नेपालीका घरआँगनमा दसैँ भित्रिइसकेको छ । दसैँ भन्नासाथ मिठा परिकार, नयाँ कपडा, नयाँ नोट बुझिन्छ । अझ भनौँ, दसैँ र नयाँ नोट एकअर्काका परिपूरक जस्तै भइसकेको छ । दसैँको रमझम सुरु हुनेबित्तिकै कतिपयको पहिलो चिन्ता हुन्छ– नयाँ नोट कहाँबाट साट्ने ? यस पटक भने नोट नयाँ होइन, चम्किला र सफा ‘सुकिला नोट’ लिएर दसैँ मनाइने अवस्था छ । यी सुकिला नोटले दसैँको टीका–दक्षिणामा पुरानै मिठास थप्ने नै छ ।
दसैँ सुरु हुनासाथ बजारमा किनमेलको चहलपहल बढ्छ । कपडा, जुत्ता, सरसामान मात्र होइन; नयाँ नोटको खोजी पनि त्यत्तिकै हुन्छ । परम्परागत रूपमा दसैँमा टीका लगाउँदा पैसा दक्षिणा दिने चलन रहेकाले त्यसमा नयाँ नोट दिन चाहन्छन् ।
दसैँ र नयाँ नोटबिचको सम्बन्ध गहिरो सांस्कृतिक र आर्थिक पक्षसँग जोडिएको छ । नयाँ नोटले चाडपर्वको उत्साह र ताजगीलाई झल्काउँछ तथापि हरेक वर्ष नयाँ नोट छापेर वितरण गर्दा ठुलो आर्थिक भार पर्ने भन्दै राष्ट्र बैङ्कले केही वर्षदेखि ‘नयाँ नोट’ को सट्टा ‘सुकिला नोट’ सटही गर्ने नीति लिएको छ । सुकिला नोट भन्नाले प्रयोग भए पनि सफा र राम्रो अवस्थामा रहेका नोटलाई जनाउँछ । यसले राष्ट्र बैङ्कलाई ठुलो खर्च बचत मात्र गर्दैन, नोट छपाइमा हुने अपव्यय पनि कम गर्छ ।
भदौदेखि साट्ने व्यवस्था
यसपालि पनि नेपाल राष्ट्र बैङ्कले दसैँका लागि नयाँ नोट खोज्नेलाई ध्यानमा राखी भदौ २९ देखि सुकिला नोट वितरण गरिरहेको थियो । राष्ट्र बैङ्कले दसैँका लागि भदौ २९ देखि असोज १० सम्म सुकिला नोट वितरण गरिरहेको थियो ।
दसैँमा माग हुने साना दरका नोटका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सटहीको व्यवस्था गरिएको थियो ।
साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपियाँ दरको नोट चाहिँ नयाँ वितरण गरिएको थियो । अघिल्ला केही वर्षदेखि सुकिला नोट बाँड्न थालेको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिएको हो । बैङ्कले नयाँ नोट सटही गर्दा खर्च व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै एक अर्ब ३० करोड रुपियाँ बचत हुने राष्ट्र बैङ्कको अनुमान छ ।
विगतमा जस्तो सीमितता छैन । अहिले सबै बैङ्कबाट पनि साट्न सकिने व्यवस्था गरिएकाले उपभोक्ता छरिएका थिए । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन र बैङ्किङ विभागका साथै प्रदेशस्थित कार्यालयबाट पनि सुकिला नोट सटही गर्ने सुविधा थियो । सबै बैङ्कले आवश्यकता अनुसार सुकिला नोट सटही गरी लगेर वितरण गरिरहेका थिए । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपियाँ दरका एक÷एक बन्डल गरी कुल १८ हजार पाँच सय रुपियाँ बराबरको नोट साट्न पाउने व्यवस्था गरिएको थियो ।
नयाँ नोटको चलन
नेपालमा २०१३ सालमा नेपाल राष्ट्र बैङ्क स्थापना हुनुअघिसम्म पनि भारतीय मुद्राको दबदबा थियो । नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैङ्कले २०१५÷१६ सालदेखि दसैँमा नयाँ नोट निष्कासन र वितरण गर्न थालेको हो । दसैँमा अर्थतन्त्र सहरबाट गाउँतिर सर्ने भएकाले नयाँ नोट निष्कासन र वितरणको चलन सुरु गरिएको थियो ।
दसँैंमा आमउपभोगमा पनि वृद्धि हुने भएकाले त्यतिखेर यस्तो सुरुवातले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठुलो योगदान गरेको थियो ।
राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ । दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कम गर्न राष्ट्र बैङ्कले नयाँ नोट छाप्न बन्द गर्दै मौज्दात रहेका सुकिला नोट प्रयोगमा ल्याएको हो । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ । नेपाली नोट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले नोटमा जथाभाबी केरमेट नगर्न अनुरोध गरेको छ । नोट जतन गर्नका लागि अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसाल्न आग्रह गर्दै समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्न पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
नयाँ नोट छपाइ गर्न ठुलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोट जतन गरी देशको सम्पत्ति जोगाउन आग्रह गर्दै राष्ट्र बैङ्कले नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउन आग्रह गरेको छ । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गर्न आग्रह गर्दै राष्ट्र बैङ्कले नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौँ र अरूलाई पनि सिकाउन सुझाएको छ ।
नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्याग्ने तथा पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नोट नछुन पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ । टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्यलाई निरुत्साहित गर्ने नीति राष्ट्र बैङ्कको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन
कोरोनाकालदेखि डिजिटल कारोबारको आवश्यकता र महŒव एकाएक बढेको छ । वस्तु र सेवाको शुल्क तत्कालै तिर्न सकिने यस्तो कारोबार बढ्दो व्रmममा रहेको छ । प्रविधिमा पहुँच बढेसँगै पछिल्लो समय नगदरहित कारोबार बढ्दो व्रmममा छ । नोटको प्रयोगमा बिस्तारै कमी हुँदै पनि गएको छ । डिजिटल कारोबारप्रति आकर्षण बढ्नुको कारण हो– यो सजिलो, सुरक्षित र पारदर्शी छ । त्यसमा पनि कोरोना सङ्व्रmमण महामारी रोकथाम गर्न लगाइएको बन्दाबन्दीपछि त डिजिटल कारोबार ह्वात्तै बढ्न पुग्यो । बन्दाबन्दीको चार महिनामा वालेट (मोबाइल खाता) प्रयोगकर्ता शतप्रतिशतभन्दा धेरै बढ्यो । यहाँसम्म कि चाडपर्वमा दक्षिणासमेत डिजिटल भुक्तानीबाट गर्ने बहस सुरु भयो ।
कागजी नोटको इतिहास
विसं २००२ मा राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा नेपालमा पहिलो कागजी नोट निस्किएको नेपाल राष्ट्र बैङ्कको रेकर्डमा भेटिन्छ । त्यसलाई आधार मान्ने हो भने नेपालमा कागजी नोटको इतिहास ८० वर्ष पुरानो भइसक्यो ।
त्यतिबेला सदर मुलुकी खानाबाट कागजको नोट छाप्ने काम गरिन्थ्यो तर २०१३ सालमा राष्ट्र बैङ्क स्थापना भएपछि २०१६ सालदेखि राष्ट्र बैङ्क आफैँले नोट निष्कासन तथा छपाइ गर्ने काम गरेको छ । इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा डेढ सयभन्दा बढी प्रकारका नोट छापिएको पाइन्छ । नेपालमा १ रुपियाँ, २ रुपियाँ, ५ रुपियाँ, १० रुपियाँ, २० रुपियाँ, २५ रुपियाँ, ५० रुपियाँ, १०० रुपियाँ, २५० रुपियाँ, ५०० रुपियाँ र १००० रुपियाँ दरका नोट छापिएको पाइन्छ । पछिल्लो समयमा १ र २ रुपियाँका नोटहरू छाप्न छाडिएको छ । २५ र २५० रुपियाँ दरका नोटहरूको पनि छपाइ बन्द गरिएको छ ।
राष्ट्र बैङ्कले नोट छाप्न थालेपछि नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हिमालयशमशेर राणा हुनुहुन्छ । राष्ट्र बैङ्कले नोट छाप्नुभन्दा अघि पैसालाई मोरु भन्ने गरिन्थ्यो । राष्ट्र बैङ्कले छाप्न थालेपछि रुपियाँ भन्न थालिएको हो । नेपालमा कागजी नोट प्रचलनमा आउनुअगाडि दसैँको समयमा चाँदीका सिक्का प्रयोग हुन्थ्यो ।