• ११ असोज २०८२, शनिबार

दसैँमा बौरिने नेपालको अर्थतन्त्र

blog

नेपाली समाजका लागि दसैँले जति ठुलो सांस्कृतिक र धार्मिक महŒव राख्छ, अर्थतन्त्रका लागि पनि यो पर्व सबैभन्दा विशिष्ट छ । दसैँको चहलपहलसँगै अर्थतन्त्रका सबै अवयवलाई यसले चलायमान बनाइदिन्छ । 

आयात बढ्नेदेखि दसैँलक्षित विपे्रषण भित्रने दर यही समयमा सबैभन्दा उच्च हुन्छ । विदेशमा रहेकाको दसैँलाई केन्द्रमा राखेर स्वदेश फर्कने योजनाले हवाईसहित समग्र यातायात क्षेत्र व्यस्त बनाइदिन्छ । दसैँले अर्थतन्त्रका यी बाह्य पक्षलाई जसरी सव्रिmय बनाउँछ, आन्तरिक अर्थतन्त्रमा यसको प्रभाव त्योभन्दा बढी छ । दसैँलक्षित किनमेलका कारण नेपालीको कुल उपभोगमध्ये करिब २० प्रतिशत यसै समयमा हुन्छ । सपरिवार सँगै बसेर मिठोमसिनो खाने प्रचलनले दसैँ विगतदेखि नै खानपिनको चाडका रूपमा पनि स्थापित छ । सबैभन्दा लामो सार्वजनिक बिदाको सदुपयोग गर्दै घुमघाम गर्ने प्रवृत्तिले आन्तरिक पर्यटनमा पनि चहलपहल बढ्छ । 

दसैँ आसपास बढ्ने यस्ता गतिविधिले यो चाड आर्थिक पर्वका रूपमा रूपान्तरण हुँदै छ । अर्थतन्त्रका अनेक आयामसँग दसैँ जोडिएकाले विगतमा जस्तो धार्मिक चाडको परिचयले दसैँको परिभाषा पूर्ण हुँदैन ।

जेनजी आन्दोलनका कारण मुलुकको समग्र राजनीतिक परिवेश नै परिवर्तन भएको सन्दर्भमा यस पटक दसैँको माहोल केही ढिलो सुरु भएको छ । आन्दोलनका व्रmममा भएको हत्या, आगजनी र तोडफोडको विषम परिस्थितिबिचमै पनि किनमेल बढेको छ, घर फर्किनेको चाप उस्तै छ, घुमघामका तयारी बनिरहेका छन्, खानपिनको जोहो सुरु भइसकेको छ । जटिल समयका बिच पनि आउँदै गरेको दसैँले बजारमा माग बढाउने भएकाले मुर्झित अर्थतन्त्र बौरिने अवसर उपलब्ध छ । अनौपचारिक तथ्याङ्क अनुसार कुल अर्थतन्त्रको २० प्रतिशत अर्थात् करिब सात खर्ब रुपियाँ आसपासको आर्थिक गतिविधि दसैँ सेरोफेरोमै हुन्छ । यस पटक सोही मात्रामा कारोबार नभए पनि निजी क्षेत्रको मनोबल उकास्नेदेखि सरकारको खर्च बढाउन दसैँ सहयोगी बन्ने अपेक्षा छ । 

वर्षकै धेरै किनमेल 

सहरका मुख्य चोकहरू मात्र होइन, गाउँका ससाना बजारसमेत दसैँ आसपासमा भरिभराउ हुन्छन् । खास गरी दसैँमा नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यताले कपडा पसलमा यतिबेला सबैभन्दा बढी भिडभाड हुन्छ । वार्षिक करिब ६० अर्ब रुपियाँको कपडा व्यापारमध्ये करिब ३० प्रतिशत दसैँमै हुने गर्छ । 

