• २९ फागुन २०८२, शुक्रबार

मुस्ताङमा मजदुरका लागि गाउँमै स्वास्थ्य सेवा

blog

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, ग्यतङथाङ्कमा मजदुरलाई लक्षित स्वास्थ्य शिविर । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), फागुन २९ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, ग्यतङथाङ्कमा ज्यालामजदुरी गर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङका रामबहादुर कामीले वडाबाट खटिएका स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परीक्षण गराई औषधि लिनुभयो ।

स्थानीयको घर र खेतबारीमा काम गर्न परिवारका सदस्यसहित मुस्ताङ आउनुभएका कामीले बिरामी हुँदा वडाबाट खटिएका स्वास्थ्यकर्मीको जाँच र औषधि वितरणले उपचारमा खर्च गर्नु परेको छैन ।

कामीजस्तै ग्यतङथाङ्क गाउँमा स्थानीयको घर तथा खेतबारीको जिम्मा लिएर बसेका जिल्ला बाहिरका मजदुरको उपचार तथा नियमित खोपका लागि स्वास्थ्यकर्मी गाउँमै पुग्ने गरेकाले राहत मिलेको छ ।

मजदुर कामी भन्नुहुन्छ, “यहाँ जिल्ला बाहिरबाट आउनेलाई खोजीखोजी उपचार हुन्छ, उपचारका लागि सदरमुकाम जोमसोम जानुपर्ने बाध्यता अन्त्य भएको छ ।” 

कागबेनीमा म्याग्दी, बागलुङसहित देशका विभिन्न जिल्लाबाट होटल तथा कृषि, विकास निर्माणका क्षेत्रमा काम गर्न आएका मजदुरलाई वडा कार्यालयको सक्रियतामा स्वास्थ्य परीक्षण तथा औषधि वितरण हुने गरेको छ । 

ग्यतङथाङ्क गाउँमा जिल्ला बाहिरबाट आएर मजदुरी गर्ने २२ जनाको उपचार गरिएको छ । वडा अध्यक्ष कर्म घ्यचो गुरुङले मजदुरीका लागि वडाभित्र आउने सबैलाई स्थानीय सरह स्वास्थ्य उपचार, शिक्षा लगायतका आधारभूत आवश्यकतामा समानता रहेको बताउनुभयो ।


वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “मजदुरीका लागि आउनेले रोग लुकाएको देखिन्छ, उहाँहरूको बाध्यता होला, हामीले खोजेर उपचार गर्नु कर्तव्य हो ।” 

वडा अध्यक्ष गुरुङले तराई र पहाडी जिल्लाबाट मजदुरी गर्न आउनेलाई लेक लाग्ने समस्या हुने भएकाले स्वास्थ्यकर्मीले लेक लाग्ने र अन्य जटिल समस्या भएकालाई थप उपचारका लागिसमेत सिफारिस गर्ने बताउनुभयो ।

 नियमित औषधि सेवन गरिरहेका बिरामीलाई सरकारले निःशुल्क उपलब्ध गराएको औषधि तथा उच्च रक्तचाप र मधुमेहसहित जटिल रोगको पहिचान भएमा तथ्याङ्क सङ्कलन गरी उपचारमा सहजीकरण गर्न धेरै सहज भएको वडा अध्यक्ष गुरुङको भनाइ छ ।