• ११ असोज २०८२, शनिबार

विश्वभर फैलिँदै दसैँ

blog

दसैँ नेपालीको महान् सांस्कृतिक पर्व हो । यसका विविध पक्ष र विशेषता छन् । ऐतिहासिक पक्षको छुट्टै दर्शन छ, सांस्कृतिक पक्षको छुट्टै विशेषता छ । धार्मिक, सामाजिक तथा आर्थिक र आध्यात्मिक पक्ष पनि उत्तिकै महत्वको अनुभूत हुन्छ । तिनमा पनि सामाजिक र आर्थिक पक्ष बढी नै महत्वका देखिन्छन् । 

नेपालको भाषा र संस्कृति फैलिएर अस्ट्रेलिया, युरोप तथा अमेरिकासम्म पुगेको छ । विश्वभर नेपाली जहाँ पुगे त्यहाँ आफ्ना संस्कार र संस्कृति लिएर गएका छन् । यस अर्थमा दसैँ अन्तर्राष्ट्रिय पर्वसमेत हुन पुगेको छ । यहाँ यसै विषयमा केन्द्रित भएर दसैँपर्वको चर्चा प्रयास गरेका छौँ ।

सामाजिक पक्ष

दसैँको समाजिक पक्ष टीका तथा जमरासँगै मान्यजनको आशीर्वादसँग जोडिएको छ । यसैका लागि जहाँसुकै पुगेका भए पनि नेपाली सकेसम्म घर आउन चाहन्छन् । हिजोआज मान्यजनलाई आफू भएतिरै बोलाउने चलन पनि बढ्दै गएको छ । सके उनीहरूलाई आफू भएतिर बोलाउने नसके उनीहरू भए स्थानमा आफू जाने गरेको पाइन्छ । अस्तितिर बिहानी भ्रमणमा नियमित भेट हुने दाङतिरका सापकोटा थरी मित्र भन्दै हुनुहुन्थ्यो, “दसैँ मनाउन नेपाल जान लागेको छु । सायद अब तिहारपछि नै अमेरिका फर्कन्छु होला ।” त्यस्तै काठमाडौँ सामाखुसीका मित्र सागर अधिकारी दम्पती दसैँ मनाउन हाल अस्टे«लिया पुगेको छ । उहाँ भन्नुहुन्छ, “यसपालि भाइ समीरको परिवारको साथमा बसेर दसैँ मनाउन यतातिर आएका छौँ । अघिल्ला वर्षतिर उनीहरू उता जान्थे । यस वर्ष हामी यता आएका छौँ ।” २१ वर्षदेखि बेलायत बस्दै आएकी शारदा सिम्खडाको भनाइ अलि फरक छ । उहाँ भन्नुहुन्छ, “दसैँ मनाउन नेपाल जान नपाएको धेरै भयो । त्यसैले हामी यतै दुर्गा थापी दसैँ मनाउने गर्छौं । इष्टमित्र टीका लगाउन हामीकहाँ पनि आउनुहुन्छ, हामी पनि उहाँहरूका घरमा जाने गर्छौं ।” लामो समयदेखि थोर्टन, कोलोराडो (युएसए) बस्दै आएका काठमाडौँ, गैरीधाराका शेखर सत्यालको भनाइ पनि करिब त्यस्तै छ । यसको अर्थ हो, नेपालीले जहाँ पुगेका भए पनि नेपाली संस्कृति र सद्भावलाई बिर्सेका छैनन् ।  

पिङ खेल्ने परम्परा

घरआँगन तथा सार्वजनिक स्थानमा पिङ हालेर रामाइलो गर्ने दसैँको अर्को मजबुत सामाजिक पक्ष हो । टीकाको दिन एक पटक धर्ती छाड्नु पर्छ भन्ने मान्यताले पनि पिङलाई निरन्तरता दिइएको छ तर हाल यो चलन केही पातलिँदै गएको अनुभूत हुन्छ । प्रायः युवा विदेशतिर रहने भएकाले यस्तो अवस्था आएको हो । तथापि हटिहालेको भने छैन, पातलिएकोसम्म हो । पहिले जस्तो प्रत्येक घरआँगनमा नभए पनि सार्वजनिक स्थानमा पिङ हालेर रमाइलो गर्ने चलन अहिलेसम्म पनि कायमै छ । सहरबजारतिर पनि फाट्टफुट्ट पिङ हालेर रामाइलो गर्ने गरिएको देखिन्छ ।  

आर्थिक पक्ष

यो दसैँको अर्को बढी महŒवको पक्ष हो, जसले नेपाली अर्थतन्त्रलाई बढी चलायमान गराउने गर्छ । प्रायः नेपाली दसैँमा नयाँ लुगा लगाएर मावली, ससुराली जान चाहन्छन् । हुँदाखानेका लागि त दसैँ यसै पनि नयाँ लुगा लगाउने पर्व हो । हुनेखानेले पनि एकाध जोर नयाँ कपडा किन्न खोजेकै हुन्छन् । बढ्दो आवतजावत अर्थतन्त्र चलायमान गराउने अर्को पक्ष हो । दसैँकै निम्ति महिनौँ अघिदेखि बस तथा हवाई टिकट बुकिङ गर्ने गरिएको पाइन्छ । मासुको बढी खपत यसको अर्को पाटो हो । यतिबेला प्रायः सबै नेपालीका घरमा खसी, बोका तथा राँगा काटिएको हुन्छ । हिजोआज भने पैसा भए मासु पाउन त्यति कठिन छैन । तैपनि अघिपछिभन्दा दसैँमा बढी नै खपत हुने चिज हो यो । गत वर्ष काठमाडौँ वसुन्धरानिवासी गाउँले खसी पसलका भाइले भन्नुभएको थियो, “गाह्रो छ अङ्कल गरी खान । दिनभर दाउ चलाउँदा बेलुकासम्म आफ्नै हात एउटा निर्जीव पदार्थ जस्तो भइसकेको हुन्छ । तैपनि के गर्ने ? पसल खोलेर बसियो, माग बढेका बेला सेवा दिनै प¥यो ।” यो एउटा उदाहरण हो । आखिर जहाँको पनि दसैँमा सहरबजारको अवस्था यस्तै हो । 

सांस्कृतिक पक्ष

यस पर्वको सांस्कृतिक पक्ष भनेको घटस्थापना गर्ने, जमरा राखेर दुर्गापूजा गर्ने, फूलपाती भिœयाउने र मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने कृत्य हुन्; जसले नेपालीलाई भावनात्मक रूपमै नजिक ल्याउने काम मात्र गरेको छैन; नेपाली हुनुको पहिचानसमेत दिएको छ । किनभने दुर्गास्थापन गरी नवरात्रि मनाउने काम अरूले पनि गर्छन् तर मान्यजनबाट टीका र जमरा लगाउने चलन भने विशुद्ध नेपालीमा मात्र पाइन्छ । राजधानी मन्दिर, भर्जिनिया (युएसए) का पण्डित मोतीलाल शर्माका अनुसार कलस्थापन गरी दुर्गापूजा गरेर नवरात्रि मनाउने काम भारतीयले पनि गर्छन् । दक्षिण भारतीयहरू नवमीका दिन चण्डी हवन गराउँछन् । उत्तर भारतीयहरू दुर्गा थापेर नवरात्रि पर्व मनाउँछन् तर नेपालीले जस्तो टीका र जमरा लगाउने भने गर्दैनन् । तथापि नेपाली भने नेपालमा जस्तै आफ्नै घरमा जमरा राखी कलश थापेर नवरात्रि पर्व मनाउँछन् । घरमा सम्भव नहुनेहरू मन्दिरमै आएर पनि दुर्गास्थापन गर्ने पनि हुन्छन् । ४२ वर्षदेखि अस्टिन, टेक्सस (युएसए) बस्दै आएका काठमाडौँ महाराजगन्जका कमल अधिकारीको भनाइ पनि यस्तै छ । उहाँ भन्नुहुन्छ, “यहाँका नेपाली प्रायः आआफ्नै घरमा घटस्थापना गरी जमरा राखेर दसैँ मनाउँछन् । त्यो सम्भव नहुनेहरू यहाँका पशुपति मन्दिरका पण्डितमार्फत जमरा तथा पूजाको कृत्य पूरा गरी दसैँ मनाउँछन् । यी केही उदाहरण हुन् । नेपालबाहिरका नेपाली जहाँको पनि अवस्था त्यस्तै रहेको पाइन्छ ।  

