• ११ असोज २०८२, शनिबार

‘हातमा एप’ बाट पनि गोरखापत्र पढ्न सकिने

blog

काठमाडौं, असोज ११ गते । अब गोरखापत्र संस्थानबाट प्रकाशित गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाका सामग्री गोरखापत्र अनलाइन र राइजिङ डेली डटकममार्फत ‘हातमा एप’ बाट पनि पढ्न र हेर्न सकिने भएको छ । 

गोरखापत्र संस्थानका समाचार सामग्रीलाई इन्टरफेस नेपाल नेटवर्कले सञ्चालनमा ल्याएको ‘हातमा एप’ मा समावेश गरेपछि देश विदेशमा रहेका पाठकलाई यो सुविधा प्राप्त भएको हो । 

सो नेटवर्कले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘विश्वासिला, भरपर्दा र वर्षौंदेखिको लिगेसी बोकेका सञ्चारगृह र सञ्चारमाध्यमका अंग्रेजी र नेपाली दुवै भाषाका  समाचार अब एउटै प्लाटफर्ममा सजिलै प्राप्त गर्न सक्नुहुने छ र समयको बचत गर्नु हुने छ । जसका लागि अब  तपाईंले हातमा ‘हातमा एप’ डाउनलोड गरे पुग्छ ।’’ 

व्यस्त समयमा जम्मा ६० शब्दमा ताजा सूचना अनि फुर्सद र रुचिअनुसार विस्तृत समाचार यसका मुख्य विशेषता रहेको सो नेटवर्कले जनाएको छ । 

‘‘यो एपमा नेपालकै पुरानो सरकारी सञ्चारगृह गोरखापत्र संस्थानका प्रकाशनदेखि राष्ट्रिय साप्ताहिक, दैनिक अनि अहिलेका नयाँ न्युमिडिया सबैका समाचार एकै पटकमा पढ्न पाउनु हुनेछ।’’ विज्ञप्तिमा उल्लेख छ । 

आधिकारिक र तथ्य बिनाका समाचारहरुले भ्रम सिर्जना गरिरहेका बेला यसले केबल आधिकारिक र तथ्यसहितका समाचार उपलब्ध गराउने छ भने नकारात्मक समाचारलाई मात्रै नभई सकारात्मक अनि आशा जगाउने समाचारहरुलाई प्राथमिकताका साथ आम पाठकहरुलाई उपलब्ध गराउने विश्वास गरिएको छ । 

आम मानिसले मन पराएका तथा विश्वास गरेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारगृह वा सञ्चारमाध्यमले उत्पादन गरेका समाचार अपडेट तत्काल प्राप्त गर्न, सोझै उनीहरुको आधिकारिक वेभपेजबाट पढ्न, हेर्न र सुन्न पाउने सुविधा यो न्युज क्युरेटर एपले प्रदान गर्दछ ।

समाचार तथा सूचनामूलक सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा दुई दशक लामो अभ्यास र अनुभव हासिल गरेको संस्था इन्टरफेस नेपाल नेटवर्कले आम दर्शक, पाठक तथा श्रोताहरुलाई सहज रुपमा समाचार उपलब्ध गराउन अनलाइन पोर्टल www.haatma.com र समाचार एप–‘हातमा एप’ (Haatma) को औपचारिक आरम्भ गरेको जनाएको छ । 

आम उपभोक्तालाई मिथ्या र भ्रामक समाचारबाट जोगाउने तथा सही, सत्य र तथ्यसहितका समाचार तत्कालै उपलब्ध गराउने माध्यम हातमा भएको सो नेटवर्कको भनाइ छ । 

स्वदेश तथा विदेशका अनि तपाईं आफ्नै चासोका सामाचार छानी छानी पढ्न पाइने सुविधासहितको यो एप आईओएस र एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ । यो एप न्युज एग्रिटेर मात्र नभई न्युज क्युरेटर पनि हो । एआई र ह्युमन इन्टेलिजेन्सको एकसाथ प्रयोगबाट एकत्रित गरिएका समाचार तथा भिडियोहरु संक्षेप र विस्तृत दुवै रुपमा पाउन सक्नुहुने छ । नेपाली र अंग्रेजी भाषामा समाचार उपलब्ध हुने यो एपमा अहिलेसम्म चार दर्जनभन्दा बढी सञ्चारगृह जोडिएका छन्, थप उत्तिकै संख्यामा जोडिने प्रक्रियामा छन् ।