परिवार र साथीभाइ मिलेर खाने प्रचलनले दसैँमा मासु, उत्पादन र मदिराको उपभोग अत्यधिक बढाएको छ । घर घरमै खसीबोका काट्ने प्रचलनले दसैँ अत्यधिक मासु खपत हुने समय पनि हो । सवारीसाधन तथा मोबाइल, ल्यापटपलगायतको ग्याजेट्सको बिव्रmी पनि यो समयमा सबैभन्दा धेरै हुन्छ । खास गरी कार तथा मोटरसाइकल बिव्रmेताले दसैँलाई नै लक्ष्य गरी विभिन्न छुट योजना सार्वजनिक गरेर ग्राहकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छन् । घरका लागि आवश्यक धेरै सामान पनि दसैँमै जोड्ने परम्परा छ । त्यसैले भान्साका सामानदेखि खाद्यान्न, ‘होम अप्यान्सेस’ का रूपमा चिनिने रेफ्रिजेरेटेर, वासिङ मेसिन, ओभनलगायतका सामग्रीको बिव्रmी पनि दसैँमा ह्वात्तै बढ्छ । 

पछिल्लो समय दसैँ बिहेबारीको उत्तम समयका रूपमा उपयोग हुन थालेको छ । बिहेका लागि दसैँ उत्तम साइत मानिने भएकाले यो समयमा विवाह गर्ने व्रmम बढ्दो छ । विवाहकै कारण लत्ताकपडासहित खास गरी गरगहनाको बिव्रmी पनि बढ्ने गर्छ । नेपाल रत्न तथा आभूषण सङ्घका अनुसार दसैँको समय नेपालमा गरगहनाको व्यापार अन्य समयको तुलनामा बढी हुने गर्छ तर सुनको मूल्यले लिएको उचाइका कारण अहिले कारोबार भने धेरै बढ्न सकेको छैन । 

दसैँमा बढ्ने किनमेल र अन्य उपभोग्य वस्तुको मागका कारण अन्तर्राष्ट्रिय व्यापारको आकार पनि निकै बढ्छ । खास गरी भदौ र असोजमा हुने नेपालको अन्तर्राष्ट्रिय व्यापार अन्य महिनाको तुलनामा केही बढी नै हुने गर्छ । यो समय खास गरी सुनचाँदी, लत्ताकपडा, विद्युतीय सवारी, मोबाइल जस्ता वस्तुको आयात हिस्सा बढी हुन्छ ।  

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार नेपालको कुल खुद्रा व्यापारमध्ये दसैँ र तिहारमा मात्रै ३५ प्रतिशतको हाराहारीमा हुने गर्छ । अन्य समयको तुलनामा मुख्य चाडपर्वको समयमा व्यापार पनि ४० प्रतिशतले बढ्ने सङ्घको अनुमान छ ।   

सवारीमा चाप

कामका लागि वैदेशिक रोजगारीमा गएका नेपाली र काम खोज्दै सहर पसेकाका लागि गाउँ फर्काउने माध्यम बनेको छ, दसैँ । विदेशबाट फर्किंदा काठमाडौँमै आउनुपर्ने र काठमाडौँमा बसेका धेरै सर्वसाधारण गाउँ फर्कने भएकाले सवारीसाधनमा अत्यधिक चाप बढ्छ ।  देशका प्रायः सबै लामो दुरीका गन्तव्य काठमाडौँबाट तय हुने भएकाले राजधानी जोड्ने मुख्य नाकामा बढ्ने सवारी चापले घन्टौँ जाम बेहोर्नुपर्ने अवस्था पनि यसै बेला हुन्छ । अनौपचारिक तथ्याङ्क अनुसार घटस्थापनापछि फूलपातीसम्मको समयमा उपत्यकाबाट दैनिक पाँच हजारभन्दा बढी सवारी बाहिरिन्छन् । सडक जस्तै हवाई चाप पनि दसैँको बेला अत्यधिक बढ्छ । दसैँ सुरु हुनुअघि नै हवाई सेवाका लागि पनि अग्रिम टिकट लिने प्रचलन बढेको छ । आन्तरिक वायुसेवाप्रदायकका अनुसार दसैँको समय नियमित उडानले मात्र चाप थेग्न सक्दैन । दैनिक औसत १४० देखि १५० सम्म उडान भइरहेको अवस्थामा दसैँका लागि कम्तीमा दुई दर्जनभन्दा बढी उडान थपिन्छ । 

घुमघामको चाड

पारिवारिक जमघट, सफा र स्वच्छ मौसम अनि सुविधाजनक आर्थिक अवस्था । घुमघामका लागि दसैँ हरेक हिसाबले उपयुक्त समय हो । पदयात्राका लागि निस्कने नेपालीको नयाँ बानीले अन्नपूर्ण बेस क्याम्प, मार्दी बेस क्याम्प, सगरमाथा बेस क्याम्प, रारा, खप्तड र लाङटाङ हिमाल पुग्ने पदमार्गमा नेपालीहरू हिँडिरहेका भेट्न सकिन्छ ।  जेनजी आन्दोलनका कारण यस वर्ष आन्तरिक पर्यटन विगतको जस्तो नभए पनि दसैँका कारण प्रमुख पर्यटकीय स्थान चलायमान नै हुने अपेक्षा गरिएको छ । दसैँमा बढ्ने घुमघाम प्रवृत्तिका कारण होटेल व्यवसायीले छुटसहितका प्याकेज पनि घोषणा गर्न थालेका छन् । घुमघामको यो प्रवृत्तिले चहलपहल मात्र बढाएको छैन, एक ठाउँको पैसा अर्को ठाउँमा चलायमान बनाइरहेको छ । यसको लाभ अर्थतन्त्रले लिन सक्छ । 

दसैँ भत्ता र नयाँ नोट 

दसैँले ल्याउने एउटा उमङ्ग हो, दसैँ भत्ता । खास गरी सरकारले दसैँका अवसरमा आफ्ना कर्मचारीलाई एक महिनाको अतिरिक्त भत्ता प्रदान गर्दै आएको छ । यसबाहेक निजी क्षेत्रका सङ्गठित सङ्घ संस्थाले आफ्ना कर्मचारीलाई दसैँमा अतिरिक्त भत्ता दिने गर्छन् । यसले एकातिर काम गरिरहेका व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्न सहयोग पु¥याउँछ भने अर्कातिर बजारमा नगदको प्रवाह बढाउँछ । दसैँमा मात्र सरकारले कर्मचारीका लागि करिब २० अर्ब रुपियाँभन्दा बढी अतिरिक्त भत्ता वितरण गर्छ । यसमा सरकारबाट पेन्सन प्राप्त पूर्वकर्मचारीसमेत समेटिन्छन् । 

त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले पनि दसैँमा कर्मचारीलाई भत्तासहित थप बोनसको व्यवस्था गर्ने प्रचलन बढ्दो छ । तरलता अभावको अवस्थामा दसैँमा व्यक्तिमा जाने यस्तो पैसाले एकै पटक ठुलो रकम अर्थतन्त्रमा प्रवेश गराउँछ । अतिरिक्त भत्ताकै कारण दसैँको रौनक कर्मचारीमा बेग्लै किसिमको हुन्छ ।  दसैँमा कपडा जस्तै नयाँ नोटको प्रयोग गर्नु पर्छ भन्ने मान्यता रहँदै आएको छ । खास गरी दसैँमा दक्षिणाका रूपमा उपलब्ध गराइने पैसा नयाँ दिनुपर्ने मान्यताका कारण हरेक वर्ष राष्ट्र बैङ्कले नयाँ नोट बजारमा ल्याउँछ । यस वर्ष पनि करिब १५ अर्ब रुपियाँभन्दा बढी नयाँ नोट सटही हुने अनुमान छ । नयाँ नोटका रूपमा बैङ्कबाट ल्याइने पैसा अन्ततः दक्षिणाका रूपमा बाँडिन्छ । व्यक्तिका हात हातमा पैसा पुग्ने भएकाले दसैँले अर्थतन्त्र उत्थानमा ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ ।