• ११ असोज २०८२, शनिबार

‘राजनीतिक प्रभावमा रोकिएका फाइल खुल्छन्’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ११ गते  । गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक प्रभावका कारण रोकिएका सबै फाइल खुल्ने बताउनुभएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को शुक्रबार  अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अर्यालले राजनीति ‘कनेक्सन’ का आधारमा रोकिएका सबै फाइल खुल्ने बताउनुभएको हो । उहाँले शान्तिसुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव शान्तिपूर्ण सम्पन्न गर्न पनि राजनीतिक ‘कनेक्सन’ का फाइल खोल्नुपर्नेमा जोड दिनुभयो ।   

मन्त्री अर्यालले भन्नुभयो, “पोलिटिकल कनेक्सनकै कारण विगतमा रोकिएका अनुसन्धान र अनियमितता अब पुनः अनुसन्धान हुन्छन् ।” वर्तमान सरकारको ‘म्यान्डेट’ नै सुशासन रहेको भन्दै उहाँले सुशासनबिना शान्तिसुरक्षा सम्भव नहुने र शान्तिसुरक्षा नभई छ महिनाभित्र निर्वाचन गर्न नसकिने बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जस्थित सिआइबीको कार्यालयमा पनि आगजनी तथा तोडफोड भएको थियो । विशेष अनुसन्धान गर्ने प्रहरी निकाय सिआइबीको निरीक्षण गर्ने क्रममा मन्त्री अर्यालले रोकिएका फाइल खोल्न सिआइबी नेतृत्वलाई निर्देशनसमेत दिनुभयो ।