फुङलिङ (गोरखापत्र), असोज ११ गते । ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारदेखि उडान सुरु भएको हो ।
वर्षायाम सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको उहाँको भनाइ छ ।
ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र सञ्चालन हुँदै आएको छ । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित रहँदै आएका छन् । दुई महिनापछि शुव्रmबार भएको पहिलो उडानमा काठमाडौँबाट १४ जना यात्रु आएको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट भने नौ जना यात्रु बोकेर काठमाडौँ फर्केको थियो । हाल साताको एक दिन मात्र उडान तालिका रहेको भए पनि अबका दिनमा यात्रुको चाप तथा मौसमको अवस्था हेरेर तालिका थप गर्ने योजनामा रहेको निगमले जनाएको छ ।
लामो समयसम्म उडान नहुँदा जिल्लावासीले लामो दुरीको सडकमार्फत यात्रा गर्न बाध्य भएका थिए । काठमाडौँ–ताप्लेजुङका लागि हाल नौ हजार २४५ रुपियाँ भाडादर कायम रहेको ताप्लेजुङ स्टेसनले जनाएको छ ।