• ११ असोज २०८२, शनिबार

पहुँचवालाको हातमा नयाँ नोट, हुँदा खानेको रित्तै !

blog

बैंकबाट सुकिला नोट नपाएपछि सहकारीमार्फत सटही गरेका सुकिला नोट । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असोज ११ गते ।
दसैँ तिहारमा नयाँ नोट साट्न खोज्ने ग्राहकको धेरै माग हुन्छ । तर पछिल्लो दुई वर्षदेखि पहुँचवालाको हातमा नयाँ नोट परेपनि सामान्य उपभोक्ताले भने अहिलेसम्म नयाँ नोट हातमा नपरेको गुनासो गरेका छन् ।

त्यसोत पाएको समयमा पनि पहुँचवालाको नियन्त्रणमा अधिकांस नोट सटही हुने गरेको थियो । तर गत वर्षदेखि भने दसैँलाई भनेर नयाँ नोट नआएपछि सटिङ गरेका पुरानै नोटबाट काम चलाउन थालिएको छ । ती नोट समेत पहुँचमा राख्न बैंकका म्यानेजर र सिईओलाई कतिपयले फोन गरेर हैरान पार्छन् ।

चाडपर्वमा टिकाटालो गर्नका लागि नयाँ नोट खोज्नेहरुले दुइ वर्षदेखि भने सटिङ नोट नै लैजाने गरेका छन् । नेपाल राष्ट्र बैंकले दसैँ प्रयोजनका लागि भनेर नोट छाप्न छाडेपछि नयाँ नोटको वितरण कम भएको हो । यो प्रचलनले नयाँ नोटको सुरक्षा भएको बैंकर्स एसोसिएसन बागलुङका एक सदस्यले बताउनुभयो ।

‘‘नयाँ नोट साटेर लैजानेले १०÷१५ दिनमै पुरानो बनाउने, पानी छर्कने, टिकाले रातो बनाउने गरिन्छ’’ उहाँले भन्नुभयो, ‘‘नयाँ नोट नआएपछि त्यो समस्या हटेको छ ।’’ नोटको सुरक्षा र खर्च घटाउन पनि नोट नआएको राम्रो भएको उहाँको भनाइ छ ।

विशेषगरी नेपालीहरुले नोटको सुरक्षा नै गर्दैनन् । भारत लगायतका स्थानमा नोटलाई जस्ताको त्यस्तै राख्ने चलन छ । जसले गर्दा वर्षौसम्म नोटको चलनचल्ती रहन्छ । नेपालमा भने साना नोटहरु त एक वर्षमै बिग्रिन्छन् । त्यसपछि राष्ट्रबैंकले पुनः नोट छाप्नुपर्ने भएको छ । हरेक वर्ष नोट छाप्दा करोडौं रकम खर्च भइरहेको छ ।

दसैँमा केही दिनका लागि मात्र नोट लैजानेहरुले पुनः बैंकमा फिर्ता ल्याउने गर्छन् । ‘‘आएका नोटहरु सबै बिग्रेका हुनाले सङ्कलन गरेपनि उपयोगविहीन जस्तैः बन्छन्’’ प्रभु बैंकका अधिकृत अर्जुन शर्माले भन्नुभयो, ‘‘दसैँ अघि वितरणमा समस्या, दसैँपछि सङ्कलनमा समस्या भइरहेको छ ।’’ सटिङ नोट धेरै लैजान खोज्नेहरु बैंकमा आउने उहाँले बताउनुभयो ।

आगामी दिनमा नोट सटहीलाई नै रोक्ने सरकारी नीति बन्नुपर्ने शर्माको सुझाव छ । नोट साँट्ने चलनले अनावस्यक खर्च बढाउने गरेको छ । कतिपयले देखाउनका लागि धेरै पैसाको खुद्रा साँट्ने, जथाभावी खर्चने गरेका छन् । त्यो खर्च कम गर्न नोटलाई जथाभावी सटहीबाट रोक्नुपर्ने बैंकर्सहरुको राय छ ।