धार्मिक तथा आध्यात्मिक पक्ष

यसको धार्मिक पक्ष भने खासै त्यति मजबुत पाइन्न । किनभने यो पर्व धार्मिक नभई विशुद्ध सांस्कृतिक पर्व हो । तथापि कतिले दुर्गास्थापन तथा नौ दिनसम्म दुर्गापूजन र व्रतोपवासलाई धार्मिक पक्षसित जोडेर हेर्ने गरेका देखिन्छ तर आध्यात्मिक पक्ष भने निकै प्रबल अनुभूत हुन्छ; जुन शरीरविज्ञान र व्यवहारविज्ञानसित सम्बन्धित देखिन्छ । जस्तो दसैँ शरद ऋतुमा पर्छ । यो समय प्रकृतिको त्यस्तो सन्धि समय हो, जसले उष्ण (तातो) र शीत (चिसो) समयलाई जोड्ने काम गर्छ । यस्तो समयमा मौसममा जसरी परिवर्तन आएको हुन्छ, त्यसै गरी शरीर पनि त्यसलाई पचाउन सोही अनुसारको तयारी अवस्थामा रहनुपर्ने हुन्छ । अन्यथा मौसममा आएको परिवर्तनलाई पचाउन नसकी रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले यस पर्वले यतिबेला अपनाउनुपर्ने खानपान तथा व्रतोपवासको माध्यमबाट शरीरलाई परिवर्तनको अवस्थामा ल्याउन खोजेको देखिन्छ ।   

ऐतिहासिक पक्ष

यसको ऐतिहासिक पक्ष निकै लामो देखिन्छ । शक्तिपूजाको परम्परालाई आर्यहरूले सप्तसिन्धु क्षेत्रमा आएदेखि नै पछ्याउन लागेका हुन् । उनीहरू आउनुपूर्व यहाँका रैथाने जाति शिव र शक्तिका उपासक थिए, जुन कुरा मोहनजोद्दारो र हरप्पाको उत्खननमा प्राप्त अवशेषले पुष्टि गर्छ । जतिबेला आर्यहरू इलावर्तबाट यस क्षेत्रमा आएका थिए, त्यतिबेला शिवशक्तिलाई शिष्नदेवता भनेर घृणा गर्थे तर सायद स्थानको प्रभावले होला, रहँदाबस्दा उनीहरू आफैँ शिव र शक्तिका उपासक हुन पुगेका देखिन्छ । तथापि बलिको परम्परा तन्त्रयुग सुरु भएपछि मात्र सुरु भएको देखिन्छ; जुन समय करिब इसाको चौथो वा पाँचाँै शताब्दीतिरको थियो । यसो त शक्तियन्त्र त्रिकोण (त्रिभुज) को उल्लेख प्राचीन युनानी दार्शनिक पाइथागोरस (करिब इसापूर्व छैटौँ शताब्दी) को दर्शनमा पाइन्छ । उनी दार्शनिकका साथै गणितज्ञ पनि थिए । गणितमा त्रिभुजको चलन उनले नै सुरु गरेका थिए तथापि आर्यहरूले यसलाई तन्त्रयुग सुरु भएपछि नै अपनाएका हुन् । जब तन्त्रदर्शनमा पञ्चमकार (मांस, मत्स्य, मदिरा, मैथुन र मुद्रा) को कुरा आयो तब शक्तिपूजामा यसको चलन भित्रियो । त्यहाँ पञ्चमकारको कुरा भने अर्कै अर्थमा आएको छ । तथापि लोकमा व्यावहारिक अर्थमा लिन थालियो र बलिदानको चलन चल्न थालेको बुझिन्छ । त्यसैले पशुपतिनाथमा समेत वर्षको एक पटक प्रकारान्तरले बलि दिने गरिएको पाइन्छ । किनभने तन्त्र भन्नासाथ शिव र शक्ति सँगै जोडिएर आउने दर्शन हो ।  आर्य उत्पत्ति

इसापूर्व २२०० वर्षतिर काश्यप सागरको तटीय भूमिबाट पामिरघाँटी पार गरी इलावर्त आएपछि ऐल र आदित्यहरूले आर्यसमूह गठन गरेका थिए तर त्यसअघि उनीहरू ऐल र आदित्यकै नामले चिनिन्थे । यिनमा ऐलहरू मनुपुत्री इलाका सन्तान थिए । आदित्यहरू मनुपुत्र सूर्यका सन्तान थिए । उनीहरू आर्यसमूहमा आबद्ध भएपछि लामो समयसम्म इलावर्ततिरै थिए । बिस्तारै उर्वर भूमिको खोजमा भिरपाखा, पहरा, गुफा, ओडार, नदीनाला छिचोल्दै करिब इसापूर्व १८०० वर्षतिर सप्तसिन्धु क्षेत्रमा आइपुगेका थिए । यस व्रmममा उनीहरूको पहिलो मुकाम काबुल र स्वात उपत्यका थियो । दोस्रो मुकाममा सप्तसिन्धु (हाल भारत र पाकिस्तानमा विभाजित पञ्जाब) सम्म फैलिन पुगेका थिए । तेस्रो बसाइमा गङ्गायमुनाको सङ्गम प्रयागराजसम्म आइपुगेका थिए; जसको समय करिब इसापूर्व १००० तिरको थियो ।  

