• ११ असोज २०८२, शनिबार

ज्येष्ठ नागरिकले प्राप्त गरे घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा

blog

सिदिङ्वा गाउँपालिकामा घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ११ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ज्येष्ठ तथा अशक्त नागरिकले घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममार्फत घरदैलोमै ज्येष्ठ तथा अशक्त नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

शुक्रबार सम्पन्न भएको कार्यक्रममार्फत ९६२ जनाले सेवा प्राप्त गरेका सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार शाहले जानकारी दिनुभयो । शाखा प्रमुख शाहका अनुसार घर–घरमा पुगेर ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता र दीर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

गाउँपालिकाका सात वटा वडामध्ये सबैभन्दा बढी वडा ३ आङ्खोपमा २६६ जनाले सेवा प्राप्त गरेका छन् ।

त्यस्तै सबैभन्दा कम वडा १ कालिखोलामा २८ जनाले सेवा प्राप्त गरेका छन् । ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममार्फत घरदैलोबाटै सेवा प्राप्त गरेकामध्ये ५१२ महिला र ४५० जना पुरुष रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार लाभग्राहीको मधुमेह (सुगर), उच्च रक्तचाप, दम र अन्य सामान्य रोगको परीक्षण गरिएको छ । मधुमेह र उच्च रक्तचापका विरामीलाई औषधी निःशुल्क वितरण गर्नुका साथै आवश्यक स्वास्थ्य परमर्श सेवा प्रदान गरिएको छ । लक्षित नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने उक्त कार्यक्रम असोज २ गतेदेखि सुरु गरिएको थियो ।