• २६ पुस २०८२, शनिबार

डिजिटल प्रविधिसँग विद्यालय

blog

विश्वव्यापी रूपमा पछिल्लो दशकमा शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ । अब ज्ञानको पहुँच कुनै भौगोलिक सीमामा सीमित छैन । डिजिटल प्रविधि, इन्टरनेट र स्मार्ट उपकरणको तीव्र विकासले शिक्षामा नयाँ युगको सुरुवात गरेको छ । नेपालले पनि आफ्नो शिक्षा प्रणालीलाई डिजिटल युगसँग अनुकूल बनाउने दिशामा प्रयास गरिरहेको छ । डिजिटल शिक्षा भन्नाले कम्प्युटर, इन्टरनेट, स्मार्टफोन, डिजिटल सामग्री तथा अनलाइन प्लेटफर्मको प्रयोगमार्फत ज्ञान प्राप्ति र सिकाइ प्रक्रिया सञ्चालन गर्नु हो । यसले समय र स्थानको सीमालाई तोडेर शिक्षालाई अझ लचिलो, पहुँचयोग्य र प्रभावकारी बनाउँछ । डिजिटल शिक्षामा ज्ञान प्राप्ति, अभ्यास, मूल्याङ्कन र सहकार्यका सबै गतिविधि डिजिटल माध्यमबाट सम्पन्न गरिन्छ ।

शिक्षाशास्त्री डा. जेम्स बेरीका अनुसार, डिजिटल उपकरण र अनलाइन स्रोतको प्रयोगले विद्यार्थीको सिकाइ प्रक्रियामा सक्रियता र स्वतन्त्रता बढाउँछ, जसले उनीहरूलाई पारम्परिक शिक्षाभन्दा फरक र व्यापक दृष्टिकोण प्रदान गर्छ । नेपालमा परम्परागत शिक्षा प्रणाली लामो समयदेखि कक्षा कोठामा सीमित रहँदै आएको छ । यसमा शिक्षककेन्द्रित पढाइ, पाठ्यपुस्तकमा अत्यधिक निर्भरता र परीक्षामुखी मूल्याङ्कनलाई प्रमुख आधार मानिने गरिएको छ । आजको डिजिटल युगमा केवल पाठ्यपुस्तक र कक्षा कोठाबाट मात्र सिकाइ पर्याप्त हुँदैन ।

डिजिटल प्रविधिको प्रयोगमार्फत विद्यार्थीले विविध स्रोत, अन्तर्राष्ट्रिय ज्ञान तथा नवीनतम शैक्षिक सामग्रीमा सहजै पहुँच प्राप्त गर्न सक्छन् । यसले केवल जानकारीमा सीमित नरही सोच्ने, विश्लेषण गर्ने र सिर्जनात्मक समाधान निकाल्ने क्षमतामा समेत वृद्धि गर्छ । डिजिटल शिक्षाले विद्यार्थीलाई स्वतन्त्र अध्ययन गर्न र विश्वव्यापी दृष्टिकोण विकास गर्न सहयोग पु¥याउँछ, जसले उनीहरूको समग्र सिकाइ अनुभवलाई अझ प्रभावकारी बनाउँछ । डिजिटल शिक्षा प्रविधिको प्रयोग मात्र नभई विद्यार्थीको बौद्धिक विकास र भविष्यको तयारीसँग प्रत्यक्ष सम्बन्धित छ । नेपालले यस अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्न सके शिक्षाको गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार ल्याउन सक्छ ।

डिजिटल शिक्षाको आवश्यकता

आजको शिक्षण सिकाइ प्रक्रियामा डिजिटल शिक्षा अपरिहार्य बन्दै गएको छ । पहिलो, इन्टरनेट र डिजिटल प्लेटफर्ममार्फत विद्यार्थीले विश्वका कुनै पनि देशको ज्ञान, अनुसन्धान र पाठ्यक्रमसम्बन्धी सामग्री सजिलै प्राप्त गर्न सक्छन् । यसले विद्यार्थीलाई केवल तथ्य सिकाउन नभई, परम्परागत शिक्षाभन्दा बढी व्यापक दृष्टिकोण र आलोचनात्मक सोच विकास गर्न मद्दत गर्छ । 

