको बुढो भइसकेको गोरखापत्रले अझ पनि फेर्न सकेको छैन,” उहाँ अझ थप्नुहुन्छ, “परम्परा भइसकेको छ यो बानी, नफेरोस् पनि गोरखापत्रले” (पृ.२३) । अधिकारी (२०५७) को विचारमा परिवर्तन गोरखापत्रका लागि नौलो प्रस्तावना होइन । उहाँ लेख्नुहुन्छ, “देशको जेठो यस अखबारले परिवर्तनका चरण पटक पटक पार गरेको छ । यसको स्वरूप ‘गोर्खापत्र’ बाट गोरखापत्रमा फेरिनु पनि परिवर्तनको परिप्रेक्ष्यमा एउटा सानो सङ्केत हो । शासक फेरिँदा, सञ्चालक बदलिँदा र सम्पादकमा हेरफेर हुँदा खेप्नु परेका परिवर्तनका क्रमहरू गोरखापत्रकै अभिलेखहरूमा अङ्कित छन् (पृ.३०) ।” यही हो गोरखापत्रको ‘नेचुरल हिस्ट्री’ वा स्वाभाविक इतिहास । नेपालको विविध कालखण्डमा उदाएका र अस्ताएका वा आजपर्यन्त अस्तित्वमा रहेका अनेक अखबार जस्तै विश्वका विभिन्न भूभागका अखबार जस्तै गोरखापत्रको पनि आफ्नै स्वाभाविक इतिहास छ, जस अन्तर्गत यसको सामाजिक इतिहासमा जस्तो माध्यमका रूपमा यसले समाजसँग गर्दै आएको अन्तर्क्रिया वा समाजमा पार्दै आएको प्रभावको होइन, बरु यसको जीवनचक्र र प्रविधिसँगै हुँदै आएको यसको उद्भवको कथा उजागर हुन्छ । 

विक्रम संवत् १९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रका रूपमा पहिलो पटक जनसमक्ष आएको गोरखापत्रले ४२ वर्षपश्चात् अर्थात् विसं २००८ साल असोज २९ गतेदेखि अर्धसाप्ताहिक रूपमा काँचुली फेर्‍यो । तत्पश्चात् २००३ साल पुस ८ गतेदेखि हप्ताको तीन पटक र २०१७ साल फागुन ७ देखि यो दैनिक रूपमा देखा पर्‍यो (शैली पुस्तिका, २०५५, पृ. अनुल्लेखित) । गोरखापत्रका पुराना अङ्कहरूको अध्ययन सर्वसाधारणका लागि अझै सहज हुन सकेको छैन । त्यसैले यसको स्वाभाविक इतिहासका सम्बन्धमा अझै मिहिन अध्ययन हुन बाँकी नै छ । शैली पुस्तिका (२०५५) मा उल्लेख गरिए अनुसार २०२१/२२ सालमा केही समय गोरखापत्रको सन्ध्याकालीन संस्करणसमेत प्रकाशित हुनुका अतिरिक्त आफ्नो सहप्रकाशनका रूपमा पहिलो अङ्ग्रेजी पत्रिका ‘दी नेपलिज पर्सपेक्टिभ’ विसं २०२१ मा प्रस्तुत गरिएको थियो (पृ. अनुल्लेखित) । गोरखापत्रको गति, प्रगति र आजसम्मको बाटो नै हो यसको स्वाभाविक इतिहास । 