आर्यहरूले शक्ति उपासनालाई सिन्धुघाँटीतिर आएपछि नै स्विकारेका हुन् । उनीहरू आउनुपूर्व त्यतातिर त्यतैका कुनै रैथाने जाति बस्थे । आर्यहरूले परास्त गरेका यी जाति शिव र शक्तिका उपासक रहेको बुझिन्छ । किनभने त्यहाँ लिङ््ग र योनीको पूजा हुने गरेको सङ्केत मिलेको छ । सुरुमा आर्यहरूले यसलाई मन नपराएका भए पनि करिब इसाको चौथो तथा पाँचौँ शताब्दीतिर जब तन्त्रयुग सुरु भयो; त्यसपछि पाञ्चायन देवताको उपासना गर्न थाले; जसमा शिव, शक्ति तथा गणेश, सूर्य र विष्णु पर्छन् । यतिबेला उनीहरूले शिव र शक्तिलाई स्थानीय देवताका रूपमा स्विकारेका देखिन्छ । सूर्य र विष्णुलाई कुलपूर्वजका रूपमा लिइएको प्रतीत हुन्छ । किनभने ऐल र आदित्यहरूको कुलपूर्वज सूर्य थिए । गणेशलाई भने सायद उनीहरूले इष्टदेव मानेका थिए । 

अन्तर्राष्ट्रिय पक्ष

हिजोआज दसैँ अन्तर्रष्ट्रिय पर्वसमेत हुन पुगेको कुरा माथि नै प्रस्ट भइसकेको छ । दसैँ मनाउने भन्नेबित्तिकै केही न केही थप किनमेल भएकै हुन्छ । उदाहरणका लागि नेपाली तथा इन्डियन स्टोरका पसलेहरूको भनाइलाई लिन सकिन्छ । बम्बेबजार, पारकर–कोलोराडो (युएसए) का व्यापारीका अनुसार इन्डियातिर जस्तो नवरात्रिलाई भनेर त्यति बढी किनमेल त हुँदैन तैपनि केही न केही भएकै हुन्छ । सायद आर्थिक तथा प्रशासनिक व्यवस्था आदिमा भएको फेरबदलले होला, गत वर्षतिरको जस्तो यस वर्षको अवस्था छैन । त्यस्तै सिस्टरमार्ट, डेनभर (युएसए) को पसले युवतीको भनाइ पनि करिब यस्तै छ । यो पनि उदाहरण हो । यसैबाट प्रस्ट हुन्छ, दसैँपर्व अन्तर्राष्ट्रिय बजार र विशेषताको समेत हुन पुगेको छ ।  

परिवर्तन गर्नुपर्ने पक्ष 

माथिका विभिन्न प्रकरणमा हामीले दसैँको विशेषताबारे चर्चा ग¥यौँ; जसले नेपाललाई देखाएको छ, चिनाएको छ । यसो भनिरहँदा यसमा केही परिवर्तन गर्नुपर्ने र प्रतिबन्ध लगाउनुपर्ने विषय पनि देखिएका छन्, जसलाई निम्नानुसार केलाउन सकिन्छ ः  

परिवर्तनका लागि सर्वप्रथम दसैँको टीकाको दिनलाई लिन सकिन्छ ।  किनभने दसैँको टीका पाँच दिनसम्म लगाउने चलन छ । यसले पर्वलाई अनावश्यक बोझिलो र झन्झटिलो बनाएको छ । टीका लगाउनकै लागि दुईतीन दिन लगाएर आवतजावत गर्नुको कुनै अर्थ छैन । पहिले पहिले भौगोलिक दुरी र विकटताले गर्दा त्यो ठिकै थियो होला तर अहिलेको अवस्था फेरिएको छ । त्यसैले टीका लगाउने दिनलाई घटाएर टीकाको दिन मात्र राख्नु मनासिब देखिन्छ । त्यस्तै परिवर्तन गर्नुपर्ने अर्को कुरा दसैँका नाममा हुने लामो बिदा हो । दसैँका लागि भनेर सरकारी निकाय पाँच दिनदेखि १५ दिनसम्म बन्द रहने गर्छन् । यसले अनावश्यक आर्थिक भार बढाउनेबाहेक केही गरेको छैन । त्यसैले यसलाई पनि परिवर्तन गरेर अष्टमी, नवमी र दशमी गरी तीन दिनमा सीमित गर्नु मनासिब हुन सक्छ ।