दोस्रो, नेपालको शिक्षा प्रणालीमा ग्रामीण र सहरी क्षेत्रबिच ठुलो असमानता छ । शिक्षक तथा शैक्षिक स्रोतको अभाव भएका क्षेत्रका विद्यार्थीले परम्परागत शिक्षा प्रणालीबाट पूर्ण लाभ लिन सक्दैनन् । डिजिटल शिक्षाले यस्ता विद्यार्थीसम्म ज्ञान र सिकाइको पहुँच घरमै पु¥याउन सक्छ । अनलाइन कक्षा, भिडियो लेक्चर तथा ई स्रोतले शिक्षामा समावेशिता सुनिश्चित गर्न सहयोग पु¥याउँछन् ।

तेस्रो, प्रत्येक विद्यार्थीको सिक्ने क्षमता, शैली र रुचि फरक फरक हुन्छ । डिजिटल शिक्षाले विद्यार्थीलाई आफ्नै गति अनुसार विषयवस्तु बुझ्न, अभ्यास गर्न र पुनःअध्ययन गर्न अवसर दिन्छ । यसले सिकाइ प्रक्रियालाई थप अनुकूल, लचिलो र प्रभावकारी बनाउँछ । डिजिटल शिक्षा विद्यार्थीको व्यक्तिगत विकास र शिक्षाको गुणस्तर वृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने माध्यम हो ।

डिजिटल शिक्षाको वर्तमान अवस्था

नेपालको शिक्षा प्रणाली गुरुकुल आश्रमबाट सुरु भई दूरशिक्षा हुँदै अहिलेको विद्युतीय तथा मोबाइल सिकाइसम्म आइपुग्दा उल्लेखनीय परिवर्तन आएको छ । खरिपाटीदेखि ई पाटीसम्मको प्रयोगले शिक्षण–सिकाइमा प्रविधिको प्रभाव र पहुँचलाई व्यापक बनाएको छ । सरकारी तथा गैरसरकारी विद्यालयहरूले कम्प्युटर कक्षा, ई लर्निङ प्लेटफर्म र डिजिटल पुस्तकालय स्थापना गर्ने प्रयास गरिरहेका छन् । विशेष गरी कोभिड–१९ महामारीको समयमा अनलाइन कक्षा, भिडियो लेक्चर र विभिन्न डिजिटल स्रोतहरूको प्रयोग तीव्र रूपमा बढ्यो । यसले शिक्षक र विद्यार्थी दुवैलाई प्रविधिमैत्री बनाउने अवसर प्रदान ग¥यो । शिक्षण–सिकाइका वैकल्पिक अभ्यासहरू विकास गर्न सहयोग पु¥यायो ।

शिक्षक सक्षमताको प्रारूप, २०७२ अनुसार नेपालले ‘सूचना तथा सञ्चार प्रविधि’ लाई शिक्षकका आठ प्रमुख सक्षमतामध्ये एकका रूपमा स्वीकार गरेको छ । सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ ले नेपाललाई डिजिटल शासनमा अग्रपङ्क्तिमा पु¥याउने, ९० प्रतिशत नागरिकलाई डिजिटल साक्षरता प्रदान गर्ने, सबै नेपालीलाई इन्टरनेट पहुँच र सरकारी सेवामा ८० प्रतिशत अनलाइन सुविधा उपलब्ध गराउने लक्ष्य राखेको थियो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले आइसिटीलाई शैक्षिक रूपान्तरणका लागि विषय, माध्यम र सामग्रीको रूपमा प्रयोग गर्ने, पाठ्यक्रम तथा विद्युतीय पाठ्यसामग्री विकास गर्ने, डिजिटल साक्षरता र प्रविधिमूलक सिकाइ सहजीकरणका लागि अन्तर्क्रियात्मक सामग्री तयार गर्ने र प्रविधिमा आधारित सिकाइ वातावरण निर्माणमा प्राथमिकता दिने कुरा स्पष्ट गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ‘म्यानेजमेन्ट सिस्टम रिपोर्ट’ अनुसार ८८–९१ प्रतिशतसम्म नेपाली नागरिकलाई ‘इन्टरनेट’ पहुँच उपलब्ध छ, जसमा मोबाइल ‘इन्टरनेट’ पहुँचले सबैभन्दा ठुलो हिस्सा ओगटेको देखिन्छ । तर पनि अधिकांश विद्यालयमा पर्याप्त कम्प्युटर, स्थिर इन्टरनेट, प्रशिक्षित शिक्षक तथा प्राविधिक जनशक्तिको अभाव देखिन्छ । विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रका विद्यालयमा विद्युत् आपूर्ति र इन्टरनेटको अस्थिरता, साथै शिक्षकहरूको डिजिटल उपकरण र प्लेटफर्म प्रयोगमा सीमित दक्षता डिजिटल शिक्षाको प्रभावकारितामा मुख्य बाधकका रूपमा देखिएका छन् ।

डिजिटल शिक्षामा विद्यमान डिजिटल डिभाइड, पहुँच र गुणस्तरबिचको असमानताले सबै विद्यार्थीलाई समान अवसर प्राप्त हुन सकेको छैन । केवल प्रविधि उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन; शिक्षक तालिम, भौतिक तथा डिजिटल पूर्वाधार र समावेशी पहुँचको विकास पनि अनिवार्य छ । हाल नेपाल डिजिटल शिक्षा विकासको प्रारम्भिक चरणमै रहेकाले यसलाई दिगो र प्रभावकारी बनाउन सरकार, विद्यालय र समाजले समन्वित प्रयासमार्फत आधारभूत पूर्वाधार, गुणस्तरीय डिजिटल सामग्री र निरन्तर शिक्षक प्रशिक्षण सुनिश्चित गर्नुपर्ने आवश्यकता छ ।

डिजिटल शिक्षा प्रवर्धनका उपाय

डिजिटल शिक्षाको प्रभावकारिताका लागि शिक्षकको क्षमता विकास सबैभन्दा महत्वपूर्ण छ । शिक्षकलाई डिजिटल उपकरण, अनलाइन प्लेटफर्म र ई स्रोतको प्रभावकारी प्रयोगमा दक्ष बनाउँदा विद्यार्थी पनि प्रविधिमैत्री हुन्छन् । विद्यालयले निरन्तर विद्युत् आपूर्ति, पर्याप्त कम्प्युटर, ट्याब्लेट, प्रोजेक्टर र स्थिर इन्टरनेट सुनिश्चित गर्नु पर्छ, जसले सक्रिय र प्रभावकारी सिकाइको अवसर दिन्छ । डिजिटल शिक्षा सबै विद्यार्थीलाई समान अवसर दिनु पर्छ र ग्रामीण सहरी डिजिटल डिभाइड घटाउन सरकार, विद्यालय र समाजले साझा पहल गर्नु पर्छ । 

डिजिटल शिक्षा मात्र तथ्य–ज्ञान दिन सीमित छैन; यसले समस्या समाधान, नवप्रवर्तन र सिर्जनात्मक सोच विकासमा सहयोग गर्छ । नेपाली भाषामा पुस्तक, भिडियो, एनिमेसन र इन्टरएक्टिभ सामग्री तयार गर्न आवश्यक छ, जसले विद्यार्थीको व्यावहारिक र सिर्जनात्मक ज्ञान वृद्धि गर्छ । यसले विद्यार्थीमा आत्मनिर्भरता, स्वसक्रियता र जिम्मेवारीबोध विकास गराउँछ र विश्वव्यापी दृष्टिकोण प्रदान गर्छ । शिक्षकले अनलाइन मूल्याङ्कन र निरन्तर अनुगमनमार्फत प्रगतिमा प्रभावकारी विश्लेषण गर्न सक्छन् । डिजिटल शिक्षा विद्यार्थीलाई भविष्यको रोजगारीका लागि आवश्यक डिजिटल सिप र व्यावहारिक दक्षता विकास गर्न सहयोगी हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास

