• ११ असोज २०८२, शनिबार

बागलुङको कैयामा गाउँघर क्लिनिक स्थापना

blog

बागलुङ नगरपालिका १४ वडाध्यक्ष चक्रबहादुर खत्रीको रक्तचाप परीक्षण गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), असोज ११ गते ।
बगलुङ नगरपालिका–१४नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ । बगलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन/सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्थाका, व्यक्तिगत सहयोग साथै समुदायका समाजसेवी स्थानीय व्यक्तित्वहरूको सक्रिय सहयोगमा क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

एक लाख नौ हजार ४७५ रुपयाँको लागतमा स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको हो । वडा अध्यक्ष चक्रबहादुर खत्रीको रक्तचाप परीक्षण गरी क्लिनिकको उद्घाटन गरिएको हो  । गाउँघर स्वास्थ्य क्लिनिक सञ्चालनका लागि नगरपालिकाको १५ हजार चार सय रूपियाँ, नारायणस्थान स्वास्थ्य चौकीको २८ हजार २३०, नेपाल गाँजा डेभलपमेन्ट फाउन्डेसन सम्बोधन परियोजनाको २७ हजार ४४५, टोल विकास संस्थाको १० हजार ५०० र टोल विकास संस्थाका अध्यक्ष होमनाथ ढकालको व्यक्तिगत १८ हजार सहयोग गर्नुभएको थियोे ।

त्यस्तै, प्रगतिशील स्वास्थ्य आमा समूहको चार हजार दुई सय स्थानीय समाजसेवी गौर बहादुर पौडेल र उहाँकी धर्मपत्नी भद्रकला पौडेलको चार हजार पाँच सय, स्थानीय मनकुमारी थापाको एक हजार दुई सय, शिव प्राथमिक विद्यालयमा रहेको भवनको एक कोठाको सहयोग गरी एक लाख नौ हजार चार सय ७५ रुपियाँको साझेदारी कार्यक्रममार्फत क्लिनिकको सञ्चालनमा ल्याइएको हो ।

गाउँघर क्लिनिकलाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्न सङ्घसंस्थाहरू बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।वडा अध्यक्ष चक्र बहादुर खत्रीले लामो समयको मागपछि स्थापित गाउँघर क्लिनिकलाई समुदायले अपनत्व लिनुपर्ने र वडाले परिआएका खण्डमा जस्तो सुकै सहयोग गर्नलाई तयार रहेको बताउनुभयो ।

बाग्लुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कर्मचारी बाहेकका सबै व्यवस्थापकीय काम औषधी, उपकरण र आवश्यकता अनुसारका अन्य कुराहरूमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियोे । सम्बोधन परियोजनाका संयोजक विष्णु सुवेदीले आवश्यक भौतिक उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे  ।