स्कटिस ज्ञानोदय, जो १८ औँ शताब्दीको पछिल्लो आधा अवधिदेखि अर्को शताब्दीका कैयन् दशकसम्म विस्तारित थियो, त्यही बहस, वादविवाद, विचार र प्रकाशनको संयोगको कालखण्डमा नागरिक इतिहासका रूपमा ‘नेचुरल हिस्ट्री’ वा स्वाभाविक इतिहासको अवधारणाको जन्म भएको थियो । जो ‘नेचुरल’ इतिहास हो, ‘नेचर’ को इतिहास होइन । राजन (२००३) को विचारमा, ‘स्कटिस ज्ञानोदय’ मा स्वाभाविक इतिहासले एक प्रकारको सामाजिक इतिहासको नाम पायो : सिकार गर्ने र सङ्कलन गर्नेदेखि नागरिक र व्यापारिक समाजसम्मको मानव जातिको प्रगतिको एक प्रत्यक्षवादी इतिहास (पृ.१८७) । ‘स्कटिस ज्ञानोदय’ मा स्वाभाविक इतिहासको अर्थ नागरिक इतिहास बन्न पुग्यो । गोरखापत्रको स्वाभाविक इतिहास पनि अवलोकन वा प्रत्यक्षवादी दृष्टि, वस्तुनिष्ठ अध्ययनका आधारमा प्रस्तुत गर्न सकिन्छ । त्यसैले यसको स्वाभाविक इतिहासको अध्ययन एउटा अखबारका रूपमा यसको स्वाभाविक बहाव र यहाँसम्मको यात्राको समीक्षा गर्ने प्रयत्न हो ।

गोरखापत्र प्रकाशन हुन थालेको दुई दशकपछि ‘अमेरिकन जर्नल अफ सोसोलोजीमा’ एउटा लेख छापिएको छ, ‘दी नेचुरल हिस्ट्री अफ दी न्युजपेपर’ । लेखकले पक्कै गोरखापत्र पढेका थिएनन् तर उनको पङ्क्ति पङ्क्ति पढ्दा गोरखापत्रको स्मरण हुन्छ, प्रेसको ‘नेचुरल हिस्ट्री’ भनेको बाँचिरहेको यो प्रजातिको इतिहास हो । उनी थप्छन्, “यो ती अवस्थाको लेखाजोखा हो जस अन्तर्गत आज अस्तित्वमा रहेको अखबारको वृद्धि भएको छ र यसले एउटा आकार ग्रहण गरेको छ (पार्क, १९२३, पृ.२७३) ।” गोरखापत्रले पनि आजसम्म आइपुग्दा आफ्ना आरोहअवरोहबिच विशिष्ट रूप र आकार ग्रहण गरेको छ । 

स्वाभाविक इतिहास र सामाजिक इतिहासबिचको मुख्य भिन्नता दुवैको जोड वा केन्द्रविन्दु र दृष्टिकोणमा रहेको हुन्छ । पहिलो, गोरखापत्रको स्वाभाविक इतिहास माध्यमका रूपमा यसको उद्भव, जीवनचक्र र प्राविधिक परिवर्तनमा केन्द्रित छ । जस अन्तर्गत यसको सुरुवात कसरी भयो, कसरी विकसित भयो, समयक्रममा यसका रूप, रङ र ढाँचा, उत्पादन प्रविधि र वितरण प्रणाली जस्ता आन्तरिक गति अनुकूल यो कसरी अनुकूलित र रूपान्तरित हुँदै आयो भन्ने अध्ययन गर्न सकिन्छ । यो दृष्टिकोणले एकाइ वा वस्तुका रूपमा माध्यमको इतिहास बताउँछ, गोरखापत्रको उद्भव र विकासको कथा बताउँछ । उदारणका लागि कागजमा पुरातन मुद्रणयन्त्रको छपाइदेखि ठुलो आकारमा अफसेट मुद्रण र यसको डिजिटल संस्करणसम्मको अध्ययन प्राकृतिक इतिहासको पानामा उल्लेख गरिन्छ । दोस्रो, गोरखापत्रको सामाजिक इतिहासको दृष्टिमा समाजमा यसको प्रभाव र सामाजिक परिवर्तनले कसरी समयक्रममा यसलाई प्रभावित तुल्याउँदै ल्यायो भन्ने कुरामा जोड दिइन्छ । जस अन्तर्गत जनधारणालाई आकार प्रदान गर्न गोरखापत्रले निर्वाह गरेको भूमिका, राजनीति, संस्कृति, र सामाजिक आन्दोलनसँगको यसको अन्तरसम्बन्धको अन्वेषण गर्न सकिन्छ र विभिन्न समूहले यसका अन्तर्वस्तुमा आधारित भएर पाठक र योगदानकर्ताका रूपमा कसरी अन्तर्क्रिया गर्छन् भन्ने अन्वेषण गर्न सकिन्छ । यस दृष्टिकोण अन्तर्गत गोरखापत्रले कसरी नेपाली भाषाको परिमार्जन र प्रसार अभियानलाई सघायो भन्ने चर्चा गर्न सकिन्छ ।  