विश्वका धेरै देशले डिजिटल शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छन् । दक्षिण कोरियामा विद्यार्थीलाई प्रारम्भिक कक्षाबाटै डिजिटल उपकरण र अनलाइन प्लेटफर्म प्रयोग गरेर सिकाइन्छ, जसले उनीहरूमा सुरुमै प्रविधि दक्षता विकास गर्न महìवपूर्ण भूमिका खेल्छ । फिनल्यान्डमा शिक्षकहरूलाई नियमित डिजिटल तालिम प्रदान गरिन्छ र गुणस्तरीय अनलाइन सामग्री उपलब्ध गराइन्छ, जसका कारण सिकाइ प्रव्रिmया अझ सहज, प्रभावकारी र विद्यार्थी–केन्द्रित बन्न पुगेको छ । संयुक्त राज्य अमेरिका र क्यानडामा अनलाइन कक्षा, ई लर्निङ प्लेटफर्म र डिजिटल पुस्तकालयको प्रयोग गरी विद्यार्थीलाई आफ्नो गति र क्षमता अनुसार सिक्ने अवसर दिइन्छ । यसले विद्यार्थीको रुचि, क्षमता र सिक्ने शैली अनुसार अध्ययन प्रक्रिया अनुकूल बनाउन सहयोग पु¥याउँछ ।

प्रशिक्षित शिक्षक, पर्याप्त डिजिटल पूर्वाधार, गुणस्तरीय सामग्री, र सबैका लागि समावेशी पहुँच नै डिजिटल शिक्षाको सफलताका प्रमुख आधार हुन् । त्यसैले नेपालमा डिजिटल शिक्षा प्रभावकारी बनाउन सर्वप्रथम शिक्षक तालिम, पूर्वाधार सुदृढीकरण, र गुणस्तरीय डिजिटल सामग्री विकासमा विशेष प्राथमिकता दिन आवश्यक छ ।

निष्कर्ष

नेपालको शिक्षामा डिजिटल प्रविधिको समावेश अब विकल्प होइन, अनिवार्य आवश्यकता बनेको छ । विश्व द्रुत गतिमा प्रविधिमय बन्दै गएको अवस्थामा विद्यालयहरूले समय अनुकूल रूपान्तरण गर्न नसके विद्यार्थी आवश्यक ज्ञान, सिप र अवसरबाट पछि पर्न सक्छन् । त्यसैले सरकार, स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र समुदाय सबैले डिजिटल शिक्षा प्रवर्धनलाई साझा प्राथमिकताका रूपमा स्वीकार गर्नु पर्छ ।

डिजिटल शिक्षाको सफल कार्यान्वयनका लागि व्यावहारिक शिक्षक तालिम, सुदृढ प्रविधिगत पूर्वाधार, गुणस्तरीय डिजिटल सामग्री, र सबै बालबालिकाका लागि समावेशी पहुँच अनिवार्य आधार हुन् । यी पक्ष सुनिश्चित गर्न सकेमा विद्यार्थीले २१ औँ शताब्दीका समस्या–समाधान क्षमता, आलोचनात्मक सोच, डिजिटल साक्षरता र नवप्रवर्तनशीलता जस्ता महìवपूर्ण सिप विकसित गर्न सक्ने छन् ।

डिजिटल शिक्षा कम्प्युटर वा इन्टरनेटको प्रयोग मात्र होइन; यो सिकाइलाई प्रभावकारी बनाउने र भविष्यका लागि सक्षम नागरिक तयार पार्ने सशक्त माध्यम हो । दीर्घकालीन शैक्षिक रूपान्तरणका लागि आवश्यक नीति, लगानी र सामुदायिक सहभागितासहित डिजिटल शिक्षालाई प्रभावकारी रूपमा लागु गर्नु अहिलेको साझा दायित्व हो ।