• ११ असोज २०८२, शनिबार

कञ्चनपुरमा चाडपर्वको बहानामा गैरकानुनी गतिविधि नगर्न आग्रह

blog

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, असोज ११ गते ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लावासीहरूमा चाडपर्वको अवसरमा विशेष अनुरोध गरेको छ । हिन्दु धर्मावलम्बीहरूको महान् चाडबडा दसैँ, तिहार र छड नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह गरेको हो ।

प्रशासनले सूचना जारी गर्दे चाडपर्वको बहानामा गैर कानुनी गतिविधि नगर्न आग्रह गरेको छ । चाडपर्वको बहानामा जुवा तास, चिठ्ठा, कौडा, सट्टे वाजी खेल्ने खेलाउने कार्य नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ ।

यसैगरी, सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, तोकिएको भन्दा बढी भाडा नलिन समेत प्रशासनले आग्रह गरेको छ ।

जिल्लामा उपभोक्ता हित विपरीत अत्यावश्यकीय खाद्य सामग्रीको कृत्रिम अभाव सृजना गर्ने, अखाद्य वस्तु एवम् रङ मिसावट गर्ने, अस्वाभाविक रूपमा मूल्यवृद्धि गर्ने, म्याद गुज्रेका वस्तुहरू बिक्री गर्ने जस्ता गैरकानुनी कार्य नगर्न समेत प्रशासनले अनुरोध गरेको छ ।  

मनोरञ्जनका नाममा प्रयोग हुने पदार्थहरू आतिसवादी, भुईचम्पा, पटाका, वारुद वा अन्य विस्फोटक तथा आगलागी हुने वस्तुको खरिद, बिक्री, ओसार पसार र प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसैगरी, तिहारको समयमा खेलिने देउसी, भैलो, चाडपर्व लक्षित खेलकुद व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तथा राति ९ बजेपछि सञ्चालन नगर्न आग्रह गरिएको छ ।

साथै, चाडपर्वमा अत्यावश्यकीय आपतकालीन सेवाहरू अस्पताल, एम्बुलेन्स, दमकल, सवारी साधन एक्स्काभेटर, जनशक्ति र इन्धनलगायत तयारी अवस्थामा राख्ने र बदलिँदो मनसुनबाट हुनसक्ने जोखिमका लागि पूर्वतयारी अवस्थामा रहन सम्बन्धित निकायलाई प्रशासनले आग्रह गरेको छ । नियम उल्लङ्घन गर्नेमाथि कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभयो ।