रमेश विश्वकर्मा
गुल्मी, असोज ११ गते । चाडपर्वको रौनक दिनप्रति दिन बढ्दै गइरहेको बेला गरिब र विपन्न परिवारलाई निकै समस्या हुने गरेको देखिन्छ । विशेषगरी ग्रामीण भेगका यी परिवार दसैँ तिहारजस्ता चाडपर्व आउँदा निकै दुःखी समेत देखिन्छन् । गरिब र विपन्न समुदायका परिवारमा खाद्यान्नसँगै नुनतेलको खर्च जुटाउन समेत गाह्रो पर्ने देखिएको छ ।
विपन्न परिवारमा आफ्नो दैनिकी खर्चसँगै यस्ता महत्त्वपूर्ण चाडपर्वको लागि खर्च जुटाउन विभिन्न किसिमका परिश्रम गर्ने गरेका देखिन्छ । यो समयमा कसैले मौसम अनुसारका फलफूल र कसैले घरमा लिपपोत गर्ने रातो माटो खनेर बिक्री गर्ने गरेको देखिएको छ । गुल्मीमा एक महिला जसले दसैँ खर्च र नुनतेलको जोहो गर्न अम्बा (बेलाउती) बेच्ने गर्नुहुन्छ ।
यस जिल्लाको इस्मा गाउँपालिका–५, हुलाके स्थायी घर हुनुभएकी सरस्वती कुमाल घरखर्च चलाउन निकै समस्या पर्ने गरेको सुनाउनुहुन्छ । त्यतिमात्र होइन उहाँलाई चाडपर्व मनाउनका लागि पनि खर्चको जोहो गर्न समयानुसारका विभिन्न काम गर्नुपर्ने बाध्यता रहेको छ । चाडपर्वको रौनकसँगै सरस्वतीलाई अहिले अम्बा (बोउती) बिक्री गर्न पनि व्यस्त देखिनुहुन्छ । यो उहाँको बाध्यता हो । चाडपर्वलाई राम्रोसँग मनाउँन र घरखर्च चलाउनका लागि महत्त्वपूर्ण जिम्मेवारी समेत भएको बताउनुहुन्छ ।
“आफ्नो बारीमा अम्बा छैन । बाहिरबाट खरिद गरी ल्याएर सदरमुकाम तम्घासमा ल्याई बिक्री गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो, “दस रुपियाँमा छ वटा दाना खरिद गरेको र बिक्री दस रुपियाँमा चार वटा दाना गरेको छु ।’’ प्रत्येक दिन बिहान ८ बजे हुलाकेदेखि गाडी चढेर ९ः३० बजे सदरमुकाम तम्घासमा अम्बा बेच्न आउने गरेको सरस्वतीले सुनाउनुभयो । नुनतेलको जोहो र दसैँ खर्च जटाउनका लागि आफूले विगतदेखि नै निकै मेहनत गर्दै आएको बताउनुभयो ।
“दसैँको बेला सबैलाई मिठो खान, राम्रो लगाउन मन लाग्छ,” सरस्वतीले भन्नुभयो, “तर गरिबको चाड भनेको पसिना बेचेर खर्च जुटाउनु हो ।” उहाँको परिवारमा श्रीमान, एक छोरा र एउटा जेठाजु दाई हुनुहुन्छ । दुई छोरीको विवाह भएको छ । परिवारको सामान्य खर्चदेखि लिएर चाडपर्वको खर्च समेत आफ्नै काँधमा रहेको उहाँले बताउनुभयो ।
अम्बा बिक्रीबाट कमाएको पैसाले नुन, तेल, चिनीसहित आवश्यक सामग्री किन्नुका साथै चाडपर्वको खर्च व्यवस्थापनमा पनि सहयोग पुग्नेछ । उपल्लो तम्घासका स्थानीय रस्मिता पाण्डेले अम्बा (बेलाउती) किन्दै काममा सबैले निरन्तरता दिनुपर्ने बताउनुभयो । मेहनत गर्ने सबैलाई हौसला प्रदान गर्न जरुरी रहेको भन्दै उहाँले चाडपर्वको नाममा फजुल खर्च होइन, उहाँको संघर्षबाट सबैले प्रेरणा लिनुपर्ने बताउनभयो ।