• २९ फागुन २०८२, शुक्रबार

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

blog

काबुल, फागुन २९ गते । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ । 

दुई छिमेकी मुलुकबिच जारी सैन्य तनाव तेस्रो हप्तामा प्रवेश गरेका बेला यस्तो आरोप सार्वजनिक भएको हो । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानका विमानले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त डिपोबाट नागरिक विमानका साथै संयुक्त राष्ट्रसङ्घका उडानलाई समेत इन्धन आपूर्ति हुँदै आएको थियो ।

यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । पछिल्ला हप्तामा पाकिस्तान र अफगानिस्तानबिच सैन्य तनाव तीव्र बनेको छ । फेब्रुअरीको अन्त्यदेखि दुवै पक्षले एक अर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । काबुलले सीमा क्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफ स्वरूप आफ्ना बलले पाकिस्तानी चौकीमा प्रहार गरेको बताउँदै आएको छ ।

यता पाकिस्तानले भने आफ्ना कारबाही पाकिस्तानी तालिबान र सीमावर्ती क्षेत्रमा सक्रिय उनीहरूको समर्थन सञ्जाललाई लक्षित गरी गरिएको दाबी गर्दै आएको छ । अफगानिस्तानले भने त्यस्तो समूहलाई औपचारिक रूपमा मान्यता दिएको छैन । दुवै पक्षले पछिल्ला वर्षकै सबैभन्दा घातक भिडन्त भएको दाबी गर्दै आएका छन् । इस्लामाबादले त हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ जस्तै परिस्थिति भएको रूपमा व्याख्या गरेको छ ।

मुजाहिदले आफ्नो वक्तव्यमा पाकिस्तानी आक्रमणले पक्तिया, पक्तिका लगायत विभिन्न प्रान्तका नागरिक क्षेत्र र निर्जन स्थानलाई निशाना बनाएको उल्लेख गर्दै ती आक्रमणको ‘जवाफ नदिइकन नजाने’ चेतावनी दिनुभयो । काबुल प्रहरीका प्रवक्ता खालिद जादरानका अनुसार राजधानीमा भएका आक्रमणका कारण बालबालिकासहित कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

देशका अन्य भागमा कति क्षति भयो भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक भएको छैन । यसैबिच, चीनका विशेष दूत युए सियाओओङ काबुल भ्रमणपछि इस्लामाबाद पुगेको समयमा पनि क्षेत्रीय सुरक्षा र आतङ्कवादी समूहको खतरा मुख्य छलफलको विषय बनेको थियो । अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूत मोहम्मद सादिकले एक्समा लेख्दै उहाँले चिनियाँ दूतसँग भेटेर तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) र पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (इटिआइएम) जस्ता समूहले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल गरेको बताउनुभएको छ । दुवैले स्थायी शान्ति र स्थिरताका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सहमति जनाएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट संयम अपनाउन गरिएको बारम्बारको आग्रहले भने अहिलेसम्म खास प्रभाव पार्न सकेको देखिँदैन । पाकिस्तानले यसअघि आफ्ना आक्रमण केवल ‘खवारीज’ नामले सम्बोधन गर्ने प्रतिबन्धित पाकिस्तानी तालिबान लडाकूलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । इस्लामाबादले अफगानिस्तानको तालिबान सरकारमाथि उक्त समूहलाई शरण दिएको आरोप लगाउने गरेको छ, तर काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र र सीमावर्ती क्षेत्रमा आक्रमण बढाएको पाकिस्तानको दाबी छ । इस्लामाबादले अफगान भूभागबाट सञ्चालित टिटिपी र अन्य आतङ्कवादी समूहलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएसम्म आफ्नो सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ ।

हालको सैन्य टकरावले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामसमेत अन्त्य गरिदिएको छ । कतारमा हस्ताक्षर भएको उक्त युद्ध विरामपछि इस्तानबुलमा छ दिनसम्म वार्ता भएको थियो, जसले युद्धविराम विस्तार गर्ने र नोभेम्बरमा तेस्रो चरणको वार्ता गर्ने सहमति गराएको थियो । तर पछिल्ला झडपले फेरि दुई छिमेकी मुलुकलाई युद्धको नजिक पुर्याएको सङ्केत दिएका छन् । रासस/एपी