प्राकृतिक इतिहासका सन्दर्भमा बढी वर्णनात्मक र कालानुक्रमिक दृष्टिकोण अपनाइन्छ, समाचारपत्रका कच्चा पदार्थ, प्रविधि र संरचनागत परिवर्तनका क्रममा आएको प्रगतिलाई सूचीकृत गरिन्छ । यो प्रायः प्राविधिक नवप्रवर्तन, उत्पादन प्रक्रिया र बाह्य परिस्थितिसँगको माध्यमको अनुकूलनमा केन्द्रित हुन्छ तर सामाजिक इतिहासका अध्येताले मानव र सामाजिक आयाममा केन्द्रित हुँदै इतिहास बढी विश्लेषणात्मक र व्याख्यात्मक दृष्टिकोण अघि बढाउँछ । सामाजिक इतिहासको अध्ययनले जनताको जीवनशैलीले अखबारको प्रभावबाट आकार ग्रहण गर्छन्, सामाजिक बनोटमा उनीहरूको भूमिका अखबारबाट कसरी प्रभावित हुन्छन्, प्रकाशक, सरकार र जनताबिचको शक्तिको गतिविज्ञानलाई अखबारले कसरी प्रभावित गर्छन् जस्ता सवालको खोज्न सघाउँछ । जनधारणामा गोरखापत्रको प्रभाव जस्ता विषय सामाजिक इतिहासको वृत्तमा पर्दछ । 

गोरखापत्रको स्वाभाविक इतिहासमा यसको ढाँचामा हुँदै आएको परिवर्तनको चर्चा गरिन्छ । सामाजिक इतिहासमा जस्तो कुनै सामाजिक–सांस्कृतिक सवालमा उठेका स्वरलाई अखबारले अझ ठुलो पारेको विषय स्वाभाविक इतिहासको वृत्तमा पर्दैन तर यी दुवै परिप्रेक्ष्यले नेपाली समाजमा गोरखापत्रको भूमिकाको समग्रतामा बोध गर्न एकअर्काको परिपूरण गर्छन् । जस्तो दीक्षित (२०६१) विक्रम संवत् १९९० देखि २०१७ सम्मको अवधिलाई गोरखापत्रको माध्यमिक काल मान्दछन् र उनको विचारमा त्यस अवधिमा यसले देशको इतिहास बोकेर हिँड्नुबाहेक नेपाली वाङ्मयको पनि लोभलाग्दो सेवा गरेको छ । उनी लेख्छन्, “गोरखापत्रको त्यो काल विद्यावारिधिको शोध विषय बन्न सक्छ (पृ.३९) ।” गोरखापत्रको समग्र इतिहासका विभिन्न कालखण्ड र प्रवृत्तिमाथि विद्यावारिधि तहका कैयन् शोध हुन सक्छन् । 

