• ११ असोज २०८२, शनिबार

सप्तरीमा छैन दसैँको चहलपहल

blog

राजविराजको मुख्य बजारमा देखिएको दृश्य । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), असोज ११ गते ।
दसैँ सुरु भएको पाँच दिन बितिसक्दा समेत राजविराज बजारमा सर्वसाधारणको चहलपहल देखिएको छैन । विगतका वर्षहरूमा दसैँलगायतका चाडपर्वमा भीडभाड हुने सप्तरी बजारमा यस वर्ष  खासै चहलपहल नभएको स्थानीयहरूको भनाइ छ ।

बजारमा किनमेल गर्ने उपभोक्ताहरू एकदमै न्यून भएपछि दिनभरी मुख ताकेर बस्नुपर्ने बाध्यता रहेको व्यापारीहरू बताउछन् । अरु दिनभन्दा पनि यसपालि किनमेल गर्न आउने उपभोक्ता कम रहेको राजविराज बजारमा कपडा व्यावसायी गर्दै आउनुभएको जयप्रकाश गुप्ताले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसपालि दसैँ आएको जस्तो लागेको छैन । बजार  चहलपहल छैन । सर्वसाधारणहरूमा किनमेलको कुनै चासो देखिदैन । मन्दिरहरूमा पनि अन्य वर्षको तुल्नानामा भीडभाड कम छ ।’’

दसैँ आएजस्तो महसुुस नभएको राजविराज नगरपालिका २ कि रिता शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतका वर्षहरूमा सर्वसाधारणमा दसैँको उमङ्ग र उत्साह अर्कै देखिन्थ्यो । यसपालि त्यस्तो देखिएको छैन ।’’

जिल्लाको अधिकांश सामुदायिक विद्यालयका शिक्षक र स्थानीय तहका कर्मचारीहरूले तलब पाउन नसकेकाले पनि बजारमा दसैँको रौनक नदेखिएको राजविराज नगरपालिका ६ का नरेश कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कर्मचारी र शिक्षकले तलब नपाएपछि चहलपहल घटनु स्वभाविक हो ।’’