• २५ पुस २०८२, शुक्रबार

रुकुममा करिब तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै

blog

चुनाव लक्षित परामर्श गर्नुहुँदै नेकपाका नेता खेलप्रसाद बुडाक्षेत्री । तस्बिर : चन्द्र पन्दाक

राजु लामिछाने

रुकुमपश्चिम, पुस २४ गते ।  रुकुमपश्चिममा करिब तीन करोडको लगानीमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ भएको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा नं. १ सल्लेमा निर्माण हुने उक्त भवनको बिहिबार राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमकाबिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ । 

भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायले आँखाको संवेदनशीलतालाई मध्यनजर गरेर सहज सेवा प्रदान गर्न भवन निर्माण हुन थालिएको बताउनुभयो । उहाँले तोकिएको समयमै गुणस्तरीय रुपमा भवन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । रोकायले आँखा उपचार केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गरेर लैजान आवश्यक रहेको समेत औंल्याउनुभयो । 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रुकुम अस्पतालको सेवालाई स्वास्थ्य उपचारसँगै चिकित्सा शिक्षासँग जोड्नुपर्ने बताउनुभयो । यसका लागि सम्भावित कार्यहरू गर्न प्रदेश सरकारले योजनाबद्ध तरिकाले काम गर्ने उहाँले उल्लेख गर्नुभयो । 

रुकुम जिल्लाका नागरिकको स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकासमा सरकारी प्राथमिकता भइरहेको जिकिर गर्नुहुँदै प्रदेश मन्त्री भण्डारीले आगामी दिनमा कर्णालीका सम्भावित क्षेत्रहरुमा स्वास्थ्य शिक्षा सञ्चालन गरिने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय मिलन खड्का, तुलसा मल्ल, नगरप्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको दुई करोड ८० लाख लगानीमा आँखा उपचार केन्द्रको भवन निर्माण हुन लागेको हो । केन्द्रका प्रमुख धनबहादुर केसीका अनुसार एक वर्षभित्र भवन निर्माण भईसक्ने सम्झौता रहेको छ भने केन्द्रको भवन तीन तला र १७ कोठाको हुनेछन् ।