एक समय थियो, ‘एडिटर्को राय स्तम्भ’ अन्तर्गत ‘गोर्खापत्र’ को राय आउँथ्यो । हुन त त्यसबेला सम्पादकका रूपमा ‘गोर्खापत्र’ मा कसैको नाम छापिँदैन थियो तर अहिलेको भाषामा सम्पादकीय भन्न मिल्ने ‘एडिटर्को राय’ भने छापिन्थ्यो । दीक्षित (२०१४) का अनुसार राणा शासकको इजाजत नभएका कारण चिरञ्जीवी शर्मा पौड्यालको नाम एडिटर वा सम्पादकका रूपमा छापिँदैन थियो तर सम्पादक उनै थिए र आफ्नो सम्पादकत्व कालमा उनले लेख्ने सम्पादकीयहरूमा उनी कसैको डर नमानी सत्यका पक्षमा कलम चलाउँथे । उदाहरणका रूपमा दीक्षित १९५९ असार सुदी २ को गोरखापत्रको सम्पादकीयको उल्लेख गर्दछन्, जसमा पौड्यालले लेखेका छन्, “मुलुकको धन व्यापारमा रहँदोरहेछ । युरोपमा पनि जुन मुलुकको व्यापार बढ्दै जान्छ धन पनि बढ्दै गयाको देखिन्छ ।” उनी अझ व्याख्या गर्दछन्, “१२ वर्षअघि जापानको नामै सुनिन्नथ्यो । अब तेही मुलुकले व्यापारमा ध्यान दिएको हुनाले धन बढी, ठूलो पनि तेही मुलुक गनियो, लडाकी पनि तेही मुलुक गनियो । विद्याको प्रचार बढ्दैछ ।” उनी अझ थप्छन्, “तर अफसोस छ कि हाम्रो मुलुकको मन व्यापारमा मुलुक धनी होला, आर्काका मुलुकमा चल्न सक्ने माल यताबाट केही लगी मुलुकमा अरु मुलुकको धन आउला भन्ने आशा त परै जावस आफ्नै लाउने खाने जीवनवृत्ति पनि आफ्नै मुलुकबाट चलाउनाको उधोग कोही गर्दैन (पृ.९) ।” अन्तिम वाक्यका कारण उनी शासकको कर्के नजरमा परे । 

त्यसपछि पनि कुनै सम्भावित परिणामको पर्वाह नगरी १९५९ मार्ग वदी १० मा उनले लेखे, “सबैले विचार गर्नुपर्छ कि सके दुनियाको अथवा आफ्नो मुलुकमा उपकार गर्नुपर्ने कति काम छन्, आफू बसेका सहरमा कति मानिस वेकम्मा भोकले मरिरहेकाछन् अरु कति केही उधोग पाई अर्काको कमारा कमारी भएर दुख पाएर जनम बिताएका छन, कति विधा नपाएर पशुजस्ता भएर रहेका छन, कति वलियाका हातबाट थिचोमिचोमा परेकाछन् ।” उनले अझ बढेर लेखे, “मानिसले यस्तो काममा एउटा काम लिएर तरक्की गर्नाको कोशिस गरे केही फाइदा गर्न सक्दछ (पृ.१०) ।” गोरखापत्रको स्वाभाविक इतिहास यही हो, ‘एडिटर्को राय’ को लेखनी शासकवर्गलाई मन परेन । दीक्षित (२०१४) लेख्छन्, “त्यसैले केही समयपछि यिनकै सम्पादनकालमा ‘एडिटर्को राय’ भन्ने स्तम्भ गोरखापत्रबाट हटाइयो (पृ.१०) । गोरखापत्रको स्वभाव यस्ता अनेक घटना परिघटनामा उजागर हुँदै आएका छन् । 

पार्क (१९२३) को विचारमा अखबारको इतिहास छ, तर यसको, त्यसै गरी एक प्राकृतिक इतिहास छ । जसरी यो प्रेस अस्तित्वमा छ, यो हाम्रा नैतिकतावादीहरूले कहिलेकाहीँ भन्ने गरे जस्तो होइन, जीवित मानिसको कुनै पनि सानो समूहको सुविचारित उत्पादन होइन, यो त एक ऐतिहासिक प्रक्रियाको उपज हो जहाँ थुप्रै व्यक्तिले, उनीहरूको मेहनतको अन्तिम फलको परिकल्पना नगरी भाग लिए (पृ.२७३) । आज गोरखापत्र जुन अस्तित्वमा छ यो देवशमशेरको परिकल्पना, चन्द्रशमशेरको सोच, राजा महेन्द्रको आकाङ्क्षा वा कसैको पनि योजनाको उपज होइन । यो बेग्लै गोरखापत्र हो । 

