साधन घर्ती
म्याग्दी (दरबाङ), असोज ११ गते । म्याग्दीको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । गएराति परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार बेनी–दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोमा खसेको पहिरो र मङ्गला गाउँपालिका–२ स्थित लाम्पाटा पहिरोमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
पहिरोले सडक अवरुद्ध बनेपछि यात्रु र यातायात व्यवसायीले सास्ती व्यहोर्नु परेको दरबाङका तिलक ढकालले बताउनुभयो । दुई दशकभन्दा पुरानो फापरखेत पहिरोमा हिउँदमा पनि सुख्खा पहिरोका कारण पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । लामो समयदेखि रोकिएको लाम्पाटा पहिरोमा यस वर्षदेखि पुनः पहिरो खस्न थालेको छ । शनिबार पहिरो पन्छाएर अवरुद्ध सडक सुचारु गरिने बताइएको छ ।