अमरराज नहर्की
तनहुँ, असोज ११ गते । हिन्दू धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय तनहुँले विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ ।
चाडपर्वका अवसरमा हुने भीडभाड, यात्रु आवागमन, किनमेल र सम्भावित आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई सतर्क रहन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी तयार पारिएको विशेष सुरक्षा योजना वर्तमान परिस्थितिअनुरूप कडाइका साथ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाभर सुरक्षा सतर्कता बढाइएको जनाउँदै उहाँले मठमन्दिर, सार्वजनिक स्थल तथा यातायात व्यवस्थामा विशेष निगरानी गरिएको बताउनुभयो । यात्रुहरूलाई चाडपर्वमा घरसम्म सहज रूपमा पुग्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले समेत चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको जनाएको छ । प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार आमनागरिकको शान्ति सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राखी व्यापक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो । “मोबाइल तथा पैदल गस्ती तीव्र पारिएको छ साथै मोटरसाइकलमा समेत प्रहरी परिचालन गरेर संवेदनशील स्थान र सडक खण्डमा निरन्तर निगरानी बढाइएको छ,” कार्कीले भन्नुभयो ।
उहाँले नागरिकलाई चाडपर्व मनाउँदा शान्ति सुरक्षामा खलल पुर्याउने, होहल्ला गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न नहुन आग्रह गर्दै नियम उल्लङ्घन गर्नेहरुविरुद्ध कडाइका साथ कारबाही गरिने चेतावनी दिनुभयो । विशेष योजनाअन्तर्गत सवारीसाधनको चेकजाँच, यातायातको अनुगमन र निगरानीलाई कडाइ गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चेकजाँच सञ्चालन गरिरहेको र चालक अनुमति पत्रबिनाको सवारी सञ्चालन, मदिरा सेवन गरी गाडी चलाउने वा तीव्र गतिमा सवारी सञ्चालन गर्नेहरूमाथि तत्काल कारबाही गरिने कार्कीले स्पष्ट पार्नुभयो ।
यसैगरी, सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीसँग सहकार्य गरी सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ । स्थानीय निकाय, यातायात व्यवसायी र नागरिक समाजसँग सहकार्य गर्दै सुरक्षात्मक सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुनै समस्या वा आपतकालीन अवस्था उत्पन्न भएमा जिल्ला प्रहरी कार्यालयको १००, ९८५६०९०२९८ तथा सामुदायिक प्रहरी सेवा केन्द्र ०६५–५६५२८८ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।