दीक्षित (२०६१) लेख्छन्, “देवशमशेर महाराजले गोरखापत्र सुरु गर्ने सिलसिलामा नेपाल राज्यभरिका गढी गौंडा गोश्वारामा खड्गनिसान पठाएका थिए रे–आफ्नो इलाकामा भएगरेका खबर सूचना पठाइदिन । त्यही पाएर होला गोरखापत्रका सुरुका अंकहरूमा मनग्गे खबर पहाडतराई मोफसलतिरका छापिएका देखिन्छन् ।” चन्द्रशमशेरको उदयपछि त्यस्ता खबर कम छापिएका छन् (पृ.११) । त्यसैले पार्क (१९२३) को ठहर गोरखापत्रका सन्दर्भमा पनि मिल्दोजुल्दो लाग्दछ, जो भन्छन्, “अखवार, आधुनिक शहरजस्तै, सम्पूर्ण रुपमा तर्कसंगत उत्पादन होइन, कसैले पनि यो जस्तो छ त्यस्तो बनाउन भनेको होइन । व्यक्ति र मानिसहरूको पुस्तौंको यसमाथि नियन्त्रण गर्ने र उनीहरूको आफ्नै हृदयअनुसारको केही बनाउने प्रयत्नहरू हुँदाहुँदै, यो निरन्तर बढिरह्यो र आफ्नो बाटोमा वेहिसाब परिवर्तित भइरह्यो (पृ.२७३) ।” आज निकट अतीतलाई सम्झौँ न, गोरखापत्र कसरी यसको नैतिक उपस्थितिमा भिन्न देखिँदै आएको छ । देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर कसैलाई थाहा हुने कुरै भएन, डिजिटल उपस्थिति के हो ? आज त गोरखापत्रको भौतिक उपस्थिति कागज सँगसँगै डिजिटल स्पेसमा पनि छ । यही हो, यसको स्वाभाविक इतिहास वा यसको स्वभाव । 

सन्दर्भ सामग्री 

  • अधिकारी, ध्रुवहरि (२०५७) । एक्काइसौँ शताब्दीमा गोरखापत्रको स्वरूप । सम्प्रेषण । काठमाडौँ : नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखा ।
  • दीक्षित, कमल (२०१४) । चिरञ्जीवीको कलम । आफ्नु कथा, लेखक चिरञ्जीवी शर्मा  पौड्याल  । प्रकाशक : श्रीमती विद्यादेवी आ.दी. । 
  • देवकोटा, ग्रीष्मबहादुर (२०५१) । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, दोस्रो संस्करण । काठमाडाैँ : साझा । 
  • देवकोटा, ग्रीष्मबहादुर (२०३९) । नेपालको राजनीतिक दर्पण (जनमतसङ्ग्रह र त्यसपछि) । काठमाडौँ : उमेशबहादुर देवकोटा । 
  • दीक्षित, कमल (२०६१) । शाखासन्तान । ललितपुर : जगदम्बा प्रकाशन । 
  • पार्क, रोबर्ट ई.(१९२३) । दी नेचुरल हिस्ट्री अफ द न्युजपेपर । अमेरिकन जर्नल अफ सोसोलोजी, भोल. २९, न. ३, नोभेम्बर १९२३ । 
  • पौड्याल, रामराज (२०२७) । पत्रकारिता । काठमाडौँ : लुनकरणदास चौधरी र विनयकुमार अग्रवाल ।
  • स्कट, सिपी (१९२१) । ‘ए हन्ड्रेड एयर्स ।’ दी मेनचेस्टर गार्जियन । 
  • राजन, तिलोत्तमा (२००३) । स्पिरिट्स साइकोएनलाइसिस : नेचुरल हिस्ट्री, दी हिस्ट्री अफ नेचर, एन्ड रोमान्टिक हिस्टोरियोग्राफी । ‘युरोपियन रोमान्टिक रिभ्यु’, २००३, भोल.१४, पृ.१८७–१९६ । राउट्लेज । 

लेखक त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख हुनुहुन्छ । 

  प्रस्तुत आलेख ‘आजको गोरखापत्र कसैको परिकल्पनाको उपज होइन ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।

Author
डा. कुन्दन अर्याल

लेखक त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख हुनुहुन्छ । 

लेखक बाट थप