अब आयो प्रतिबन्ध लगाउनुपर्ने पक्षको कुरा । यसमा पहिलो कुरा यतिबेला हुने जुवातासको खेल नै हो । जहिले खेले पनि जसले खेले पनि आखिर जुवातास भनेको जुवातास नै हो; जसले कुभलोबाहेक भलो गर्दैन । त्यसैले यसमा सरकार र समाज अलि बढी नै निर्मम हुनुपर्ने देखिन्छ । अर्को हटाउनैपर्ने पक्ष हो– बलिप्रथा । यसै पनि देवीदेवताका नाममा पशुपन्छीको बलि राम्रो कुरा होइन । त्यसमा पनि सरकार आफैँ लागेर सयौँ राँगा, बोकाको बलि दिनु जस्तो लाजैमर्दो कुरा अर्को के होला । पहिलो कुरा त देवीदेवताले रक्तबलि नै खाँदैनन् । दोस्रो कुरा, खाने नै रहेछन् भने पनि कसैको खुसियालीमा कसैले कसैको निम्ति काटिनुपर्ने कुरा मानव सभ्यताभित्र पर्दैन । 

यद्यपि कहीँकतै पशुपन्छीलाई मुक्ति दिन पनि बलि दिनु अनिवार्य हुन्छ भन्ने गरिएको पनि पाइन्छ तर यो कसैको नाममा स्वार्थ पूरा गर्न खोज्ने निहुँबाहेक केही होइन । होइन भने यसको प्रयोग आफैँ र आफ्नैमा गर्नुपर्ने अवस्था आउन सक्छ । किनभने मुक्ति सबैको अभीष्ट वस्तु हो । हो, शक्तिको मात्र होइन; जुनसुकै पूजामा पनि बलिको कुरा आएको छ तर त्यो भनेको देवीदेवतालाई चढाउने विशुद्ध सात्विक पदार्र्थ हो; नकि पशुपन्छीको रगत र मासु । बेलायत जस्तो स्थान, जहाँ अन्त्येष्टि कार्यमा समेत प्रायः मासु अनिवार्य हुन्छ । त्यस्ता स्थानमा समेत देवीदेवताका नाममा पशुपन्छीको बलि दिइँदैन । यसमा लामो समयदेखि बेलायत बस्दै आएकी शारदा सिम्खडाको भनाइ निकै मननीय देखिन्छ । उहाँ भन्नुहुन्छ, “बेलायतका कुनै पनि हिन्दु मन्दिरमा दसैँमा मात्र नभई अघिपछि पनि काटमार हुँदैन । अझ स्कन्दासेल भन्ने स्थानको कालीमन्दिरको कुरा गर्ने हो भने त प्रवेश पाउनकै लागि पाँच दिनअघिदेखि शाकाहारी हुँदै आएको हुनु पर्छ ।” यसो त बलिको व्यवस्था वेदमै भएको छ भन्नेहरूको समूह पनि सानो छैन । उनीहरू उदाहरणका लागि अश्वमेध यज्ञको कुरा गर्ने गर्छन् तर त्यो पनि घोडा मार्ने अर्थमा नभई संस्कार अर्थात् पूजा गरेर छाड्ने अर्थमा हो । अश्वमेध यज्ञ भन्नेबित्तिकै घोडालाई काट्ने अर्थमा लिने हो भने चौपट हुन्छ । किनभने वेदमा गोमेध यज्ञको कुरा पनि आएको छ, पितृमेध यज्ञको कुरा पनि आएको छ । अश्वमेधलाई घोडा मार्ने अर्थमा लिन थाल्ने हो भने ती गोमेध र पितृमेधलाई कसरी अथ्र्याउने ? यद्यपि कसैलाई मासु नखानुस् भन्न मिल्दैन । तथापि नखाँदा राम्रो भने पक्कै हो । होइन खानै मन लाग्छ भने मन लाग्नेले खाए हुन्छ तर यसैको निम्ति देवीदेवीको नाम भजाउनु राम्रो होइन । त्यसैले सरकार र समाजको ध्यान यतातिर पनि जान सके राम्रै होला । 

Author

कमल रिजाल