गोरखापत्र अनलाइन
भक्तपुर, असोज १० गते। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताउनुभएको छ । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले छलफल गदैै सो कुरा बताउनुभएको हो । ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो ? यसलाई आम पार्टी पङ्ति लोकतान्त्रिक शक्तिले खबरदारी गर्न म अपील गर्छु।’
राजनीतिक दलको झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहीन अवस्थाले मुलुकलाई हित नगर्ने भन्दै उहाँले थप्नुभयो, ‘विवेक शून्य, क्षतिग्रस्त दिमाग, क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी गर्दछ ।’ लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाएर अर्को कुन व्यवस्था र तन्त्र ल्याउन खोजिएको हो ? उहाँले प्रश्न गर्नुभयो ।
सरकारी संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीको भनाइ छ । ‘जेनजीका माग ठिक छन् । भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको बिमति होइन’ अध्यक्ष ओलीले भन्नुभयो ‘जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबारमा आगो लगाउन सक्दैन । नेपाली कांग्रेसका सभापति शेरबहादुरजी र आरजुजीलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दै सक्दैन । जेनजी पुस्तालाई देशको माया छ, उ सँग विवेक छ ।’
प्रतिशोधको भावले सामाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीले बताउनुभयो । सांस्कृतिक धरोहरहरुलाई पूर्णरुपमा ध्वस्त बनाउनु सांस्कृतिक बिचलन भएको उहाँले बताउनुभयो ।
मुलुकले यति ठूलो क्षति कहिल्यै बेहोर्नु नपरेको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडी ढकेलिदिएको छ । अब खरानीबाट उठ्नु पर्ने अवस्था छ । आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो । तर जुन ढंगले अघि बढ्न खोजिएको छ । यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई पुग्न दिँदैन ।’
दलहरु मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उहाँले बताउनुभयो । प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरुलाई अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।